राष्ट्रिय सहकारी बैंकद्वारा पूँजी फिर्ता कोषको रकम बाँडफाँट

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बिहिबार बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसँगै एउटै सदस्यले ४२ लाखभन्दा बढी रकम प्राप्त गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ–संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कूल १८ करोड ५५ लाख १२ हजार ६ रुपैयाँ १५ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ ।
संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ–संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो । उहाँका अनुसार बचत र कर्जा कारोबार गर्ने १५,४७४ सहकारी संघ–संस्थाहरुको संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४२ लाख ७ हजार ७ सय २७ रुपैयाँ तथा कर्जा तर्फ ११ लाख ४८ हजार ४ सय ९८ रपैयाँ सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताउनुभयो ।
‘उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ-संस्थाहरु ७३३ रहेका छन् । हाल बैंकमा १६ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।
यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघ–संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ को लागि बैंकको १९ औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पुस १८ गते वितरण गरेको थियो । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीय निकायहरु मध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँट गर्ने बैंक पहिलो हो ।
बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ–संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा उच्च कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
प्रकाशित समय १८:०३ बजे