1100×100 Nabil Advert

बैंकिङ क्षेत्र र अबको अर्थतन्त्रको केन्द्रभाग

नेपालमा बैंकिङको सुरुवात

नेपालमा सर्वप्रथम सरकारी बैंकहरु मात्रै थिए । सन् १९८० को दशकमा आएर ज्वाइन्ट भेञ्चर बैंकहरु आए । त्यसपछि मनि लेण्डरको रुपमा मात्रै हुने बैंकको कारोबारमा परिवर्तन आएर ग्राहककेन्द्रित सुविधा र वास्तविक बैंकिङ कारोबार शुरु भएको पाइन्छ । शुरुको समयमा सीमित वर्ग र क्षेत्रमा मात्रै बैंकिङ कारोबार हुने गर्दथ्यो । बैंकका शाखाहरु भए पनि सोचेअनुरुप काम गर्न सक्दैनथे । समयसापेक्ष तालिम नहुँदा पनि समस्या थियो । ज्वाइन्ट भेञ्चर बैंकहरू आएपछि मात्रै यो सेवा व्यवसाय हो भनेर नयाँ–नयाँ प्रोडक्टसहित नयाँ प्रविधि र प्रणालीको विकास गरी कम्प्युटरको माध्यमबाट ग्राहकलाई बढीभन्दा बढी सेवा दिएर सहज बनाउने काम भएको पाइन्छ । ज्वाइन्ट भेञ्चर बैंकहरू आएपछि वर्किङ क्यापिटल लोन, ओभरड्राफ्ट लोन, कल डिपोजिटका विषयहरु अगाडि बढे । शुरुमा ब्याजदर तोकेर अगाडि बढेको राष्ट्र बैंकले पनि आफूलाई बदल्दै लग्यो । त्यतिबेला राष्ट्र बैंकले तोकेको ब्याजदरमा रहेर बैंकहरुले काम गर्दथे । ज्वाइन्ट भेञ्चर बैंकहरु आएपछि अन्तर्राष्ट्रिय व्यापारिक कारोबार पनि सहजरुपले अगाडि बढ्न थाल्यो । राष्ट्र बैंकसँग मात्रै बैंकिङ कारोबार गर्ने प्रचलन विस्तारै हट्दै गयो । बैंकहरु नयाँ प्रोडक्ट र ग्राहक पहिचानसहित अगाडि बढेर काम गर्न सक्षम बन्दै जान थाले र नयाँ-नयाँ व्यवसाय गर्नेहरू जन्मिएर आजका दिनमा हरेक क्षेत्रमा उद्यमी, व्यवसायीहरु देख्न पाइन्छ । शुरुमा व्यापार, व्यवसायमा लाग्नेहरु मारवाडी र नेवार समुदायका मानिसहरू मात्रै हुने गर्दथे भने बैंकिङ सेवाकै कारण आज सबै क्षेत्रका मानिसहरू उद्यम, व्यवसायमा संलग्न रहेका छन् । आर्थिक उदारीकरण पछिको पहिलो बैंकरको हिसाबले आजको स्थितिमा आइपुग्दा बैंकिङ क्षेत्रप्रति सन्तुष्ट हुने अवस्था छ । अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको बैंकिङ प्रणाली सबल देखिन्छ । नेपालीहरुले अरु देशमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर बैंक चलाएर बसेका थुप्रै उदाहरण छन् । यसरी हेर्दा आज नयाँ प्रोडक्ट, सेवा, प्रविधि सबै हिसाबले नेपालका बैंकहरू अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्न सक्षम छन् ।

