1100×100 Nabil Advert

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा ।

 

पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ । पोखरा महानगरपालिका-२५ हेम्जाबाट खानेपानी, भेडाबारी र खोलामुख हुँदै ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गर्नेहरूका लागि मर्दी खोलाको किनारैकिनार वनपाखा र भिर हुँदै करिब चार घण्टाको रमणीय यात्रा तय गर्न सकिन्छ ।

 

गाउँको माथिल्लो भागमा फैलिएको करिब एक हजार २०० रोपनी क्षेत्रफलको चियाखेतीले यहाँ पुग्ने जो-कोहीलाई पहिलो नजरमै आकर्षित गर्छ । हरियाली चियाका बोटबीचबाट देखिने हिमाली दृश्य र प्राकृतिक शान्त वातावरणले आगन्तुकलाई लामो समयसम्म त्यहीँ रमाउन बाध्य बनाउँछ ।

 

स्थानीयवासीका अनुसार ल्वाङको चियाबारीले पूर्वी नेपालको इलामको झल्को दिन्छ । तर, यहाँको चियाबारी केही विशेष पनि छ । ल्वाङमा चियाबारीसँगै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य पनि एकैसाथ अवलोकन गर्न सकिन्छ । यही विशेषताले ल्वाङलाई अन्य ग्रामीण पर्यटन गन्तव्यभन्दा फरक पहिचान दिएको छ ।

 

यहाँ उत्पादन हुने चिया विदेशसम्म निर्यात हुँदै आएको छ । चियाखेतीले स्थानीयलाई रोजगारी र आम्दानीको स्रोत प्रदान गरेको छभने पर्यटकका लागि नयाँ आकर्षण थपेको छ । विशेषगरी युवापुस्ताले सामाजिक सञ्जालमा चियाबारीका तस्बिर र भिडियो सार्वजनिक गर्न थालेपछि ल्वाङको लोकप्रियता अझ बढेको स्थानीयवासी बताउँछन् ।

 

ल्वाङको पर्यटन केवल चियाबारीमा सीमित छैन । गाउँमा पुग्ने पर्यटकले गुरुङ समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न पाउँछन् । परम्परागत घर, स्थानीय वेशभूषा, सांस्कृतिक प्रस्तुति र आत्मीय आतिथ्यले यहाँको बसाइलाई थप स्मरणीय बनाउने गरेको छ ।

 

गाउँमा सञ्चालन भइरहेको घरबास (होमस्टे) कार्यक्रमले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । विसं २०६७ मा सात घरबाट सुरु भएको घरबास सेवा अहिले २६ घरमा विस्तार भइसकेको छ । एकै रातमा करिब ४०० पाहुनालाई बसोबास गराउन सक्ने क्षमता रहेको घरबासमा पर्यटकीय याममा दैनिक ६०० जनासम्म पर्यटक बस्ने गरेको घरबास सञ्चालक सदस्य देवराज गुरुङले बताउनुभयो ।

 

‘यहाँ मुख्य रूपमा आन्तरिक पर्यटक आउने गर्छन् । पोखरा, तनहुँ, स्याङ्जा, बागलुङलगायत जिल्लाबाट पर्यटकको आवागमन बढी हुन्छ,’ उहाँले भन्नुभयो, ‘कोभिड-१९ पछि विदेशी पर्यटकको सङ्ख्या केही घटे पनि पोखराबाट नजिकको दूरीमा रहेकाले जुनसुकै मौसममा घुम्न आउनेको कमी छैन ।’

 

घरबासमा बस्ने पर्यटकलाई स्थानीय जीवनशैलीसँग घुलमिल हुने अवसर प्रदान गरिन्छ । इच्छुक पाहुनालाई करेसाबारीमा लगेर खेतीपाती गर्ने तरिका सिकाइन्छ भने स्थानीय परिकार बनाउने विधि देखाइन्छ । यसले पर्यटकलाई ग्रामीण जीवनको वास्तविक अनुभव दिलाउने गरेको छ ।

 

ल्वाङको भान्सामा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ । गाउँमै उत्पादन हुने मकै, कोदो, जौ, गहुँ र तरकारीबाट तयार गरिएका परिकार यहाँको विशेषता हुन् । बर्खायाममा निउरो र टुसाका परिकारले विशेष स्वाद थप्छन् ।

 

प्राकृतिक सौन्दर्यका कारण ल्वाङ चलचित्रकर्मीहरूको पनि रोजाइमा परेको छ । नेपाली चलचित्र ‘प्रसाद-२’ र ‘दुई नम्बरी’ लगायत चलचित्रको छायाङ्कन यहाँ भइसकेको छ । चलचित्रमार्फत गाउँको सुन्दरता राष्ट्रियस्तरमा थप प्रचार भएको स्थानीयवासीको भनाइ छ ।

 

विदेशी रोजगारीका लागि गाउँ छाडेका केही युवाहरू अहिले फर्किएर पर्यटन व्यवसायमा संलग्न हुन थालेका छन् । घरबास, चियाखेती, कृषि तथा पर्यटनसँग सम्बन्धित अन्य गतिविधिबाट गाउँमै रोजगारीका अवसर सिर्जना हुन थालेपछि युवाहरूमा नयाँ आशा जागेको छ ।

 

स्थानीयवासीका अनुसार स्तरीय सडक, पदमार्ग, खानेपानी, होटल तथा अन्य पर्यटन पूर्वाधारको थप विकास गर्न सके ल्वाङले अन्तरराष्ट्रिय स्तरको ग्रामीण पर्यटन गन्तव्यका रूपमा अझ सशक्त पहिचान बनाउन सक्छ ।

 

हरियाली चियाबारी, हिमालको अनुपम दृश्य, गुरुङ संस्कृतिको जीवन्तता र आत्मीय आतिथ्यको सङ्गमले ल्वाङ गाउँलाई गण्डकी प्रदेशकै महत्वपूर्ण ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित गराएको छ । प्रकृतिको काखमा बसेर ग्रामीण नेपालको मौलिक स्वाद लिन चाहनेहरूका लागि ल्वाङ आज एक अविस्मरणीय गन्तव्य बनेको छ ।

प्रकाशित समय ११:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु