नेपाल टेलिकमको आम्दानी घट्यो



काठमाडौं । नेपाल टेलिकमको आम्दानी घटेको छ । कम्पनीले गत आ.व.को तेस्रो त्रैमासिकसम्मको कूल सेवा वापतको आय २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १ सय ७९ रुपैयाँ रहेकोमा चालू आ.व.को सोही अवधिसम्मको कूल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २ सय ७२ रुपैयाँ भएको जनाएको छ । गत आ.व.को तेस्रो त्रैमासिकसम्मको कूल आयको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको सेवा वापतको आयमा कमी आउनुका थुप्रै कारणहरु रहेको कम्पनीले जनाएको छ । वि. सं. २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिशनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको कारणले पनि आम्दानीमा कमी आएको बताएको छ । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्रीअघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको हो । चालु आ.व. को तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५ करोड ३३ लाख ४४ हजार २ सय ७३ रुपैयाँ रहेको कम्पनीको भनाई छ । गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने हुन्छ ।
यसरी चालु आ.व. को तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आ.व. को सोही अवधिको तुलनामा करिब १८ करोडले बढी हुने कम्पनीले जनाएको छ ।
त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको कम्पनीको भनाई छ । लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कूल ५३ करोड ४ लाख बराबरको हुने, सोही अवधिमा शून्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३ लाख बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको, मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको जुन ८ करोड २ लाख बराबरको हुने कम्पनीको भनाई छ । यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६ करोड ९ लाख बराबरको नकारात्मक असर परेको कम्पनीले जनाएको छ । यस बाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको समेत उल्लेख छ ।
यी यावत प्र्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसंगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित समय २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु