एन आई सी एशिया बैंकले गर्यो बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई सहयोग
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दगोरिया गाउँपालिका, वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)मा आश्रित व्यक्तिहरुको बसाई अझ सहज र स्वस्थ होस् भन्ने हेतुले डाइनिङ टेबल, बेन्चहरुका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ । बालबालिका, महिला, शारीरिक रुपमा विशेष क्षमता भएका तथा पाका उमेर व्यक्तिहरु सहित ९७ जनालाई आश्रय दिइरहेको यस संस्थाका लागि यस बैंकका सर्कल हेड-धनगढीका दिपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई उक्त सामानहरु एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।
सहारा घरमा असहाय, परनिर्भर, बालबालिका तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिदै आएको छ । सहारा घरले गरेको यस पुनित कार्यमा यस बैंकले उपलब्ध गराएको सहयोगले उक्त संस्थामा आश्रित व्यक्तिहरुको बसाई र स्वच्छ खानेपानीको सुविधा अझ सहज हुने बैंकले विश्वास लिएको छ ।
यसअघि बैंकले शान्ति सेवा गृहमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुको साथै यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । साथै, विगतका वर्षहरुमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।
प्रकाशित समय १३:५१ बजे


