अबको निकास, उत्पादनशील अर्थतन्त्रको विकास

हाम्रो अर्थतन्त्रको संरचना सबल छैन । हामी रेमिट्यान्स र आयातमा मात्रै निर्भर बनिरहेका छौं । आजसम्म वास्तविक (उत्पादनशील) अर्थतन्त्र अगाडि बढ्नै सकेको छैन । खासमा वास्तविक अर्थतन्त्र अगाडि नबढेसम्म अरु विषयहरु कमजोर रहिरहनेछन् । यसो भनिरहँदा वस्तु तथा सेवा बढी उत्पादन गरेर जानुपर्ने हो । छिमेकी देशहरुबाट वस्तु आयात गरी त्यसको व्यापार गरेर स्वदेशको आवश्यकता परिपूर्ति गर्ने अहिलेको अवस्था छ । यो ठीक होइन । त्यसका लागि रेमिट्यान्सबाट प्राप्त रकम खर्च भइरहेको छ । यसो भनिरहँदा हामी उत्पादनशील र वास्तविक अर्थतन्त्रतिर लाग्न ३० वर्ष ढिला भइसकेको छ । यसलाई विश्लेषण गरेर अब भने सोही किसिमका नीति बन्नु आवश्यक छ । नेतृत्व तहमा दीर्घकालीन सोचाई हुनुपर्दछ । आज अर्थतन्त्र जुन दिशामा अगाडि बढिरहेको छ, बैंकिङ क्षेत्र पनि त्यही दिशामा अगाडि बढिरहेको पाइन्छ । अब भने बैंकिङ क्षेत्रले अर्थतन्त्रको आवश्यकतालाई पहिचान गरेर वास्तविक अर्थतन्त्रतर्फ केन्द्रित बन्नुपर्दछ । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा जानुपर्दछ भनेर समय-समयमा क्षेत्र नै तोकेर लगानीका लागि निर्देशित गरिरहेको पनि छ । नियम कानूनले साथ दिएसम्म बैंकहरु यसमा गइरहेका छन् । एउटा उदाहरण कृषि क्षेत्रमा बैंकहरु लगानी गर्न तयार छन् । कृषि क्षेत्रमा लगानी बढाउने भनेर विभिन्न मन्त्रीहरुले पनि भनेका छन् । तर कृषि क्षेत्रमा लगानी गर्ने भनिरहँदा किसानले समयमै मलखाद, बिउबिजन पाउँदैनन् । त्यसैगरी उत्पादन भए पनि बजारमा जाने विधि, कोल्ड स्टोरेज, प्रशोधन उद्योगको स्थापना लगायत उद्यमतर्फ सरकारको ध्यान गएको देखिन्न । यहाँ मूल्य चक्र प्रणाली नै हुन सकेको देखिन्न ।

वास्तवमा सरकारका खास नीति र रणनीति नहुने हो भने जतिसुकै अनुदानका कुरा र भाषण गरे पनि बैंकहरु यस क्षेत्रमा आकर्षित हुने अवस्था देखिंदैन । त्यस्तै उपभोगका लागि मात्रै सीमित बनिरहेको कृषिको व्यवसायीकरण हुनुपर्दछ । कृषिको व्यवसायीकरण भयो भने बल्ल बैंकहरुले ऋण दिने कार्य हुन सक्दछ । सबै संयन्त्र परिचालित भएर उत्पादनशील क्षेत्र कृषिलाई दीर्घकालिनरुपले टिक्ने अवस्था बनाउन सकिएमा बैंकको लगानी बढ्दै जाने निश्चित छ । त्यस्तै कृषिमा दीर्घकालिन सोच राखेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । छिमेकी ठूला देशहरु चीन र भारतका सामानहरू निर्वाधरुपमा नेपालमा आइरहेका छन् । अब देशभित्रकै स्थानीय उत्पादनको सुरक्षा गर्ने र उद्यमी, व्यवसायीलाई प्रोत्साहित गर्ने काम हुनैपर्दछ । आज काम गर्ने मानिसहरु निरुत्साहित हुने काममात्रै भइरहेको छ । जुनसुकै काम गर्दा पनि व्यवधान छ । राज्यको एकद्वार नीति लगायत सबै विषयबारे राज्यको संयन्त्र नै सबैभन्दा प्रभावकारीरुपले सञ्चालन हुनुपर्ने देखिन्छ । त्यसपछि बल्ल सबै प्रोत्साहित भएर लगानी गर्ने वातावरण बन्दछ । बैंकले लगानी गर्ने र व्यवसायीले व्यवसाय गर्ने वातावरण राज्यले नै तयार गरिदिनुपर्दछ । उनीहरुलाई प्रतिस्पर्धी बनाउने, भारत र चीनसँगको वस्तुसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु आजको आवश्यकता हो । त्यही हिसाबको सरकारको नीतिहरू आउनुपर्दछ । मुख्यतः बैंकले लगानी गर्ने वातावरण बन्नुपर्दछ ।

पछिल्लो समय हाइड्रोपावरमा बैंकहरूले लगानी गरिरहेका छन् । यो राम्रो काम हो । यसले विद्युतमा आत्मनिर्भर बन्ने अवस्था बनेको छ । आज सिमेन्टमा धेरै उद्यमीहरू आएपछि अहिले आत्मनिर्भर भएर निर्यात गर्नसक्ने क्षमता बनेको छ । होटल व्यवसायमा बैंकहरुले धेरै लगानी गरेका छन् । तर पूर्ण क्षमतामा होटेलहरू सञ्चालनमा आउन सकिरहेका छैनन् । होटेल व्यवसाय तथा पर्यटनमा अगाडि बढ्ने हो भने राज्यको तर्फबाट पर्यटकीय गन्तव्य विस्तार र विकास गर्ने काम गरिनुुपर्दछ । एयरपोर्ट, सडक, बाटोलाई सहजता बनाएर पर्यटकलाई छिटोभन्दा छिटो गन्तव्यमा पुग्न सुविधा दिलाउने काम भएमा लगानी बढ्ने देखिन्छ । लुम्बिनी, पोखरा, चितवनलगायत मुख्य पर्यटकीय गन्तव्य पुग्नलाई अन्तर्राष्ट्रिय विमानस्थल, सडक बाटोलाई चुस्त दुरुस्त बनाउनु पर्दछ । निजगढको एयरपोर्ट बनाउने र त्यहाँ हुँदै फास्ट ट्रयाक रोडबाट विभिन्न गन्तव्यमा जानसक्ने बनाउन सकिएमा आज पर्यटक बढ्ने अवस्था छ । यी र यस्ता वातावरण भएमा बैंकहरुले कुनै हिचकिचाहट बिना लगानी बढाउने निश्चित छ । मुख्य कुरा पर्यटन, कृषि उद्योगलाई सहयोग गर्ने संरचनाहरू तय गरेर नीतिगत हिसाबले यहाँका उद्योगी, व्यवसायीलाई दीर्घकालीनरुपमा टिक्नसक्ने एवं भारत र चीनको वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन सरकारले ध्यान दिनुपर्दछ । त्यसो भएमा बैंकहरू लगानी गर्न तयार बन्नेछन् ।

अचल सम्पत्ति राखेर मात्रै कर्जा दिने बुझाईमा परिवर्तनको खाँचो

आज बाफियाले चल-अचल सम्पत्ति राखेर बैंकले कर्जा दिन सक्दछ भनेको छ । उद्यमशीलता विकास गर्ने हो भने अचल सम्पत्ति राखेरमात्रै कर्जा दिने बुझाईमा परिवर्तन गर्नुपर्दछ । त्योभन्दा बाहेक अवस्थामा कर्जा दिएमा सुरक्षण नै नभई कर्जा दिएको भनेर खेद्ने परिपाटी छ । बैंकरहरुलाई खेदेर जेलसम्म पु¥याउने काम पनि भएका छन् । यो काम ठीक होइन । कानूनले भने सुरक्षण नभए पनि चल सम्पत्ति राखेर पनि कर्जा दिन सकिन्छ भनेको छ । तर हामी सबैको बुझाई धितो नराखी कर्जा दिन नहुने, धितो कमजोर राखेर कर्जा दिन नहुने, यदि त्यसरी दिइएमा घोटाला गरेर दिएको हो कि भन्ने खालका आशंका एवं मानसिकता राख्नेहरु पाइन्छन् । अदालतले पनि सोही किसिमको व्याख्या गर्ने गर्दछ । अब उद्यमशीलता विकास गर्ने हो भने यस्ता सोचाईबाट बाहिर आउनुपर्दछ । आज २० लाखको हाराहारीमा सबै बैंकका कर्जाका फाइलहरु रहेका छन् । तीमध्ये २०-३० वटा फाइलमा समस्या होलान् । कतिपयले जानीजानी बदमासी गरेका मुद्दाहरु पनि हुनसक्दछ । यसरी हेर्दा केही समस्याका कुरा राखेर समग्र उद्यमशीलताको विकासलाई निमिट्यान्न पार्ने काम ठीक होइन । यसले देशको समृद्धिलाई रोकिरहेको छ । प्रत्येक समस्या एवं मुद्दालाई छुट्टाछुट्टै हिसाबले कुरा गरेर हेर्नुपर्दछ । कुनै मुद्दामा सुरक्षण कमजोर भएर मानिसलाई थुन्दै जाने हो भने भोलिका दिनमा आफू फस्ने डरले बैंकरहरुले कर्जा नै नदिने अवस्था आउन नदिन सबै चनाखो बन्नुपर्दछ ।

