V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

पेट्रोलियम पदार्थको अहिले नै विकल्प देखिंदैन (अन्तर्वार्ता)

विक्रम सम्वत् २०१८ सालमा खोटाङ जिल्लाको तत्कालीन सिम्पानी गाविस–३ बर्रे (हालको खोटेहाङ–८) मा जन्मनुभएका देवीप्रसाद न्यौपाने (बाबुराम)ले अध्ययन र नेपाल आयल निगमको जागिरलाई सँगसँगै अगाडि बढाउनुभयो । २०३८ सालदेखि जागिरमा प्रवेश गर्नुभएका न्यौपाने नेपाल आयल निगम कर्मचारी संघको अध्यक्ष भएकै पनि ३० वर्ष भइसक्यो । समाजसेवा, राजनीति, जागिरे जीवन र अर्गानिक कृषि यी चारवटै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर धेरैका लागि अनुकरणीय व्यक्तित्व बन्न सफल न्यौपानेसँग तिनै  विषयवस्तुमा केन्द्रित रहेर क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानी ।

० नेपाल आयल निगममा तपाईं प्रवेश गर्नुहुँदा यसको अवस्थाचाहिं कस्तो थियो ? पेट्रोलियम पदार्थ कसरी ल्याइन्थ्यो ?

नेपाल आयल निगम (एनओसी)को त्यतिबेलाको अवस्था अहिलेको भन्दा राम्रो थियो । कुनै ‘टेन्सन’ थिएन । इण्डियासँग राम्रो सम्बन्ध थियो । एनओसीको लिडिङ गर्ने नेपाल आयल निगमको कार्यकारी प्रमुख सुवर्णविक्रम थापा, उहाँलाई काम गर्न सहज थियो । किनभने उहाँको आफ्नो मान्छे देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैले काम लिनका लागि उहाँलाई सहज थियो । आइओसीसँगको डिलिङ पनि उहाँको राम्रो थियो । किनकि शुरुका दिनहरुमा मैले राम्रो देखेको छु ।

० एनओसीमा कहिलेदेखि बढी राजनीतिक हस्तक्षेप भयो ? नेतृत्व परिवर्तन गरिरहने, आफ्ना मान्छे ल्याउने, मूल्यमा हस्तक्षेप गर्ने कामले कहिलेदेखि बढावा पाएको हो ?

विशेषगरी (अमृत नकर्मी) २०४७ सालपछाडि चाहिं बढी राजनीतिकरण नेपाल आयल निगममा देखियो । राजनीतिक चलखेल गर्ने, आफ्नो मान्छे नियुक्ति गरेर पठाइदिने र उनीहरुबाट केही स्वार्थहरु लिने कोशिश गरेको पनि देखियो । जब यहाँ बढी राजनीतिक हस्तक्षेप, चलखेल भयो, त्यसकारण हामीले समयमा मूल्य निर्धारण गर्न सकेनौं । जसका कारण हामी घाटामा गयौं । घाटा पनि यस्तो भयो कि नेपाल सरकारसँग, बैंक तथा वित्तीय संस्थाहरुसँग, सञ्चय कोषसँग पैसा लिंदा पनि नपुग्ने–नभ्याउने स्थितिहरु आइसकेको थियो । हाम्रो तत्कालीन कार्यकारी अध्यक्ष डा.उपेन्द्र कोइरालाले त ‘अब सिंहदरबार धितोमा राखेर भए पनि यो पेट्रोलियम सप्लाईको काम चाहिं सुचारु गर्नुपर्ने स्थिति आयो है अब’ भनेर भाषण पनि गर्नुभएको थियो । त्यस्तो स्थिति पनि आइसकेको थियो । त्यो सबै राजनीतिक हस्तक्षेपकै उपज थियो ।

० त्यो भन्दा अगाडिचाहिं अहिलेजस्तो ‘अटो प्राइसिङ’का कुराहरु भएको थियो कि थिएन ?

