1100×100 Nabil Advert

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ । समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ-मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् । मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन् ।

 

गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लालाई राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग भनिन्छ । हप्तौँहप्ता लाग्ने यही पदमार्ग अहिले सडक सञ्जालका कारण छोट्टिदै जान थालेको छ । सडक कनेक्टिभिटीले राउन्ड अन्नपूर्ण सर्किटका धेरै ठाउँको पदयात्रा खुम्चिँदै गरे पनि (मनाङ-मुस्ताङ) थोरङलापास पदमार्ग जीवन्त छ । थोरङपास पदमार्ग साहसिक पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

 

बर्सेनि ६ महिना निकै चहलपहल हुने थोरङलापास पदमार्ग ६ महिना अवधि भने सुनसान हुन्छ । वर्षको याम चल्ने थोरङलापास पदमार्गमा फ्रेब्रअरीदेखि अप्रिलसम्म र सेप्टेम्बरदेखि अक्टुबरसम्म विदेशी पर्यटकको पदयात्रा चलायमान हुने गर्छ । साहसिक पदयात्राका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको थोरङलपास पदमार्ग रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्राका रूपमा लिने गरिएको छ ।

 

बर्सेनि हिउँदयामको पूर्वसन्ध्या तीन महिना र बर्खायामको पूर्वसन्ध्या तीन महिनामात्रै थोरङलापासमा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् । यही पदयात्राको सिजनलाई पछ्याउँदै मनाङ–मुस्ताङ थोरङ फेदीमा पछिल्लो समय आठवटा पर्यटक लक्षित होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । सिजनका बेला होटल चलाउने र अफसिजनको बेला होटल बन्द गरी त्यहाँका पर्यटन व्यवसायी आफ्नो गन्तव्यतर्फ लाग्छन् ।

 

टङ्की मनाङबाट थोरङ फेदीमा तीन वर्षदेखि होटल चलाउँदै आउनुभएकी नामगाम गुरुङले थोरङफेदीको अल्पकालीन व्यापार सन्तोषजनक रूपमा चलेको बताउनुभयो । बर्खायाममा गाउँ फर्किने र हिउँदयाममा काठमाडौँ झर्ने गर्नुभएकी व्यवसायी गुरुङले सिजनको समय थोरङफेदीमा बसेर व्यापार गर्ने गरेको बताउनुभयो ।

 

थोरङ फेदीमा होेटल चलाएर बसेका डोल्पाका अर्का पर्यटन व्यवसायी छेवाङ गुरुङले थोरङलापास पदयात्राको सिजनमा व्यापार गरी बस्ने र अन्य समयमा गाउँमै गएर खेतीपातीको काम गर्ने गरेको बताउनुभयो । समुद्री सतहको चार हजार २०० मिटरको उचाइमा अवस्थित थोरङफेदीको प्रतिकूल मौसमलाई सहँदै व्यापार व्यवसाय चलाएर बसेको गुरुङको भनाइ छ । ‘घर अर्काको हो, हामीले यहाँ भाडा तिरेर होटल चलाएका हौँ, सिजन चलेका बेला कहिले राम्रै व्यापार हुन्छ, कहिले हुँदै हुँदैन’, भन्नुभयो ।

 

केही वर्षअघि मनाङ-मुस्ताङ पदमार्ग थोरङलापासको थोरङ फेदीसम्म सडकको पहुँच पुगेको थिएन । पछिल्लो समय वारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुर हुँदै थोरङ फेदीसम्म कच्ची सडक विस्तार भइसकेको छ । सडकको पहुँच पुगेकाले खाद्यान्न तथा होटल रेष्टुरेन्टलाई चाहिने मालसामान ढुवानी गर्न सहज भएको छ । दुई ठूला विशाल अग्ला पहाडको खोंचमा अवस्थित थोरङ फेदीमा पर्यटक पर्खिएर बसेका व्यवसायी अफसिजन हुँदा होटल बन्द गरी त्यहाँबाट अन्यत्र जाने चलन छ ।

 

थोरङपासमा एउटा कफीसप सञ्चालनमा छ भने त्यहाँबाट चार घण्टा पैदल हिँडेपछि थोरङफेदीमा आठ दशवटा होटल छन् । थोरङफेदीमा सबै होटल बन्द हुने भए पनि एउटा होटल भने बाह्रै महिना सञ्चालनमा रहन्छ । मनाङ-मुस्ताङ थोरङपास गर्दै मुस्ताङ प्रवेश गर्नुभएका सोलुखुम्बकी १९ वर्षीया पर्यटक पथप्रर्दशक बिबिसा रावतले १० दिनको पदयात्रा गर्दै थोरङफेदी आइपुगेको बताउनुभयो । थोरङपास पदमार्ग जोखिम र साहसिक पदयात्रा भएको उहाँले बताउनुभयो ।

प्रकाशित समय ०८:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु