सामुदायिक विद्यालयका विद्यार्थीमा प्राविधिक विषयमा गहिरो रुची हुनु सुखद् : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको भन्दै त्यो महानगरको लागि शिक्षालाई समयानुकूल परिवर्तन गर्ने अवसर भएको जनाएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ्ग विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरु सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी गराएका छन् ।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पद्मोदय माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई महानगरले प्राविधिक विषयमा अभिमुखीकरण गराएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृत्रिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्ग) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।’

त्यस्तै उनले महानगरले विद्यार्थीको रुचीको आधारमा ‘बुक फ्रि फ्राइडे’ (शुक्रबार) का दिन प्राविधिक सिकाइको विषयलाई पनि समावेश गरेर कक्षा चलाउँने जानकारी दिए । उनले अहिलेको समयानुसारको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक परीक्षण र प्रयोग गर्दै सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई प्रविधिमैत्री र प्रतिष्पर्धी शिक्षा प्रदान गर्ने उल्लेख गरेका छन् ।

‘यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ । अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौं भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरुलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीलाई पुस्तकमा भएको सिद्धान्त (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ,’ बालेनले लेखेका छन् ।

प्रकाशित समय १२:२२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु