बजेटको दोहोरो प्रयोग नहुनेगरी व्यवस्था मिलाउनु पर्छ (अन्तर्वार्ता)

गैंडाकोट नगरपालिकाको समग्र स्थितिका बारेमा बताइदिनुस् न ?
गैंडाकोट नगरपालिकाको क्षेत्रफल १५९.९३ बर्ग कि.मी रहेको छ । सो मध्ये खेतियोग्य भूमि ३१.९८ वर्ग कि.मी. रहेको छ । स्थानीय उत्पादन वर्षे मकै ३१९९८ मेट्रिक टन, बसन्ते मकै १९३१ मेट्रिक टन, हिउँदे मकै ४६२ मेट्रिक टन, वर्षे धान २३३३० मेट्रिक टन, चैते धान १३०० मेट्रिक टन, गहुँ ५३२ मेट्रिक टन, हिउँदे तरकारी १७१६४ मेट्रिक टन, वर्षे तरकारी १९६१६ मेट्रिक टन र बेमौसमी तरकारी ३६४ मेट्रिक टन उत्पादन हुन्छ । गैंडाकोट नगरबासीलाई स्थानीय उत्पादनले वर्षभरी धान्ने अवस्था रहेको छ ।
कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्यसम्बन्धी के–के काम भएका छन् र आगामी योजना के के छन् ?
पशुपालनको क्षेत्रमा गाई–भैंसी, माछा, माहुरी पालन, कुखुरा, बाख्रा लगायत रहेको गैंडाकोट नगरपालिका दूध तथा मासुजन्य पदार्थमा आत्मनिर्भर रहेको छ । पशु बीमाको कार्यक्रम, कृषकलाई विभिन्न सहुलियतमा मल तथा बिउबिजनको व्यवस्था गरिएको छ । आगामी योजनामा कृषि तथा पशुपालनमा कृषकलाई थप प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
कृषि क्षेत्रको प्रवर्द्धनका लागि सिंचाई निकै महत्वपूर्ण कुरा हो, तपाईंको नगरपालिकामा सिंचाईको अवस्था कस्तो छ ?
स्थानीय खोलाहरूबाट सिंचाईको व्यवस्था गरिएको छ भने खोला नभएको स्थानमा १०० वटाभन्दा बढी स्थानमा डिप बोरिङको व्यवस्था गरिएको छ ।
स्थानीय विशेष उत्पादन के हो स्थानीय उत्पादनको बजारीकरणका लागि तपाईले आफ्नो कार्यकालमा के के काम गर्दै हुनुहुन्छ ? पाँच वर्षभित्र तपाईंले स्थानीय तहमा कति जनालाई स्वरोजगार बनाउने योजना बनाउनुभएको छ ?
गैंडाकोट नगरपालिका क्षेत्रमा बाह्रै महिना हरियो मकै उत्पादन, चैते धान, गहुँ, तोरी, कोदो सिजनका फलफूल, तरकारी, अन्नबाली, दुध, माछा, मह आदि हुन्छ । स्थानीय उत्पादनको बजारीकरणको समस्या नरहेको तर कृषकले उचित मूल्य पाउन नसकेको अवस्था छ । ५ वर्षभित्र उचित बजेटको व्यवस्था भएमा स्वरोजगार सृजना गर्न विभिन्न प्रकारका लघुउद्यमलाई प्रोत्साहन गर्ने, कृषिमा युवाहरूलाई स्वरोगारको लागि प्रवर्द्धन गर्ने, बैदेशिक रोजगारबाट फर्किएकालाई उनीहरूले सिकेको सीपअनुसारको व्यवसाय–रोजगार गर्न नगरपालिकाले प्रोत्साहन गर्ने लक्ष्य रहेको छ ।
तपाईंको नगरपालिकाका मुख्य–मुख्य पर्यटकीय स्थलहरू कुन–कुन हुन्, तिनको प्रवद्र्धन, संरक्षण र प्रचार– प्रसारमा के कस्ता कामहरू गर्ने योजना छन् ?
मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, कोटिहोम, श्रीलक्ष्मीदिव्य नरसिंह धाम, मणिमुकुन्द सेन दरबार, महाबौध गुम्बा, गैंडाकट्टा शिला, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र कालीगण्डकी नदीको मनोरम तटिय क्षेत्र आदि ।
कति प्रतिशत जनताले शुद्ध पिउने पानी, विद्युतको उपभोग गर्न पाएका छन् ? छैनन् भने के कारणले पाउन सकेका छैनन्, संघबाट यस्ता योजनामा सहयोग भएको छ कि छैन ?
यस नगरपालिकामा शुद्ध खानेपानी ९५ प्रतिशत जनताले प्राप्त गरेका छन् , संघीय तथा प्रदेश सरकारबाट पनि खानेपानी योजनालाई सहयोग गरेको अवस्था छ ।
मानिसको जीवनमा विभिन्न किसिमका घटना तथा विपदहरू आइरहन्छन्, तपाईंको नगरपालिका क्षेत्रमा आइपर्ने विपद् व्यवस्थापनका लागि के–कस्ता भौतिक सामाग्री र जनशक्ति छन्, छैनन् भने त्यसको प्राप्तिका लागि के कस्तो पहल गर्नुभएको छ ?