यता आर्थिक चक्रमा कुनै व्यवसाय असफल हुन पनि सक्दछ । त्यसलाई स्वीकार गर्न सक्नुपर्दछ । विगतमा गार्मेन्ट, कार्पेटका उद्योगहरू त्यसैगरी असफल भएका उदाहरण छन् । उद्योग नै कमजोर भएर कर्जा गलतरूपले जान सक्ने प्रशस्तै ठाउँहरु छन् । त्यस्तो अवस्थामा कसैले कर्जा नतिर्दैमा बैंकका कर्मचारीले गलत ठाउँमा पैसा दिएको भनेर थुन्ने काम भएमा मनोबल बढ्ने अवस्था रहन्न । आज बैंकहरुले हाइड्रोपावरका लागि कर्जा दिएका छन् । कुनै आयोजना भूकम्प गएर भत्कियो भने त्यस्तो अवस्थामा कर्जा तिर्न सक्दैन । त्यो कर्जा गलत ठाउँमा गयो भनेर सबैलाई थुन्ने काम हुनुभएन भन्ने हाम्रो भनाइ हो ।

समस्याको समाधान

कतिपय क्षेत्रमा अहिले पनि आयोजना धितो राखेर कर्जा दिने काम भइरहेका छन् । घिउ, तेल, टेक्सटाइल, स्पेनिङमा लगानी भइरहेका छन् । स्टिल उद्योगकै कुरा गर्दा पनि त्यो कारखानाको घर जग्गा एवं धितोले ऋण तिर्न पुग्दैन । त्यहाँ लगानीकर्तालाई व्यक्तिगत ग्यारेन्टी लिएर काम गर्ने गरिएको छ । त्यहाँ पनि धेरै कर्जा धितो नभई किन दिएको भनेर सोध्ने प्रशस्तै आधारहरु छन् । तरबारको धारमा हिंडेर भनेजस्तै गरी अन्तर्राष्ट्रिय अभ्यास र बाफिया अनुसार चल सम्पत्तिमा पनि बैंकहरुले कर्जा दिइरहेका छन् । यसैमा बैंकिङ कसुर ऐनले जुनसुकै मुद्दा लगाएर पनि फरक हिसाबले व्याख्या गरेर दोषी बनाउने खालका काम पनि हुन सक्दछन् । यस विषयमा राजनीतिक, कानुनी पाटो लगायत तलदेखि माथिसम्म सबैले बुझ्नुपर्नेछ । यसो भनिरहँदा यदि कसैले खराब काम गरेमा छुट्टाछुट्टै अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्थिति हुन सक्दछ । हिजोको तुलनामा आज घरजग्गाको मूल्य ४०-५० प्रतिशत कममा झरिसकेको छ । हिजो तिरेको जग्गाको मूल्यभन्दा आज कम मूल्य भयो भन्दैमा किन कम मूल्यांकनमा दिइस् भन्ने कुरा पनि आउन सक्दछ । त्यसैले बैंकिङलाई अझ बलियो र अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याएर काम गर्दागर्दै पनि विभिन्न किसिमका आक्षेप आउने अवस्था छ । इमान्दार बैंकरलाई पनि केही न केही दोष लगाउँछु भन्यो भने दोष लाग्ने अवस्था छ र कारबाही हुनसक्दछ । त्यसैले गलत गरेकोमा कारबाही गर्ने र अन्य अवस्थामा तपाईं अगाडि बढ्न सक्नुहुन्छ भनेर राज्यले खुलस्त पारिदिनुपर्दछ । कुनै कर्जा गलत भयो र राज्यले अनुसन्धान गर्दा त्यो प्रमाणित भएमा ती र त्यस्तालाई समातेर जेल लैजानु पनि अन्यथा हुँदैन । तर असल नियत राखेर काम गर्दा दोषी करार गरियो भने आज जुन स्थानमा बैंकहरु आएका छन्, अब फर्केर ५० वर्ष पछाडिको तहमा बैंकहरू जानुपर्ने अवस्था आउँदछ । त्यो धेरै कठिन अवस्था हुनेछ भनेर सबैले बुझ्नुपर्दछ ।

कतिपय अवस्थामा आज बैंकरहरुले बुझाउन नसकेको पनि हुनसक्छ । त्यसैले न्यायिक क्षेत्रदेखि विभिन्न ठाउँमा बस्नेहरुलाई अभिमुखीकरण कार्यक्रम पनि गर्ने गरिएको छ । वास्तविकरुपमा व्यवसाय र बैंकिङ क्षेत्र कसरी चल्छ भनेर उहाँहरुलाई बुझाउने काम भएको छ । सबैले एक-अर्काका भावनालाई बुझेर काम गर्नुपर्ने देखिन्छ । बैंकरले सरकारका परिधिहरू बुझ्नुपर्दछ । सरकारले पनि बैंकर र व्यवसायीका कुरा बुझेर वास्तविक स्थितिको अध्ययन गर्दै समस्या समाधान गरी अगाडि बढ्नु ठीक हुनेछ । त्यसपछि उद्यमशीलता सँगसँगै बैंकहरू अगाडि जान सक्दछन् ।

मौद्रिक नीतिको प्रभाव कस्तो पर्ला

अर्थतन्त्रमा मुख्य विषय भनेको मानिसको विश्वास हो । व्यवसाय गर्नेहरु, ग्राहक, जनता, थुप्रै प्रणालीको विश्वास यसमा पर्दछ । तर आजको विश्वास गुमिरहेको अवस्थालाई वित्तीय नीतिले सम्बोधन गर्न सकेन । त्यसपछि मौद्रिक नीति आयो । अहिलेको मौद्रिक नीति विश्वास जगाउने हिसाबले केही खुकुलो गरी आएको छ । अब नीति खुकुलो भयो भन्दैमा बैंकर र व्यवसायीले यसको दुरुपयोग गर्नुहुँदैन । यसलाई न्यायसंगत प्रयोग गर्दै जानुपर्दछ । राष्ट्र बैंकले देशको वित्तीय स्थिरता चाहेको देखिन्छ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने उद्देश्य लिएको छ । त्यसैले मौद्रिक नीतिका उद्देश्यलाई नकारात्मक प्रभाव नपर्ने गरेर सबैले मौद्रिक नीतिको प्रयोग गर्नुपर्दछ । बैंक, फाइनान्ससहित सबैले वित्तीय क्षेत्रको स्थिरतामा जोड दिनुपर्दछ ।

अन्तमा, आज बैंकिङ क्षेत्रले व्यवसायीलाई स्थान दिने, नियमनकारी निकायले पनि बैंकिङ क्षेत्र र व्यवसायीलाई स्थान दिने काम गर्नुपर्दछ । बैंकिङ, व्यवसायिक क्षेत्र र समग्र वित्तीय क्षेत्र लचिलो भएर अगाडि आउनुपर्दछ । यी क्षेत्रबाट समर्थन गर्ने कार्यहरु हुनैपर्दछ । आज बैंकहरूको खराब कर्जाहरू बढिरहेको छ । राष्ट्र बैंकले व्यवसायीलाई पुनर्तालिकीकरण जस्ता कुराहरुमार्फत समय सीमा दिएर सहजीकरण गरेको पाइन्छ । व्यवसायीहरूले पनि पाएको समयसीमा अगावै बैंकका कर्जाहरु तिर्ने काम गर्दै जानुपर्दछ । अहिले अर्थतन्त्रमा चुनौती छ । यसलाई एउटा सही बाटोमा हिंडाउनुपर्दछ । यो सबैको दायित्व हो । यस्तो अवस्थामा आफूले केही गुमाउनु पर्दछ भने बैंकले पनि गुमाउन तयार बन्नुपर्दछ । हिजो तल्लो तहमा भएका बैंकहरु आज माथिल्लो तहमा पुगेका छन् । यसलाई बिर्सनुहुँदैन । अर्थतन्त्रको चुनौतीलाई बुझेर घाटा व्यहोरेर भए पनि अर्थतन्त्र बच्छ भने त्यसमा सबै तयार हुनुपर्दछ । अर्थतन्त्र बचेन भने हामी सबै डुब्ने खतरा छ । अहिले विस्तारै मानिसहरूको मनोबल बढिरहेको पाइन्छ । शेयर बजार, घरजग्गाको कारोबार एवं भाउ बढ्नेक्रम र माग बढिरहेको छ । यो अवस्थालाई निरन्तरता दिन सबैको सहकार्य जरुरी छ ।

त्यसैगरी रेमिट्यान्सको रकम धेरै भित्रिए पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने काम हुन सकेको छैन । ती रकमलाई सदुपयोग गर्ने हिसाबले राज्यले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उचित सम्बोधन गर्नुपर्दछ । त्यसरी आउनेले त्यहाँको काम गर्ने संस्कार, सीप र पूँजी सबै ल्याएका हुन्छन् । उनीहरुलाई उत्पादनशील क्षेत्रमा आकर्षित गरी अर्थतन्त्रको मूलधारमा ल्याउन राज्य, बैंकिङ प्रणाली लगायत अरु सबै स्पष्ट भएर अगाडि बढ्नुपर्दछ । यसले देशको मुहार फेरिने छ । (कुराकानीमा आधारित)

 

प्रकाशित समय ०९:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु