अर्थमन्त्रीसँग इमान : सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरू सम्बोधन गरिने उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले पुँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले उद्यमशीलताको विकास र स्वदेशी उत्पादन वृद्धिमार्फत सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए । त्यस्तै, उनले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै रोजगारी सिर्जनालाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए ।
छलफलमा क्रममा अर्थमन्त्री वाग्लेले तत्कालीन समयमा वीपी कोइरालाले समेत आफ्नो कमजोरीहरुका बारेमा खुलेर लेख्न सञ्चारकर्मीहरुलाई भन्नुपर्ने अवस्था सिर्जना भएको स्मरण गर्दै सञ्चार माध्यमहरुले खुलेर लेख्नुपर्ने बताए । इमानले निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरुले प्रतिस्पर्धामा गएर सूचना तथा सन्देशहरु प्रकाशन गर्न पाउनुपर्ने, सरकारले त्यसका लागि बाटो खुल्ला राख्नुपर्ने मागहरु राखेको थियो । ‘सञ्चार माध्यमहरुमा आउने सूचना तथा सन्देशहरुमा कहीं कतै विकृति-विसंगति छन् भने त्यसको उपचार गर्ने हो, निजी क्षेत्रलाई प्रतिबन्ध लगाउने होइन, मोनोपोली हुनु राम्रो होइन’ इमान प्रतिनिधिहरुले अर्थमन्त्री वाग्लेसँग भने ।
प्रकाशित समय १४:१८ बजे



