यस नगरपालिकामा बाढीबाट ढुवान वडा नं. १, २, ४, ५, १०, ११, १२, १३, १५, १६, १७ र वडा नं. ३, १४ र १८ का केही स्थानमा पहिरोको जोखिम रहेको छ । नारायणी, जयश्रीखोला र झरही खोलाबाट कटानको जोखिम रहेको छ । विपद्लाई न्यूनीकरण गर्ने खालका जनचेतनामूलक कार्यक्रम तथा उद्वार सामाग्रीसहित नजिकको प्रहरी कार्यालयलाई सामाग्री हस्तान्तरण पनि गरिएको छ । संघीय तथा प्रदेश सरकारसँग विपद्लाई न्यूनीकरण र रोकथामका लागि अनुरोधसमेत गरिएको छ । नारायणी तटबन्धको कार्यक्रम हाल सञ्चालनमा पनि रहेको छ ।
नगर क्षेत्रभित्र कुनै खानी तथा खनिज पदार्थहरूको भण्डार रहेको छ कि छैन, छ भने त्यसको उत्खनन्, उपभोग, विक्री वितरण वा संरक्षणमा के काम गर्ने योजना छ ?
यस पालिकामा चुनढुंगाको खानी भण्डार रहेको पाइएको छ ।
स्थानीय सरकारलाई मुलुकको सम्पूर्ण बजेटको ५० प्रतिशत बजेट छुट्याउनु आवश्यक छ, अनिमात्र सहजरुपमा विकास गर्न सकिन्छ भन्ने आवाज उठिरहेको छ, यसलाई कसरी लिनुभएको छ ?
स्थानीय सरकार नै सबै (संघीय तथा प्रदेश र स्थानीय) योजनाहरूको कार्यान्वयन तथा उपभोग गर्ने निकाय भएकाले ५० प्रतिशत बजेट भए राम्रो हुने थियो ।
नगरमा ठूला–ठूला कलकारखाना खोल्नका लागि के कस्ता कच्चा पदार्थहरू छन् ?
यस नगरपालिकामा ठूला खालका कलकारखाना खोल्नका लागि प्राकृतिक स्रोतको प्रयोग गरी सञ्चालन गर्न सक्ने सम्भावना रहेको छ । जस्तैः क्रसर उद्योग, कागज कारखाना, कोल्ड स्टोर लगायतका सञ्चालन गर्न सकिन्छ ।
जल, जमिन र जंगल स्थानीय तहको विकासको प्रमुख आधार बन्न सक्छ, तपाईंको नगरपालिकामा त्यसको अवस्था कस्तो छ ?
यस नगरपालिका तीनतिरबाट नदी र खोला (कालीगण्डकी, नारायणी र झरही) ले छुट्याएकोले गैंडाकोट नगरपालिकालाई नदीव्यष्ठित नगरपालिका पनि भन्न सकिन्छ । नारायणी र कालीगण्डकी नदीको तटीय क्षेत्रलाई मनोरम पर्यटकीय स्थल, बोटिङ, र्याफ्टिङलगायतको साहसिक जलयात्रा गर्न सकिने, यस क्षेत्रको जमिन उर्वर कृषि योग्य तथा सुगम सुविधायुक्त आवासीय क्षेत्रका रुपमा पनि परिचित छ । साथै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र सामुदायिक वनहरू प्राकृतिक सुन्दरताले यहाँको वातावरण हरियाली, हराभरा, मनोरम स्थलको रुपमा परिचित रहेको छ ।
संघीय संरचनामा प्रदेश सरकार र केन्द्र सरकारको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ?
संघीय संरचनामा प्रदेश सरकार र केन्द्र सरकारको भूमिका जति प्रभावकारी हुनुपर्ने हो त्यति हुन सके जस्तो लाग्दैन । तीन तहका सरकारहरूको प्रशासनिक खर्च बढी र विकास बजेट कम भएजस्तो लागेको छ । जसले गर्दा जनताका अपेक्षाहरूलाई सम्बोधन गर्न कठीन भएजस्तो लागेको छ ।
स्थानीय तहलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ?
स्थानीय तहलाई थप प्रभावकारी बनाउन बजेटको भोल्युम संघीय सरकारले बढाउनु पर्छ । कानूनको अभावले गर्दा कतिपय कामहरू गर्न सकिएको छैन । यसको लागि संघीय सरकारले नै स्थानीय तहको लागि कानूनको निर्माण गरिदिनु पर्दछ । ठूला पूर्वाधारका योजनाहरू सञ्चालनका लागि स्थानीय तह/सरकारसँग समन्वय गर्नुपर्ने देखिन्छ । एउटै स्थानमा संघ र प्रदेशका योजनाहरू सञ्चालन रहने तर स्थानीय सरकारसँग समन्वय नहुने, बजेटको दोहोरो प्रयोग नहुने गरी व्यवस्था मिलाउनु पर्छ ।
अन्त्यमा स्थानीयवासीलाई के भन्न चाहनुहुन्छ ?
स्थानीयवासीलाई हरेक योजना तथा कार्यक्रमलाई बढी प्रभावकारी कार्यान्वयन गर्न ईमान्दारीका साथ लाग्न, सहभागी हुन, सभ्य–सुसंस्कृत, प्राकृतिक सुन्दर नगरीको पहिचान दिन आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु ।
प्रकाशित समय ०९:५५ बजे