1100×100 Nabil Advert

नवनियुक्त मुख्यसचिव डा.अर्यालसँग परिसंघको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त मुख्य सचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले अर्थ, उद्योग, वाणिज्य क्षेत्र बुझेको व्यक्ति मुख्य सचिव हुनु भएकोमा खुसि व्यक्त गर्नुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अर्थतन्त्रको बर्तमान अवस्था चुनौतीपुर्ण रहेको भन्नुहुँदै उहाँले लगानी बढाएर मात्र अर्थतन्त्रलाई चलयमान बनाउन सक्नेमा उहाँले जोड दिनुभयो ।

परिसंघले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने गरी निजी क्षेत्रकै तर्फबाट पहिलो पटक ‘बजेट वाच’ कार्यक्रम संचालन गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन अनुगमन समिति बनाउने घोषणा गरेको छ । यसको स्वागत गर्नुहुँदै अध्यक्ष अग्रवालले उक्त समितिमा परिसंघको प्रतिनिधित्व गराउन आग्रह गर्नुभयो ।

सोही अवसरमा अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेपलिज इकोनोमी’ अवधारणा मुख्य सचिव डा. अर्याल समक्ष पेश गर्नुभयो । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै नवनियुक्त मुख्य सचिव डा. अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्न अपरिहार्य रहेको बताउनुभयो । उहाँले पूँजीगत खर्च बढाउन आवश्यक रहेको भन्नुहुँदै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उत्पादनमा आधारित भए मात्र अर्थतन्त्र अगाडि बढ्न सक्ने भन्नुहुँदै उहाँले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

नवनियुक्त मुख्य सचिव डा.अर्याललाई परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पुर्व अध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारदा, बालकृष्ण श्रेष्ठ, परिसंघ राष्ट्रिय परिषद् सदस्य अमित मोर, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिनुभयो ।

प्रकाशित समय १९:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु