देशभित्रै रोजगारी सिर्जना गर्न सिपमूलक तालिममा सांसद वाग्लेको जोड
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ । दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिमको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेश पलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्षातमा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताउनुभयो । राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मीले सांसद वाग्लेलाई जानकारी गराएका थिए ।
सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रूत गतिमा अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीका ठेकेदारलाई वर्षातको समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौं ।’ विगतमा भन्दा आर्थिक वर्ष २०८१-८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको उहाँको दाबी छ ।अहिलेको मुख्य एजेण्डा विपद् व्यवस्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगलागी र हावाहुरीले पुर्याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दमौली अस्पताललाई दुई वटा डायलासिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले संघीय संसद्बाट गर्नुपर्ने पहल सकारात्मकरुपमा गर्ने उल्लेख गर्नुभयो । पत्रकारिताको विकासमा योगदान दिन निडर, निष्पक्ष भएर कलम चलाउने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न तीन करोडको अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.वाग्लेले आगलागी र हावाहुरी पिडीतसँग भेट गर्नुभएको छ । सो अवसरमा उहाँले आगलागी र हावाहुरीबाट भएको क्षतिका बारेमा जानकारी लिनुभएको थियो । डा. वाग्लेले व्यास नगरपालिका-३ फलफूल लाइनमा यही जेठ ७ गते राति आगलागी भएको स्थलको अनुमगन गर्नुभयो । उहाँले पीडितलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन राज्यपक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय, प्रदेश र संघीय सरकारले आ-आफ्नो क्षेत्रबाट आगलागी पीडितलाई राहतको महसुस गराउन सक्नुपर्छ ।’
उक्त दिन भएको आगलागीबाट २३ सटर र २१ वटा पसलमा क्षति भएको थियो । आगलागीपछि २१ जनाको रोजगारी गुमेको इमेज मोबाइल सेन्टरका प्रोपाइटर केयरसिंह आले बादलले जानकारी दिनुभयो । उहाँले उक्त सटरहरु तत्काल सञ्चालन हुनुपर्ने माग राख्नुभयो । जिल्ला समन्वय समितिको भाडामा लगाउँदै आएको सटरमा आगलागी भएको थियो । डा.वाग्लेलाई जेठ १७ गते अपराह्न आएको हावाहुरी र पानीले तीन सय ३० घर, गोठ र विद्यालयमा पुर्याएको क्षतिको बारेमा जानकारी गराइएको थियो । सो हावाहुरीबाट तनहुँको व्यास, भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र रहेका घर, गोठ र विद्यालयमा क्षति भएको थियो ।
प्रकाशित समय १६:५० बजे




