पहिले अहिलेजस्तो अटो प्राइसिङको कुरा चाहिं थिएन, तर पनि अटो प्राइसिङसरहको कामहरु हुन्थ्यो । त्यतिबेला हामी आइओसीसँग मात्रै निर्भर थिएनौं । तेस्रो मुलुकहरुसँग कच्चा पेट्रोलियम पदार्थहरु खरिद गरेर हामी आइओसीलाई दिन्थ्यौं । त्यसलाई रिफाइन गरेर आइओसीले हामीलाई दिन्थ्यो । वास्तवमा त्यतिबेला राम्रो थियो । बिग्रिएको भनेको सन् २००२ देखि यतामात्रै हो ।

० तपाईं लामो समयदेखि नेपाल आयल निगममा कर्मचारी संघको अध्यक्ष हुनुहुन्छ, निगम सञ्चालक समितिको सदस्यसमेत हुनुहुन्छ, त्यस्तो अवस्थालाई सुधार गर्नका लागि कस्ता–कस्ता प्रयत्नहरु भए ?

म कर्मचारीको अध्यक्ष भएकै ३० वर्ष भयो । २०४७ सालदेखि अहिलेसम्म निरन्तर छु । आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ बाहेकका २०६२/०६३ पछिका सबै बोर्डहरुमा म छु । यो एक खालको अनुभव पनि छ । यी सबै कुराहरु चाहिं छोटो समयमा भनेर पार लगाउन पनि सकिंदैन । खास–खास कुराहरु भन्नुपर्दा डिजेल र मट्टितेलको मूल्य समान गर्ने कुरामा हामीले निकै नै मेहेनत गर्नुप-यो । बोर्डमा झगडा नै गर्नुप-यो । बोर्डमा झगडा गरेपछि मात्रै नेपाली जनतालाई यो चाहिं दिन सकेको हो । डिजेल र मट्टितेलको समान मूल्य भइसकेपछि हाम्रोमा धेरै ठूलो काम भएको हो । उपभोक्ताहरुबाट आएको प्रतिक्रियाअनुसार पनि यो एकदमै राम्रो र ठूलो उपलब्धि हो । यसमा हामीले धेरै मेहेनत गर्नुप-योे । कर्मचारीका कुराहरु पनि त्यत्तिकै छन् । स्वचालित मूल्य प्रणाली अन्तर्राष्ट्रिय बजारमा घट्दा घट्ने र बढ्दा बढ्ने भन्ने कुरा पनि निकै कडा मेहेनतपछि मात्र आएको हो । अहिले ग्याँसमा गर्न सकिराखिएको छैन । हवाई इन्धनमा गर्न सकिराखिएको छैन । अहिले हाम्रो डिजेल, मट्टितेल र पेट्रोलमा मात्र भइराखेको छ । अरुमा हुन सकेको छैन । यी सबैमा स्वचालित मूल्य प्रणाली कायम गर्ने प्रयत्न गरिराखेका छौं हामीले ।

० मूल्य स्थिरीकरण कोषको पैसाचाहिं नेपाल आयल निगमले के गरिराखेको छ ?

त्यो मूल्य स्थिरीकरण कोषको ३ अर्ब ७५ करोड रुपैयाँ रकम त्यही स्थिरीकरण कोषमा छ । काहीं कसैले केही गरेको छैन ।

० नेपाल आयल निगम अहिले पूर्णरुपमा आइओसीसँगमात्र निर्भर छ । पटक–पटकका नाकाबन्दीमा हामीले धेरै दुःख झेल्नुप-यो । भारतबाट ७० प्रतिशत र चीनतिरबाट ३० प्रतिशत पेट्रोलियम पदार्थ ल्याउने भन्ने कुरा २०७२ सालको भूकम्पलगत्तै भारतले नाकाबन्दी लगाएपछि व्यापक चर्चा–परिचर्चा भएको थियो, त्यो प्रक्रिया अगाडि बढ्न किन सकेन ?

म पनि तीन छक्क परिरहेको छु । यो मुलुक कसले चलाएका हुन् ? यसको विषयमा मैले केही भन्नसक्ने अवस्था छैन । म एउटा जागिरे मान्छे, कर्मचारीको हकहितमा बोल्दै पनि आएको, सञ्चालक समितिमा पनि नीतिगत प्रश्नहरुमा समेत दरो ढंगले आफ्ना आवाजहरु घन्काउँदै आएको हो । चीनको केरुङदेखि नुवाकोटको वट्टार पिपलटारसम्म चाहिं पेट्रोलियम पाइपलाइनमार्फत् तेल आयात गर्ने भन्नेबारे हामीले धेरै पहिलादेखि नै सरकारलाई सुझाव दिएको कुरा हो, त्यो । अब यो विशेषगरी नाकाबन्दीपछि ९० दिनको भण्डारण गर्ने कुरा पनि सरकारले स्वीकार ग-यो । हामी गर्छौं भनेर भनेको कुरा चाहिं हो सरकारले । तर नेपाल सरकारले नै बोलेको कुरो कसरी, प्रधानमन्त्रीले बोलेको कुरो, सचिवले बोलेको कुरो, कार्यकारी निर्देशकले बोलेको कुरा । यी सबै निर्णायक तहमा रहेकाहरुले बोलेको कुरा हो । उहाँहरु सबैले बोलेको कुराचाहिं चीनको केरुङबाट नुवाकोटको वट्टार पिपलटार ल्याएर भण्डारण गर्ने कुरा भनेको थियो । अहिले पुष्पलाल मध्यपहाडी लोकमार्गचाहिं निर्माण भइरहेको छ, करिब–करिब सकिन आँटेको छ । अब त्यहाँ सञ्चिती भण्डारणको लागि भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने हुन्छ । तेल त्यताबाट ल्याउनु जरुरी देखिएको छ । यो इण्डियाको विकल्पको रुपमा होइन कि यो हाम्रो आवश्यकताको आधारमा काम गर्नुपर्ने हो । तर अब यहाँ किन चाहिं सक्रिय भइराखेका छैनन्, हामी पनि यही कुराको खोजीमा छौं । हामी पनि अचम्मित भइरहेका छौं ।
यो जरुरी छ । देशहितमा छ । देशको माया गर्ने जो कोहीले पनि इण्डियाबाट पनि मोतिहारी–अमलेखगञ्जबाट पाइपलाइनबाट तेल आउन थाल्यो । माथितिरबाट पनि ल्याउने, दुईवटै छिमेकीहरुबाट ल्याउने, हाम्रो आवश्यकताको आधारमा चाहिं सञ्चिती भण्डारण गर्ने, आपूर्ति गर्ने यो कुरा त देशहितमा छ, यो गर्नुपर्ने हुन्छ । यो कुरा किन ढिला गरिराखेका छन्, बुझ्न सकिएको छैन । यो गर्नुप-यो । सञ्चारमाध्यमहरुले पनि त्यो आवाजलाई बुलन्द बनाउनुप¥यो भन्ने अनुरोध गर्न चाहन्छु ।

० जतिबेला नाकाबन्दी लाग्छ, समस्या पर्छ त्यतिबेलामात्रै सरकार पनि ट्याउँ–ट्याउँ कराउँछ, कर्मचारीहरु पनि तातेजस्तो गर्छन् तर अहिले शान्त वातावरण भएको बेलामा यो काम दु्रतरुपमा अगाडि बढ्नुपर्ने होइन र ?

सहज स्थितिमा चाहिं चूपचाप बस्ने, असहज स्थितिमा चाहिं यताबाट पनि गर्ने, उताबाट पनि गर्ने, यसो पनि गरौं, उसो पनि गरौं भनेर केही गर्न खोजेको जस्तो, कुनै पनि काम नगर्ने भइराखेको छ । हाम्रो भू–बनोट र परिस्थितिले के भनिरहेको छ भने हामीले चीनसँग पनि, भारतसँग पनि मिलेरै हाम्रो आपूर्ति धान्नुपर्ने अवस्था छ । यसमा सक्रिय हुनैपर्छ । दुवैतिरबाट पेट्रोलियम पदार्थ ल्याउनैपर्छ । यो एकदमै जरुरी विषय हो । तपाईंले उठाएको प्रश्न महत्वपूर्ण छ ।

० अहिले हरित ऊर्जाको विषय पनि संसारभर तीव्ररुपमा अगाडि बढिरहेको छ, पेट्रोलियम पदार्थको पूर्णरुपमा विकल्प नभए पनि छोटो दूरीका इलेक्ट्रिकल भेहिकलहरु सञ्चालन गरेर पेट्रोलियम पदार्थको खपतलाई तीव्ररुपमा बढ्नबाट रोक्न सकिन्छ होला नि, तपाईंलाई के लाग्छ ?

यस विषयमा मैले पनि अलिकति गहिरिएर अध्ययन गरें । यो भाषण–भुषणमा, लोकप्रिय हुने नाममा देशले केही गर्दैछ है भन्ने देखाएर मान्छे अल्मल्याउनुपर्ने केही जरुरी छैन । पेट्रोलियम पदार्थको आवश्यकता कम होइन कि बढेर जाने मैले देखेको छु । कसरी भन्नुहोला भने अहिले पनि १५–२० प्रतिशत डिमाण्ड बढेर गएको छ । यसैले देखाइहाल्यो नि, प्रमाण यही भइहाल्यो । हामीचाहिं अनवीकरणीय ऊर्जामा काम गर्छौं । अनि नवीकरणीय ऊर्जाको बारेमा हल्ला गर्छौं । हाम्रो यही दृष्टिकोण नै गलत छ । यहाँ निकै मै हुँ भन्ने मान्छे हाम्रै संस्थाका मान्छेहरु पनि, नेपाल सरकारकै पदाधिकारीहरु पनि यस बारेमा बोलेको सुन्छु । हामीले पेट्रोलियम पदार्थको आवश्यकता देखेरै यत्रो भौतिक संरचना निर्माण ग¥यौं । हाम्रो संस्थाले तेल आयात गरिराखेको छ, भण्डारण गरिराखेको छ, बिक्री वितरण गरिराखेको छ । यसको यो माग अरु ह्वात्तै बढेर जाँदैछ । यो अवस्था देख्दाखेख्दै नवीकरणीय ऊर्जा या वा भन्दै अब पेट्रोलियम पदार्थको खपत कम हुने भयो भन्ने खालका जुन कुराहरु छन्, म त के भन्दैछु भनेदेखि नढाँटीकन भनिदिनुपर्छ । अब हामी भर्खर विकासमा अगाडि बढ्दैछौं । विकासोन्मुख मुलुक हो नेपाल भनेको । अब हामीलाई प्रशस्त मात्रामा विकास निर्माणको लागि डिजेल नभइकन नहुने अवस्था छ । यो इनर्जी पेट्रोल–डिजेलले मात्र धान्न सक्छ । अब चार्ज गरेर आएका व्याट्रीले स्काभेटर, डोजर, रोलरलगायतका हेभी इक्युपमेण्टहरु चल्न सक्छन् भन्ने लाग्दैन । अब अझै करिब ५०–५५ वर्षचाहिं पेट्रोलिपम पदार्थको भण्डारण, बिक्री–वितरण सहज रुपमा होलाजस्तो देख्छु म । नवीकरणीय ऊर्जा सबै हल्लाखल्लाका कुरा, मान्छेलाई गफ गर्ने मेलो हो जस्तो लाग्छ । तर अब धेरै विकसित मुलुकहरुमा, धेरै १–२ सय वर्ष विकास गरिसकेका, विकासको चरमचुलीमा पुगिसकेका देशहरुका लागि, वातावरण प्रदूषण हुनबाट रोक्न के गर्ने, मानव हितका लागि के कस्ता कामहरु गर्ने भन्ने अवस्थामा पुगिसकेका मुलुकहरुका लागि नवीकरणीय ऊर्जासम्बन्धी गृहकार्यहरु छन्, ती गृहकार्यहरु हाम्राले पनि थाहा पाएर बोलेका होलान्, वास्तविकतामा चाहिं पेट्रोलियम पदार्थको तत्काल कुनै विकल्प देखिंदैन । यसमा कन्फ्युजन हुनुपर्ने जरुरी नै छैन ।

० प्रसंग बदलौं, तपाईं एउटा समाजसेवी पनि हुनुहुुन्छ, समाजसेवाको पाटोबाट हेर्दा कुन–कुन संघ–संस्थामा आबद्ध भएर कसरी अगाडि बढिरहनुभएको छ ?

म २०२९ सालदेखि नै समाजसेवामा लागेको थाहा पाएर–नपाएर । म काठमाडौं आइसकेपछि नै खोटाङ सेवा समाजको स्थापनाको लागि लागेको मान्छे । हामीले २०४४ सालमा त्यसलाई खोलेर लिएर गयौं । यहाँ ५२ हजार खोटाङेको, खोटाङ सेवा समाजको अध्यक्ष पनि भएँ । सामाजिक रुपमा सकेका कामहरु पनि गरियो । अहिले पनि २–४ वटा संस्थाको अध्यक्ष नै छु, महासचिव छु, सल्लाहकार छु । विभिन्न संघ–संस्थामा रहेर काम गरिराखिएकै छ । बर्रे एकता समाजको अध्यक्ष पनि छु । १२–१३ वर्ष न्यौपाने बन्धु समाजको राष्ट्रिय महासचिव भएर पनि काम गरें । सकेसम्म समय मिलाएर समाजसेवाको काममा सक्रिय भइराखेकै छु । यो के हो भनेदेखि मानव जन्मिएर आइसकेपछि सामाजिक अनुभूति दिलाउन सक्नुपर्छ । दुःखीपीडितहरुको सेवा गर्नुपर्छ भन्ने जुन अनुभूति भयो, त्यो अनुभूतिले मलाई काम गरिराखेको छ । ठूलो धनसम्पत्ति भएर कहाँ खर्च गरौं भनेर लागेको पनि होइन । मात्रै मानवीय सेवा भन्ने कुरा धनले होइन, धर्म भन्ने कुरा धनले होइन, यो चाहिं मनले गर्ने कुरा हो । मनले सोचिसकेपछि यसलाई जुटाउने, व्यवस्थापन गर्ने काम गरेर अगाडि बढिंदैछ । यहीं निगममै रहँदै गर्दाखेरी पनि सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने हेतुले यहाँको सञ्चालक समितिलाई कन्भिन्स गराएर अहिले पूर्वको प्रख्यात हलेश्वर महादेव मन्दिर परिसरमा गुराँसे भन्ने ठाउँमा ५ करोडमा धर्मशाला बनाउनुपर्छ भनेर १३–१४ महिना खटेर त्यो निर्णय गराइयो । अहिले त्यसको टेण्डर आह्वान भइसकेको छ । अस्ति गएर शिलान्यास गरेर पनि आइएको छ । यी धार्मिक कामहरु, सामाजिक कामहरु हुँदैछन् । यही अवसरमा म तपाईंलाई के भनौं भनेदेखि नेपालको जुन परम्परागत मूल्य र मान्यताहरु छन्, हामी देवी–देवता मान्छौं, आफ्ना कूल–पितृ मान्छौं । यहाँको जुन परम्परागत मूल्य र मान्यता छ, यसलाई सम्मान गर्दै, त्यसको बचाऊ गर्दै यहाँको साँस्कृतिक पक्षहरु यति छ, यति ठूलो धरोहर छ । गुरुङको त्यस्तै छ, लामा, मगर, राई, तामाङको त्यस्तै छ, थारुको त्यस्तै छ, क्षेत्री बाहुनहरुको बालन भए, संगीनी भए, यीलगायत अन्य जात–जातिका धरोहर जुन छन्, सामाजिक परम्परा, मूल्य र मान्यता जुन छन्, यी सबै साँस्कृतिक सम्पदाको संरक्षण गर्दै, बचाऊ गर्दै हामी अगाडि बढ्नुपर्छ । अनि त्यसपछि मात्रै हरेकले रोजेको, खोजेको पार्टी कता हो, त्यतातिर साथ दिंदा पनि हुन्छ । पार्टीलाई साथ दिए पनि हुन्छ, साथीलाई साथ दिए पनि हुन्छ । तर नेपालको परम्परागन मान्यताहरुलाई चाहिं छाड्नु हुँदैन । नेपालमा अध्यात्मवाद र भौतिकवादलाई सँगसँगै लिएर जाँदामात्र सबै सुखी हुने, खुशी हुने, देशमा समृद्धि हुने, देशको कल्याण हुने, तपाईं–हामी सबै सुरक्षित हुने मैले देखेको छु । भावनाचाहिं धर्मसँग जोड्दै, धार्मिक पर्यटनलाई जोड्दै अगाडि बढ्नुपर्छ ।

० अब भिन्न पाटोतिर प्रश्न गर्न चाहन्छु । तपाईं निगमको कर्मचारी हुँदाहुँदै पनि समाजसेवालाई त्यतिकै महत्वका साथ अगाडि बढाउन लाग्नुभयो । लामो समयदेखि अर्गानिक खेतीमा समेत होमिनुभएको छ । के देखेर त्यो क्षेत्रमा लाग्नुभयो, कत्तिको सहज छ काम गर्न कृषि क्षेत्रमा ?

नेपाल प्रकृतिमय, यो कृषिमय देश हो । प्रकृतिले दिएको अनुपम सुन्दर उपहार रहेछ नेपाल भनेको । नेपालको परिवेशमा चाहिं हामी ठूल्ठूला विकासका कुराहरु गर्छौं । हामीले कृषि क्षेत्रको विकास गर्दाखेरी नै हाम्रो उन्नति र विकास हुने मैले देखेको छु । यहाँ धेरै मान्छेहरु आफू उत्पादन नगर्ने, आफ्ना जमिनहरु, खेतहरु बाँझै राख्ने, विदेशतिर जाने एकसरो काम गर्ने र त्यहाँबाट पैसा पठाइदिने, युरिया हालेको बाहिरबाट आएको चामल, विषादी हालेको तरकारी खाएर चाहिं बस्ने यस्तो खालको प्रवृत्ति हाम्रो बढेर गएको छ । जताततै खेतबारीहरु बाँझै छन् । परतिर छ्याङछ्याङ्ती खोला बगेर, झर्ना झरेर गइरहेको छ, वरतिर खेतहरु बाँझै छन् । हामी बिग्रिराखेका छौं । यहाँनेर गलत भयो है । अब यो युरिया मल प्रयोग नगरीकन प्रांगारिक मलद्वारा अर्गानिक खेती गरौं, यसैमा भलो छ । हाम्रोमा उतैबाट विषादी आउँछ, उतैबाट युरिया र विषादी हालेर पठाइदिएका तरकारी, खाद्यवस्तु खान्छौं, फेरि उतैबाट औषधि आउँछ । हाम्रो आफ््नो कृषिको कुराकानी, मौलिकपन भन्ने कुरा केही पनि छैन । त्यसैले हाम्रो मौलिकपन जुन हो, त्यसलाई जोगाइराख्न पनि अर्गानिक खेती गर्नु जरुरी छ । तर कुरा के छ भन्दाखेरी उपभोक्ताले यो अर्गानिक भन्ने कुरा धेरैले बुझेनछन् । उपभोक्ताले सस्तो खोज्छ, अर्गानिकमा केही बढी मेहेनत हुन्छ, तर अरुभन्दा केही महँगो लागत पर्दछ । मान्छेहरु अर्गानिक भन्दा विषादीयुक्त भए पनि सस्तो नै होस् भन्ने चाहना राख्दछन्, त्यस्तै खोज्दछन् । युरिया हालेको चिल्लो ढंगले कलिलो झैं देखिन्छ । राम्रो देखिन्छ तर स्वास्थ्यका लागि त्यो उपयुक्त हुँदैन । तर मानिसहरुको आकर्षण त्यस्तै चिल्लोमै छ । अर्गानिक वस्तुहरु अलिक फुस्रो पनि हुन्छ । मान्छेहरु त्यही चिल्लोमै रमाइरहेका छन् । मानिसले मौलिकपन छोडिराखेका छन् । आजैदेखि आफ्नो खेतबारी छ भने त्यहाँ अर्गानिक खेती गरौं, यदि त्यो छैन भने पनि घर–आँगन, कौशी जहाँ हुन्छ त्यहाँ अर्गानिक खेती गरौं भन्ने आग्रह गर्न चाहन्छु । त्यसैमा पनि आफ्नो जीवन पनि निरोगी भएर दीर्घायु पनि हुन्छ । अर्गानिक खाद्यवस्तु, तरकारीहरु उपभोग गरेपछि त मानिस त्यसै निरोगी हुन्छ, निरोगी भएपछि १०–२० वर्ष त त्यसै पछाडि धकेलिइहाल्छ नि मानिसको आयु । मानिसको आयु दूषित खाद्यवस्तु, विषादीयुक्त खाद्यवस्तु उपभोगकै कारणले असामयिक निधनहरु हुने गरेका छन् । अर्गानिक वस्तु प्रयोग गरियो भने मान्छेको आयु त्यसै बढेर जान्छ । यो अर्गानिक भन्नेकुरा चाहिं हाम्रो मौलिकपन हो । यसलाई जोगाएर राख्नुपर्छ ।

