V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

महाशाखा प्रमुख ढकालले गरे फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल आफैं फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
‘कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खटिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैं सेनिटाइजर उत्पादन गरेको हो’ महाशाखा प्रमुख ढकालले भने– ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छौँ ।’
महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । यस्तो विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको जनाएको छ ।
नेपाल सरकारद्वारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताएका छन् ।

प्रकाशित समय १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010