बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता
नौबिसे–काठमाडौँ सडक अवरुद्ध
मलेखु (धादिङ), १० असोजः अविरल वर्षाका कारण पहिरो झरेर नौबिसे–काठमाडौँ सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । तस्बिरः शंकर श्रेष्ठ÷रासस
काठमाडौ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।
प्रकाशित समय ०८:४४ बजे




















