आर्थिक समस्या भयो भने नेपाल पत्रकार महासंघमा सम्पर्क राख्न अनुरोध गर्दछु
आगामी कार्यकालका लागि मेरो उम्मेदवार हुने चाहना पनि छैन

संसारभर कोरोना भाइरस (कोभिड–१९)को आतंक व्यापकरुपमा फैलिरहेको छ । नेपालमा पनि त्यसको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले मुलुकलाई ‘लकडाउन’ घोषणा गरेको छ । लकडाउनका कारणले गर्दा अधिकांश प्रिन्ट मिडिया बन्द अवस्थामा छन् भने अन्य सञ्चारका माध्यमहरुसमेत धेरै प्रभावित भएका छन् । केही सञ्चार माध्यममा काम गर्ने कतिपय सञ्चारकर्मीहरु मैदानको अग्रमोर्चामा रहेर समाचार सम्पे्रषण गर्दा सुरक्षाको खतरा महसुस गरिरहेका छन् । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ आजैमात्र ६५ वर्षमा प्रवेश गरेको छ । ६५ औं वार्षिकोत्सवको अवसरमा यी विविध कुराहरुलाई नेपाल पत्रकार महासंघले कसरी लिएको छ भन्ने विषयमा केन्द्रित रहेर केन्द्रीय अध्यक्ष गोविन्द आचार्यसँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानी ।
० विश्वमा कोरोना भाइरस (कोभिड–१९) को कारणले सबै प्रताडित भइरहेको बेला नेपालका पत्रकारहरु त्यसबाट अछुतो रहने कुरै भएन, सञ्चार माध्यमहरु बन्द हुँदा कतिपय सञ्चारकर्मीहरुको दैनिकी गुजारामै समस्या आउने स्थिति बन्दैछ, त्यसको लागि पत्रकार महासंघले के गरिरहेको छ ?
कोरोना भाइरसको असर नेपालमा पनि देखिएको छ । नेपालमा हामीले उच्च सावधानी नअपनाउने हो भने भयावह रुप लिन सक्ने अडकल हामीले काटेका छौं । सञ्चार क्षेत्रबाट पनि यसको रोकथामका लागि, यसलाई फैलन नदिनका लागि पत्रकारहरु आफू सुरक्षित हुने र जनतालाई पनि सुरक्षित हुनका लागि सुसूचित गर्ने ढंगले अगाडि बढ्नुपर्छ भनेर हामीले आग्रह गरेका छौं । यदि पत्रकारहरुको रोजीरोटी खोसिएको अथवा खान नपाएको अवस्था हो अथवा संक्रमण भएको अथवा बिरामी भएको केही हो भने पत्रकार महासंघका देशभरीकै शाखामा आइसोलेशन अथवा क्वारेन्टाइनमा बस्ने भए आफ्नै भवनमा राख्ने व्यवस्था गर्न सकिन्छ । यो अवस्थामा पत्रकारहरु रोजीरोटीबाट निकालिए भने उनीहरुको संरक्षण गर्ने नीति हामीले लिएका छौं । तर अहिलेसम्म संक्रमण भएका अथवा रोजीरोटी गुमेको भनेर हाम्रो सम्पर्कमा कोही पनि आउनुभएको छैन । चाहे प्रिन्ट मिडिया होस् वा अन्य कुनैले पनि यस्तो अवस्थामा मिडिया बन्द भयो, निस्किएर जा भनेर भन्न पाउँदैनन् । देशका हरेक समस्यामा सञ्चार माध्यमले साथ दिएका छन् । सञ्चार माध्यमले जे जति इज्जत कमाएको छ, जे जति उन्नति भएको छ, जे जस्तो छवि सञ्चार माध्यमहरुको बनेको छ, त्यो सबै सञ्चारकर्मीहरुकै कारणले बनेको छ । त्यसकारण यस्तो अवस्थामा अब तिमीहरु जाओ भनेर पन्छिने अवस्था हुँदैन सञ्चार माध्यमका सञ्चालकहरुले । यदि उहाँहरुले म्यानेज गर्न सक्नुभएन भने जुनसुकै संस्थामा काम गर्ने सञ्चारकर्मी भए पनि कुनै आर्थिक समस्या भयो, बाँच्नकै समस्या भयो भने नेपाल पत्रकार महासंघमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछु ।
० कोरोना भाइरसको फैलावट तीव्र गतिमा अगाडि बढिरहेको अवस्थामा कतिपय सञ्चारकर्मीहरु मैदानमा अग्रभागमा गएर समाचार संकलनमा जुटिरहनुभएको छ, उहाँहरुको सुरक्षाका लागि ‘पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)को आवश्यकता पर्दछ, पत्रकार महासंघले कतैबाट त्यसको व्यवस्थापन गरेको छ कि सञ्चारकर्मीका लागि ?
त्यो त छैन । पत्रकार महासंघले अहिलेसम्म त्यो गर्न सम्भव पनि छैन । तपाईंले भनेजस्तो पत्रकारहरुले हरेक क्षेत्रमा अग्रमोर्चामा रहेर दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । रोगको महामारीका समयमा स्वास्थ्यकर्मी सबैभन्दा अग्रभागमा हुनुहुन्छ भने त्यसबाहेक सुरक्षाकर्मी, सञ्चारकर्मीको पनि दायित्व त्यत्तिकै हुन्छ । उहाँहरुको सुरक्षालाई पनि उच्च प्राथमिकता दिनुपर्छ । हामीले व्यक्तिगतरुपमा पत्रकारका लागि मात्रै सोच्नेभन्दा पनि अग्रमोर्चामा रहनेहरु सबैको लागि राज्यको तहबाट व्यवस्था हुनुपर्छ । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत अग्रमोर्चामा रहेर खट्नुभएका सबैको जीवनको सुरक्षाको ग्यारेन्टी राज्यको तहबाटै हुन्छ, हुनुपर्छ ।
० नेपाल पत्रकार महासंघको अधिवेशन पनि आउँदैछ, आगामी कार्यकालका लागि तपाईंले पुनः नेतृत्वमा दोहोरिने विचार गर्नुभएको छ कि ?
पत्रकार महासंघले ६४ वर्षको उमेर पूरा गरेर ६५ वर्षमा प्रवेश गरेको छ । पत्रकार महासंघको ६५ वर्षको इतिहास भनेको धेरै उतार–चढाव, उकाली–ओराली व्यहोरेर यो अवस्थामा आइपुगेको छ । यो क्रममा पत्रकार महासंघ नेपालको सबभन्दा पुरानो नागरिक संस्था, सबभन्दा समावेशी संस्था, साधारण सदस्यले समेत भोट हालेर नेतृत्व चयन गर्न पाउने संस्था, सबभन्दा पहिले निर्वाचनमार्फत् संघीय ढाँचामा जाने संस्थाको छवि बनाइसकेको छ । र, यस्तो संस्थामा मुख्य नेतृत्व खासै दोहोरिएको इतिहास छैन । सभापति वा अध्यक्ष हुने व्यक्तिचाहिं खासै दोहोरिएको इतिहास छैन । त्यसो भएर एक कार्यकाल पत्रकार महासंघको नेतृत्व गर्ने मौका दिनुभयो, त्यसका लागि पत्रकार साथीहरुलाई हार्दिक आभार व्यक्त गर्दछु । आगामी कार्यकालका लागि मेरो उम्मेदवार हुने चाहना पनि छैन । आगामी दिनमा जतिसक्दो छिटो नयाँ नेतृत्व निर्वाचित गरेर, नयाँ नेतृत्व ल्याएर उहाँलाई पदभार हस्तान्तरण गर्न एकदमै आतुर छु ।
० सञ्चार माध्यमहरुलाई समानुपातिक विज्ञापन वितरण प्रणालीको कार्यान्वयनको सवाल, पत्रकारको दूर्घटना तथा स्वास्थ्य बीमाको विषय, ज्येष्ठ तथा अशक्त पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि सरकारसँग कत्तिको पहल गर्नुभएको छ ?
