बजेट अभावका कारण विकास निर्माणका काम सुस्त भए (अन्तर्वार्ता)
नेपालमा विकास निर्माणका कामहरु राम्रोसँग हुन सकिरहेका छैनन् । विकास बजेटको अभावले निर्माण व्यवसायीहरुले भुक्तानी प्राप्त गर्न नसकेपछि विकास निर्माणका काम हुन नसकेका हुन् । जसका कारणले आर्थिक मन्दी व्यापक हुन थालेको देखिन्छ । रोहिणी गाउँपालिकाका विभिन्न विकास निर्माणका कामसमेत सुस्त भएको बताउनुहुन्छ अध्यक्ष विद्याप्रसाद यादव । जनतासमक्ष निर्वाचनताका आफूहरुले गरेका कतिपय वाचाहरु पूरा हुने चरणमा भए पनि विकास निर्माण काम भने सोचेअनुरुप हुन सकेका छैनन् । उनले भनेका छन्- ‘स्थानीय सरकार भनेको जनतासँग नजिक भएको सरकार हो । यो जनतासँग प्रत्यक्षरुपमा जोडिएको सरकार नै स्थानीय सरकार हो । यदि स्थानीय सरकारलाई प्रयाप्त मात्रामा बजेट दिन सकियो भने विकास निर्माण लगायतका कामहरू समयमा सम्पन्न गर्नका लागि सहज हुने थियो । हाम्रै रोहिणी गाउँपालिकाको कुरा गर्दा बजेट अभावले हामीलाई काम गर्नका लागि निकै समस्या भइरहेको छ । सामान्य बाटो बनाउनका लागि पनि बजेट अपुग हुने गरेको छ ।’ स्थानीय तहमा भइरहेका विविध गतिविधिका विषयमा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :
० नगर प्रमुखमा निर्वाचित भएपश्चात कसरी काम अगाडि बढाइरहनुभएको छ ?
रोहिणी गाउँपालिकामा म निर्वाचित भएर आउनुभन्दा पहिले आफ्नै प्रशासनिक भवन थिएन । अहिले गाउँपालिकाको भवन बन्ने काम शुरु भएको छ । चुनावको समयमा १५ शैय्याको अस्पतालको पनि वाचा गरेको थिएँ । त्यसको लागि पनि अहिले टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढिसकेको छ । गाउँपालिकामा रहेका विभिन्न विद्यालयहरूका भवन पनि बनेको अवस्था छ । यो अवधिमा हामीले सितला माध्यमिक विद्यालय, रामनरेश माध्यमिक विद्यालयका भवनहरू बनाएका छौं । जुन हामीले निर्वाचनको समयमा प्रतिबद्धता गरेको काम नै हो ।
० बजेट अभावका कारण पूर्वाधार निर्माणका काममा के कस्तो प्रभाव परेको छ ?
हाम्रोमा पहिलो वर्ष बजेट पनि करिब १५-१६ करोड रुपैयाँ आएको छ । यो बजेटले हामीले धेरै काम गर्न सक्दैनौं । सामान्य बाटो निर्माणका लागि पनि हामीलाई समस्या हुने गरेको छ । पालिकाभित्रको ४-५ किलोमिटरको बाटोसमेत हामीले निर्माण गर्न सकिरहेका छैनौं । बजेटको सीमितताका कारणले गर्दा यहाँ काम गर्नका लागि निकै गाह्रो भएको अवस्था छ ।
० कृषिका लागि सिचाईको अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसको व्यवस्था छ कि छैन ?
हाम्रो रोहिणी गाउँपालिकाभित्र कृषिको कुरा गर्दा तोरी, दालहरूको उत्पादन हुन्छ । हामीले कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको अवस्था छ । अनुदानको व्यवस्था पनि हामीले गरेका छौं । सिचाइका लागि पनि गाउँपालिकाले काम गरिरहेको छ । साना किसानहरूलाई पनि हामीले साना ट्यांकीहरूमार्फत सिचाई गर्ने व्यवस्था गरेका छौं । परम्परागतरुपमा कृषि गरिरहेका किसानलाई पनि हामीले आधुनिक प्रविधि प्रयोग गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको अवस्था छ ।
० पालिकामा विद्युतको समस्या कस्तो छ ?
हाम्रो गाउँपालिकामा विद्युतको खासै समस्या छैन । पालिकाभित्रका सबै स्थानीयहरूले विद्युतको उपभोग गर्न पाएका छन् । विभिन्न ठाउँमा प्लान्टहरू पनि बनाइरहेका छौं । कृषिका लागि आवश्यक पर्ने स्थानमा पनि विद्युतको विस्तार भइरहेको छ ।
० पर्यटकीय क्षेत्रको संरक्षण, सम्बर्धन र प्रवर्धन कसरी भइरहेको छ ?
हाम्रो गाउँपालिकाको वडा नम्बर ४ मा शिव मन्दिर रहेको छ । त्यसको प्रचार प्रसार गर्न सकियो भने त्यसबाट पर्यटक आउनेसक्ने सम्भावना रहेको छ । त्यसका लागि अहिले डिपीआर तयार भइसकेको अवस्था छ । काम पनि भइरहेको छ । त्यस्तै वडा नम्बर ३ मा रहेको कोटाइ माई मन्दिर पनि ऐतिहासिक मन्दिर हो । त्यसको प्रचार-प्रसारका लागि पनि हामीले काम गरिरहेका छौं । त्यस्तै वडा नम्बर १ मा राम जानकी मन्दिर रहेको छ । विभिन्न ऐतिहासिक मन्दिरहरू पनि रहेका छन् । त्यस्तै हाम्रोमा रोहिणी खोला पनि रहेको छ । त्यसको प्रचार-प्रसारका लागि पनि हामीले काम अघि बढाइरहेका छौं । समग्रमा भन्दा गाउँपालिकामा भएका ऐतिहासिक र धार्मिक महत्वका स्थानको प्रचार-प्रसार र त्यसको संरक्षणका लागि हामीले काम गरिरहेका छौं ।
० आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको छलफलको शुरुवात भइसकेको छ । स्थानीय तहका लागि प्राप्त हुने बजेटको विषयमा यहाँको भनाइ के छ ?
स्थानीय सरकार भनेको जनतासँग नजिक भएको सरकार हो । यो जनतासँग प्रत्यक्षरुपमा जोडिएको सरकार नै स्थानीय सरकार हो । यदि स्थानीय सरकारलाई प्रयाप्त मात्रामा बजेट दिन सकियो भने विकास निर्माण लगायतका कामहरू समयमा सम्पन्न गर्नका लागि सहज हुने थियो । हाम्रै रोहिणी गाउँपालिकाको कुरा गर्दा बजेट अभावले हामीलाई काम गर्नका लागि निकै समस्या भइरहेको छ । सामान्य बाटो बनाउनका लागि पनि बजेट अपुग हुने गरेको छ । यदि संघीय सरकारले धेरै बजेटको व्यवस्था गरिदियो भने ती कामहरू गर्न सकिन्छ । स्थानीय सरकारको आयको स्रोत छैन । संघीय सरकारले बजेट दिएपछि मात्रै काम गर्न सकिने अवस्था छ । हाम्रो पालिकाको भगवानपुरदेखि बोर्डरसम्म, वडा नम्बर १ देखि बेनी पुलसम्म पनि बाटोको समस्या रहेको छ । यो बाटोको काम हुन नसक्नुको कारण बजेट अभाव नै हो । यदि संघीय सरकारले हामीलाई प्रयाप्त मात्रामा बजेट दियो भने विकास निर्माणका कामहरू समयमा सम्पन्न गर्न सजिलो हुने थियो । वडा नम्बर ३ मा पनि ३-४ वटा बाटाहरूको अवस्था त्यस्तै रहेको छ । पालिकाको बजेट धेरै छैन । जसले गर्दा हामीले काम गर्न सकिने अवस्था नै छैन ।
० अन्त्यमा क्रसचेकमार्फत तपाई के भन्न चाहनुहुन्छ ?
मैले आफूले वाचा गरेका कामहरू गर्दै गएको अवस्था छ । एकैपटक सबै समस्या समाधान हुने अवस्था नभएकाले विस्तारै काम गरिरहेका छौं । तसर्थ सबै जनताको साथको अपेक्षा गर्दछु । संघीय सरकारले पनि हामीलाई प्राथमिकता दिएर सहयोग गरेको खण्डमा हामीलाई अझ धेरै सहज हुने थियो ।
प्रकाशित समय १२:२६ बजे




