० कृषकहरुलाई सरकारको तर्फबाट कत्तिको सहयोग हुँदोरहेछ ?

सरकारले कृषिमा व्यापकरुपमा काम गर्ने भनेर निकै हल्लाखल्ला गरेको देखिन्छ । विदेशबाट ऋण वा अनुदान लिनका लागि पनि त्यस्तो गरेको देखिन्छ । यहाँ पनि धेरै संघ–संस्थाहरुले, सरकारी निकायहरुले कृषकका लागि भनेर काम गरेको देखिन्छ । तर त्यो वास्तविक कृषकसम्म पुगेकै छैन । जसको पहुँच छ, जो कागजी खेती गर्न सिपालु छ, उसले नै त्यसबाट फाइदा लिइरहेको छ । त्यो सहयोग वा अनुदानचाहिं वास्तविक कृषक, उत्पादक छ, त्यसैलाई गएर मन्त्री वा सचिवले सिधै दियो भने त्यसले काम गर्ला । नत्र भने दुनियाँ पेपर मिलाएर यसो गरेर आऊ, उसो गरेर आऊ, यो वा त्यो गरेर दुनियाँ कागजी घोडा बनाएर कृषि उत्पादन बढ्दैन । यसमा कार्यशैली व्यापक परिवर्तन गरेर अनुगमनलाई दरो नबनाइकन हुँदैन ।

० अब आयल निगमबाट सेवा निवृत्त हुने समय पनि धेरै टाढा छैन, निवृत्त भएपछि अर्गानिक कृषि क्षेत्रमै जोडबल गर्ने योजना हो तपाईंको ?

मैले अहिलेसम्म गर्दै आएको कुरा भनेको सामाजिक–राजनीतिक कुरा नै हो । अहिलेका राजनीति गर्नेहरुले समाजसेवा र राजनीतिलाई छुट्टाछुट्टै डालोमा हाले । वास्तवमा राजनीति र समाजसेवा भनेको एउटै नै हो । अब अहिले त कस्तो भनेदेखि समाजसेवा र राजनीतिलाई अलग–अलग राख्ने अनि व्यापार र राजनीतिलाई जोडेर लाने काम भइराखेका छन् । यस्तो हुनुहुँदैन । मेरो फिल्डचाहिं राजनीति नै हो । राजनीति भनेको स्वाभीमानको हुनुपर्छ । तर त्यहाँ फलानाको मान्छे भनेर राजनीति गरेर अर्थ छैन । स्वतस्फूर्तरुपमा फलानो पाटोको मान्छे हो भनेर भनेदेखि विषयवस्तु राजनीतिकै हो । तर कुनै गुटको, कुनै व्यक्तिको मान्छे भएर चाहिं राजनीति गरिंदैन । हिजो पनि राजनीतिमा दुःख गरिएकै छ, स्वाभीमानीको बाटोमा राजनीति गएन भने स्वाभीमानीपूर्वक गर्ने भनेको बाबु–बाजेदेखि थालेको–गरेको यही खेती–कृषि नै हो । यसैमा समर्पित भइन्छ होला । भोलिको परिस्थिति कसरी अगाडि बढ्छ हेर्दै जाऔं ।

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010