पत्रकार महासंघको मूल नेतृत्वमा आउँदै गर्दा मैले पनि यी नाराहरुलाई प्रमुखताका साथ उठाएको थिएँ । समानुपातिक विज्ञापनको नीतिलाई कार्यान्वयन गराउने, वरिष्ठ पत्रकारहरुलाई जीवन निर्वाह भत्ता दिने, द्वन्द्वपीडित, अशक्त, अपाङ्ग पत्रकारहरुलाई राहत दिने र स्वरोजगारमूलक मिडियाहरुको हितको पक्षमा काम गर्छु भनेर प्रतिबद्धता जनाएको थिएँ । निर्वाचित भएर आएको करिब २÷३ महिनापछि हामीले सरकारलाई ज्ञापनपत्र बुझायौं । सुनुवाई नभएपछि सर्वोच्च अदालतमा समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि निर्देशनात्मक आदेश दिइयोस् भनेर रिट हाल्यौं । सर्वोच्च अदालतले तत्काल कानून बनाएर राज्यले दिने विज्ञापन सबै मिडियालाई समानुपातिक ढंगले देऊ भनेर सरकारलाई आदेश दियो । त्यो आदेशपछि सरकारले कानून पनि बनायो । त्यो विज्ञापनका लागि आवश्यक कानून संसद्बाट पास भइसकेको छ । त्यो विधेयकमा राज्यका सबै विज्ञापन समानुपातिक रुपमा बाँड्ने व्यवस्था छ । त्यसका लागि विज्ञापन बोर्ड गठन हुन्छ र सबै विज्ञापन त्यो बोर्डमा आउने, त्यो बोर्डबाट सबै मिडियालाई बाँड्ने भनेर कानून बनेको छ । कानून त बन्यो तर कार्यान्वयन छिटो होस् भन्नेमा प्रयास गरिरहेका छौं । त्यसैगरी वरिष्ठ पत्रकारका लागि नेपाल पत्रकार महासंघकै मागबमोजिम नेपाल पत्रकार महासंघ, सञ्चार मन्त्रालय, सूचना विभाग मिलेर ५ करोड ३४ लाखको एउटा पत्रकार सम्मान वृत्ति कोष खडा भएको छ । त्यो कोषको रकमबाट हरेक वर्ष आउने व्याजबाट वरिष्ठ पत्रकारहरु, द्वन्द्वपीडित सञ्चारकर्मीहरुलाई मासिक वृत्ति दिने भनेर निर्देशिका पनि तयार हुँदैछ । आगामी साउनदेखि दिने भन्ने हो । हेरौं संक्रमणको प्रभाव धेरै भएन भने समयमै लागू होला । यसबाहेक साना मिडिया र स्वरोजगार मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइयोस् भनेर हामीले आवाज उठाएका छौं । यसको विषयमा पनि प्रक्रिया अगाडि बढेको छ । मलाई के आशा छ भनेदेखि मैले नेतृत्व छोड्नेबेलासम्म हामीले जे मागहरु उठाएका थियौं, ती सबै मागहरु व्यवहारमा कार्यान्वयन हुन्छन् भन्ने आशा छ ।
अन्त्यमा यहाँलाई धेरै–धेरै धन्यवाद दिन्छु । अहिले जुन कोरोनाको संक्रमण आएको छ, यससँग मिलेर एकताबद्धताका साथ सामना गरौं । हामीले उत्तेजित, भ्रामक खालका सामाग्रीहरु प्रस्तुत नगरौं । हामीले सत्यतथ्य र सही सूचनाहरु मात्रै प्रवाह गरौं । सबै जनताको मनोबल उठ्ने खालका सामाग्रीहरु सम्प्रेषण गरौं । अग्रिम मोर्चामा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अन्य व्यक्तित्वहरुको मनोबल उठाउने, उहाँहरुको साहसको कदर हुने खालका सामाग्रीहरु सम्प्रेषण गरौं । सञ्चार माध्यमबाट आफ्नो धर्म निर्वाह गरौं भन्ने आग्रह गर्न चाहन्छु ।
प्रकाशित समय १६:१२ बजे