माछापुच्छ्रे बैंकले युएईबाट एक अर्बभन्दा बढी रकम भित्र्याउने
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्बभन्दा बढी पैसा नेपाल ल्याउने भएको छ । आइतबार दुबईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउनेसम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरे । १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्बभन्दा बढी पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृतिलगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउने छ । नेपाल राष्ट्र बैंकले कूल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो । माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।
प्रकाशित समय २२:४९ बजे




















