सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्सको (नेपाल) र ओरियण्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित सिप्रदी टेड्रिङ प्रा.लि.को मुख्य कार्यालयमा आयोजित एउटा समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा कम्पनीजका तर्फबाट सम्झौता–पत्रमा हस्ताक्षर गरे भने एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओरियण्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एम.डी नायरले सम्झौता–पत्रमा हस्ताक्षर गरे । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो जुन नेपालकै पहिलो हो ।
यो योजना मार्फत् दूर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।
सिप्रदीका ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक साबित हुनेछ । सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरू सँग सहकार्य गर्ने योजना रहेको छ ।
प्रकाशित समय १२:१८ बजे





















