कृषि उत्पादन बढाउन रघुगंगा–३ का कृषकलाई हाते ट्रयाक्टर वितरण
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ का कृषकलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्रयाक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवर्द्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुभयो । वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको उहाँले बताउनुभयो ।
‘४० हजार मूल्यका हाते ट्रयाक्टरमा कृषक र गाउँपालिकाले २०-२० हजारको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिकरुपमा तरकारी खेती गर्ने कृषकलाई प्लाष्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौं’, वडाध्यक्ष शाहीले भन्नुभयो । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्रयाक्टर वितरण गर्नुभयो ।
यसवर्ष कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत आठ लाख ५० हजारमा ३८ कृषकलाई हाते ट्रयाक्टर र २५ कृषकलाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्र्याक्टर दिएपछि राहत मिलेको रघुगङ्गा गाउँपालिका-३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताउनुभयो ।
‘गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्रयाक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्रयाक्टरबाट सहज हुन्छ’, उहाँले भन्नुभयो । म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागतरुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्रयाक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।
हाते ट्रयाक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका कृषक प्रकाश शर्माले बताउनुभयो । सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्रयाक्टरको प्रयोग बढ्दै गएको छ ।
प्रकाशित समय १७:१० बजे




















