V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

वित्तीय क्षेत्रको विकास तथा स्थायित्वमा मैले महत्वपूर्ण भूमिका खेलेको छु

बैंक तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर हुनुहुन्छ, चिन्तामणि शिवाकोटी । ३२ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत शिवाकोटीले वित्तीय क्षेत्रको सुशासनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । आगामी कार्यकालमा गभर्नरको दौडमा अग्रपंक्तिमा रहनुभएका शिवाकोटीसँग बैंक तथा वित्तीय संस्थाहरुको फोर्स मर्जरको सवाल, यो क्षेत्रका चुनौतीहरु, व्यवस्थापकीय तहमा काम गर्दा प्राप्त अनुभव तथा विज्ञतालाई मौद्र्रिक नीति, वित्तीय क्षेत्र नीति, विदेशी विनिमय नीति तर्जुमा तथा सोको प्रभावकारी व्यवस्थापन गर्न तथा नेपाल सरकारले लिएको लक्ष्यअनुसार वित्तीय क्षेत्रको विकास तथा स्थायित्वका लागि आवश्यक नीति तर्जुमा गरी सोको कार्यान्वयन गर्न गराउन डेपुटी गभर्नरको हैसियतले खेलेको भूमिकालगायत विविध समसामयिक विषयलाई समेटेर क्रसचेक मासिकका सम्पादक टंक कार्कीले गरेको कुराकानी ।

० बैंक तथा वित्तीय संस्थाहरुको फोर्स मर्जरबाट राष्ट्र बैंक लचिलो भएर स्वेच्छिक मर्जरका लागि प्रोत्साहनको नीतिमा गयो, तर सोचेजस्तो परिणाम आउन नसकेको देखियो नि ?

अपेक्षित नै छ । बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रियाले निरन्तरता पाएको छ । २०७६ पुस मसान्तसम्म कूल १८५ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४० संस्थाको इजाजत खारेज भई कूल ४५ संस्था कायम भएका छन् । समीक्षा अवधिमा एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रियामा १४ संस्था सामेल भई १२ संस्थाका इजाजत खारेज भएको छ । यी मध्ये दुई वाणिज्य बैंकसमेत रहेका छन् । दुई संस्था मिल्ने कुरा आजको भोली नहुन सक्छ र यसले केही समय लिन सक्छ । यसरी आगामी दिनमा नेपाल राष्ट्र बैंकको नीतिका साथै बजारको मागअनुसार नै सो क्रममा वृद्धि हुने मेरो अपेक्षा रहेको छ ।

० स्प्रेडदर गणनाका कारण नाफा घट्ने चिन्ताले बैंकरहरु चिन्तित छन् । व्याज बढ्दा उद्योगीहरु चिन्तित हुने, व्याज घट्दा बैंकरहरु चिन्तित हुने, यी दुवै पक्ष सन्तुष्ट हुने उपाय कसरी पहिल्याउनुहुन्छ ?

उपलब्ध वित्तीय साधनको उपयुक्त परिचालनबाट अधिकतम आर्थिक क्रियाकलापहरू सञ्चालन गरी उच्च, फराकिलो एवम् दीगो आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न उद्योगी र बैंकर दुवैको योगदान अपरिहार्य हुन्छ । तर हाम्रो जस्तो न्यून प्रतिस्पर्धा रहेकोे वित्तीय प्रणालीमा वित्तीय साधनको मूल्य (ब्याजदर) सधैं उपयुक्त स्तरमा रहन्छ भन्न सकिदैन । व्याजदरलार्ई प्रतिस्पर्धात्मक दर कायम गर्न आवश्यकताअनुसार राज्यले नीतिगत हस्तक्षेप गर्नुपर्छ । व्याजदर कमसेकम मूल्यवृद्धिलाई धान्ने होस् भन्ने हाम्रो चाहाना हो । यसले गर्दा निक्षेपकर्तालाई न्याय हुन्छ । यसैगरी उद्योगी र बैंकरको मागलाई अल्पकालमा स्प्रेडदर व्यवस्थापनमार्फत् र मध्य तथा दीर्घकालमा वित्तीय क्षेत्रको क्षमता विकासमार्फत् सम्बोधन गर्ने रणनीति यस बैंकले लिएको छ । न्यून स्प्रेडदरलाई बैकिङ्ग क्षेत्रको कुशलताको सूचक मानिन्छ । वास्तवमा स्प्रेड दर जति न्यून हुन्छ त्यति नै मध्यस्थताको कारणले अर्थतन्त्रमा हुने कल्याण घाटा कम हुन्छ र यसले उत्पादन तथा रोजगारी बढाउँछ । साथै दीर्घकालमा यसले निक्षेप तथा कर्जा परिचालन बढाई बैंकको मुनाफामा गुणात्मक बृद्धि ल्याउँछ । यसरी बैंकहरुको पनि मुनासिव मुनाफा होस् र बचतकर्ताले पनि मुनासिव व्याज पाऊन् र दुवै पक्षको मागलाई सम्बोधन होस् भन्र्ने हाम्रो योजना हो ।

० स–सानो रकम बैंकमा जम्मा गर्न र झिक्न जाँदासमेत अनावश्यक सोधपुछ गरेर बैंकहरुले हैरान पारेको गुनासो सर्वसाधारणले गरिरहेका छन्, यति धेरै कडाई किन जरुरी प-यो, सर्वसाधारणले बुझ्नेगरी स्पष्ट पारिदिनुस् न ?

हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको काम गर्नुपर्ने हुन्छ । नयाँ व्यवस्था ल्याउँदा सो व्यवस्था राम्रोसँग निरन्तर नहुँदासम्म केही द्विविधा रहनु स्वभाविक हो । यसरी केही सीमाभन्दा बढीको रकमको कारोवारमा श्रोत खुलाउनु पर्ने, परिचय दिनुपर्ने जस्ता व्यवस्था आएको हो । यसमा समयको क्रमसँगै मानिसहरु अभ्यस्त बन्दै जानेछन् । यसका साथै बैंक तथा वित्तीय संस्थाको साथीहरुले पनि ‘केवाईसी’मा अनावश्यक झन्झट ल्याउनु हुँदैन । खातावालको उल्लेख्य सूचना परिवर्तनबाहेकमा पटक–पटक कागजात मगाएर दुख दिनु हुँदैन ।

० राष्ट्र बैंकमा तपाईंले सेवा शुरु गर्नुभएदेखि अहिलेसम्म के–के चुनौतीहरु भोग्नुभयो ?

नेपाल राष्ट्र बैंकमा काम गर्दा सर्वप्रथम यहाँ घुलमिल हुन केही समस्था भयो । बाहिर कहीं कामको अनुभव नभएकाले त्यस्तो भएको हुनसक्छ । त्यसपछि कामको सिलसिलामा थुपै्र पटक चुनौती तथा असजिलाहरु भोग्नुप-यो । प्रजातन्त्रको पुनस्र्थापनाको आन्दोलनको क्रममा कर्मचारी संगठनको स्थापना, सो को व्यवस्थापनको क्रममा केही समस्या भयो । तत्कालिन व्यवस्थापन तथा सरकारसँग फरक विचार भएकै कारण झन्डै जागिर जानेसम्मको स्थितिको पैदा भयो । पछि मुद्दा जितेर आएपछि जागिर रहनेसम्मको अवस्था सिर्जना भयो । यसका साथै कार्यालयमा भएका विभिन्न घटनाक्रममा पनि केही समस्या तथा चुनौतीको सामना गर्नुप-यो । वित्तीय सुधार कार्यक्रममा उल्लेख्य संख्यामा कामदार घट्दा केही समस्या भयो । यसका साथै पछिल्लो चरणमा महाभूकम्पपछि कामलाई सुचारु राख्दा केही समस्याहरुको सामना गर्नुप-यो । मर्जर तथा प्राप्तिमा, पूँजी वृद्धिको नीति ल्याउँदा पनि केही समस्या भए । जागिरे जीवनको लामो कालखण्डमा विभिन्न व्यक्तिगत तथा संस्थागत चुनौतीहरु पार गर्दै यहाँसम्म आएको हुँ । यसक्रममा विभिन्न अनुभवले मलाई झन मजबुद बनाएको हो जस्तो लाग्छ ।

० नेपाल राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारी निभाइरहनुभएको छ, आफ्नो कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

देशको समग्र आर्थिक तथा मौद्रिक क्षेत्रको विकासका लागि नेपाल राष्ट्र बैंकले गरेको प्रयासमा म ३२ वर्षदेखि संलग्न छु । वित्तीय क्षेत्रको विकास तथा स्थायित्वका लागि आवश्यक नीति–नियम तथा विधिहरूको तर्जुमा र सोको प्रभावकारी कार्यान्वयन गर्न एवम् नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउन मेरो निरन्तर भूमिका रहेको छ । हालसम्म काम गर्दा उच्च निष्ठाका साथ कुनै विवादमा नपरी काम गरिरहेको छु । मैले व्यवस्थापकीय तहमा काम गर्दा प्राप्त अनुभव तथा विज्ञतालाई मौद्र्रिक नीति, वित्तीय क्षेत्र नीति, विदेशी विनिमय नीति तर्जुमा तथा सोको प्रभावकारी व्यवस्थापन गर्न तथा नेपाल सरकारले लिएको लक्ष्यअनुसार वित्तीय क्षेत्रको विकास तथा स्थायित्वका लागि आवश्यक नीति तर्जुमा गरी सोको कार्यान्वयन गर्न गराउन डेपुटी गभर्नरको हैसियतले मैले महत्वपूर्ण भूमिका खेलेको छु । यसकारण मेरो भूमिका प्रति म सन्तुष्ट नै छु ।

० गभर्नरका लागि अर्का डेपुटी गभर्नर, कार्यकारी निर्देशक, पूर्व कार्यकारी निर्देशक, पूर्वसचिवहरु, अर्थशास्त्रीहरु, आर्थिक क्षेत्रका विज्ञलगायत दर्जनौं आकांक्षीहरु हुनुहुन्छ, यति धेरै प्रतिस्पर्धीको बीचमा आफूलाई अग्रपंक्तिमा उभ्याएर राष्ट्र बैंकको नेतृत्व सम्हाल्न पाउँछु भन्ने आधारहरु के–के छन् ?

मेरो ३२ वर्षको अनुभव र सोबाट निर्माण भएको कार्यक्षमता तथा अनुभव, देश विदेशमा हासिल गरेका उच्च शिक्षा, नेपाल राष्ट्र बैंकले गभर्नरको लागि तोकेको सम्पूर्ण योग्यतामा अब्बल रहेको र हाल यही संस्थाको डेपुटी गभर्नरको पदमा विगत चार वर्षदेखि कुशलतापूर्वक काम गरेको हुनाले गभर्नरको लागि मेरो दावी हो । यसैगरी मैले गभर्नरको अनुपस्थितिमा करिव २४–२५ पटक कामु गभर्नरको भूमिका निर्वाह गरेको छु । लामो अनुभवबाट आर्जित शिक्षा, गभर्नर हुँदा संस्थामा ‘इन्स्टिच्यूशनल मेमोरी’ पनि रहने, म उच्च निष्ठा तथा इमान्दारिताका कारण गभर्नरको सो जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने मेरो विश्वास हो ।

० गभर्नर बन्नुभयो भने तपाईंका प्राथमिकताभित्र के–के पर्दछन् ?

केन्द्रीय बैंकका निर्माणाधीन आधुनिक सुविधासम्पन्न भवनहरूको निर्माण कार्य समयमै सम्पादन गरी सञ्चालनमा ल्याउने, नेपाल सरकारले तोकेको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी नीति निर्देशनको निर्माण गर्ने, वित्तीय संघीयताको कार्यान्वयनमा सहयोग गर्ने, सन्तुलित प्रादेशिक वित्तीय क्षेत्र विकास गर्ने, ‘फिनटेक’को प्रयोगलाई प्रोत्साहन गदैैै मुलुकलाई नगदरहित अर्थतन्त्रमा रुपान्तरण गर्ने तथा सोबाट समग्र अर्थतन्त्रको ‘डिजिटाइजेशन’को निम्ति काम गर्ने, विद्यमान वित्तीय क्षेत्रलाई फुर्तिलो केन्द्रीय बैंक, फुर्तिलो वित्तीय संस्था र फुर्तिलो वित्तीय ग्राहक भएको फुर्तिलो वित्तीय उद्योगको रुपमा रुपान्तरण गर्ने र वित्तीय साक्षरतालाई प्राथमिकतामा राख्ने, बैंकको हालसालै कार्यान्वयनमा आएका योजनाहरू जस्तै RTGS, goAML, SIS आदिको सवलीकरण गर्नेलगायत नै मेरो प्राथमिकताभित्र पर्नेछन् ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010