अन्तर्राष्ट्रिय युवा दिवस : युवाका लागि खोई देशमै रोजगारी ?
काठमाडौं । अगष्ट १२ तारिख, आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी २४औं युवा दिवस मनाउन लागिएको छ । युवाका सवाल सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम गरिंदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने संघ–संस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो । साताव्यापीरुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको राष्ट्रिय युवा परिषद्ले आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सहभागितामा राष्ट्रिय सभागृहमा मूल समारोह कार्यक्रमको आयोजना गर्ने परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
शनिवार बिहान प्रभातफेरि निकाल्दै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको ब्याण्डबाजासहित युवाका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरुले युवाहरुको सहभागितामा ‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ, नवप्रवर्धन र उद्यामशीलतामा सिप विकास’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
बस्नेतले भने– ‘हामीले सप्ताव्यापी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छांै । त्यसअन्तर्गत रक्तदान कार्यक्रम, युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले लोकदोहोरी कार्यक्रम सञ्चालन गरेका छौं, चार जना सांसदहरुको सहभागितामा युवा र उद्यामशीलताको विषयमा बहस कार्यक्रम पनि सञ्चालन गरेका छौं ।’
गैरसरकारी निकाय तथा सरकारले बर्सेनी विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको छ । राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष बस्नेतले सरकारले विभिन्न नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरूपमा सम्बोधन हुन नसकेको बताएका छन् ।
उनले देशको ठूलो युवा संख्यामा दक्ष जनशक्ति विदेशिएकोले अबको केही दशकपछि नेपालमा आश्रितहरुको संख्या बढ्ने भन्दै तीनै तहका सरकारले नेपालमा रहेका र विदेशबाट फर्किएका युवाहरुलाई समेटेर सरकार तथा युवाका क्षेत्रमा काम गर्ने संघ–संथाले संयुक्तरुपमा विशेष अभियानमार्फत युवालाई उद्यमशिलताको विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
‘दशकपछि नेपाल आश्रितहरुको बहुसंख्या भएको देश हुनेछ र हामीले जानसांख्यिकीय लाभांश गुमाउँनेछौं । त्यो हुनुभन्दा अगाडि नै राज्य, सरकार, योजना आयोग, अर्थमन्त्रालय र सबै सम्बन्धित निकायहरुले युवाहरुलाई उद्यामशीलतामा जोड्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समन्वयात्मक ढंगले आमरुपमा युवाहरुलाई राष्ट्रियरुपमा अभियानका साथ उद्यामशीलतामा जोड्नुपर्ने आजको आवश्यकता हो,’ बस्नेतले भने ।
सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।
राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगतरूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । प्रदेश स्तरमा लुम्बिनी, बागमती र सूदुरपश्चिममा युवा परिषद् गठन गरिएको छ । तर ती निकायले युवाका लागि आवश्यक कार्य गर्न नसकेको गुनासो धेरैको रहँदै आएको छ ।
देशभित्रै खोई युवालाई रोजगारी ?
विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहे पनि नेपाली युवाका लागि भने कुनै खुशी र उमंग छैन । व्याप्त भ्रष्टाचार र आर्थिक मन्दीका कारणले दिनप्रतिदिन रोजगारीका अवसरहरु खुम्चिँदै गएका छन् । जसले गर्दा दैनिक युवाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै रोजिरोटीको व्यवस्था गर्न तथा परिवारको गर्जो टार्नकै लागि देश छाड्नुपर्ने बाध्यता बढ्दो अवस्थामा छ । यसलाई रोक्ने नीति बनाएर त्यसैअनुसार कार्यक्रम अगाडि बढ्यो भनेमात्र विश्व अन्तर्राष्ट्रिय दिवसको सार्थकता हुनेछ, अन्यथा दिवस मनाउनु बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा धान्नेजस्तो बाहेक केही हुनेवाला छैन ।
प्रकाशित समय १०:०४ बजे





















