तीन सय किलोमिटर रेञ्ज दिने केईको ई-क्यूट जीरोफोर ईभी एकैदिन ३० युनिट डेलिभरी
काठमाडौं । चिनियाँ कम्पनी केई अटोको उत्पादन ई-क्यूट जीरो फोर ईभी गाडी नेपालमा एकैपटक ३० यूनिट डेलिभरी भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रमका बीच ती गाडीहरु हस्तान्तरण गरिए । नेपालका लागि जीओ अटोमोबाईल्स प्रालि र लक्ष्मी ई-मोबिलिटी प्रालिले संयुक्तरूपमा केईको ब्राण्डका गाडीहरू आयात गरी डेलिभरी गरेका हुन् ।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा र लक्ष्मी ई-मोबिलिटीका महाप्रवन्धक दीपक थपलियाले ती गाडीका साँचो संयुक्तरूपमा खरिदकर्तालाई हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरे । प्रबन्ध निर्देशक गोल्छाले उक्त गाडीमा डीसी चार्जर पनि प्रयोग गर्न सकिने भन्दै टाढा जाँदा छिटो चार्ज गर्न सकिने बताए ।

ई-क्यूट जीरो फोर ईभीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । अत्यन्तै आकर्षक लुक्समा रहेको गाडीमा एसी र डिसी दुवै तरिकाबाट चार्ज गर्न मिल्नेगरी निर्माण गरिएको छ । देशभर रहेका लक्ष्मी र जीओले सर्भिस सेन्टरहरुबाट आवश्यक सर्भिसिङको सुविधा लिन सकिने पनि गोल्छाले बताए । गाडीको मोटरपावर ४० किलोवाट रहेको छ भने २८.०८ किलोवाट क्षमता भएको लिथियम आइरन फोसफेट ब्याट्री रहेको छ । एक पटक फुल चार्ज गरेपछि ३ सय किमि रेन्ज दिने बताइएको छ ।
प्रकाशित समय २१:१० बजे




















