1100×100 Nabil Advert

पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

गण्डकी । पोखरा महानगरपालिका-३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा-१३ ढाँडबेसी र आसपासका फाँट धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ । विगतमा तराई र भारतका स्थानबाट आएका तरबुजा मात्र खाएका पोखरेली यतिखेर आफ्नै गाउँठाउँमा फलेका स्वादिलो तरबुजाको स्वाद लिन पाउँदा दङ्ग छन् ।

 

सुरौदीको तिखे ढुुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले संयुक्तरूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेसीमा ई विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशलगायतले संयुक्त रूपमा लगाएको तरबुजा यतिखेर रोजगारीकै खोजीमा विदेशिएका युवाका लागि पनि दरिलो पाठ बनेको छ । रुद्रगङ्गा कृषि बहुउद्देश्यीय कृषि फर्ममार्फत ढाँडबेसीको १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट लगाएको चार महिनाको अवधिमा नै १५ लाख रूपैयाँ आम्दानी गरिसकिएको ई बरालले जानकारी दिनुभयो ।

 

विगतमा तराई र भारतबाट मात्रै तरबुजा आउने र खाने गरिएकोमा यही क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल बनिएको उहाँले बताउनुुभयो । ‘हामीले लगाएको तरबुजा लटरम्म फलेको छ’, उहाँले भन्नुुभयो, ‘हामीले तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गरिसकेका छौँ ।’

 

पोखरा महानगरपालिका-३३ सुरौदी फाँटको तिखेढुुङ्गामा अगुवा कृषकद्वय ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा लगाउनुुभएको छ । उहाँहरूले लगाएको तरबुजा अबको केही दिनमा नै बजारमा आउने कृषक रमेश आचार्यले बताउनुुभयो । उहाँहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाउनुुभएको छ । पोखरा-१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाउनुुभएकोमा झण्डै ६०० किलोग्राम बिक्री गरिसक्नुुभएको छ । उहाँको लक्ष्मी बराल एग्रोफर्ममा फलेको तरबुजा बजारमा माग अत्याधिक रहेको उहाँले जानकारी दिनुुभयो ।

 

पोखराकै हेमजामा द अम्मट बिचमा रमेश कार्कीले तीन रोपनी क्षेत्रफलमा लगाउनुभएको तरबुजा राम्रो फलेको छ । उत्पादन हेर्दा यस क्षेत्रमा राम्रै तरबुजा फलाउन सकिने देखिएको कार्कीले जानकारी दिनुभयो । विगतका वर्षमा सामान्य परीक्षणको रूपमा १०-१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको तरबुजा खेती यस वर्ष भने २०० रोपनी क्षेत्रमा विस्तार गरिएको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

 

तरबुुजा खेतीका लागि महानगरपालिकाले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको उहाँले जानकारी दिनुुभयो । महानगरपालिका-१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको जानकारी दिँदै उहाँले स्थानीय रूपमा उत्पादित तरबुजाको स्वाद पनि निकै मीठो रहेको बताउनुभयो । पोखरामा यस वर्ष करिब ४०० टन (लगभग दुई करोड रूपैयाँ बराबर) को तरबुजा उत्पादन भएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी दिनुभयो ।

 

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तरबुजा मेला

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ पोखरामा बिहीवार तरबुजा मेला २०८२ गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा-१३ को व्यवस्थापन र पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा सञ्चालित मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान-प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविरसमेत सञ्चालन गरिएको पोखरा महानगरपालिका-१३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । कृषकको मेहनत र पसिनाको फललाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको बताउँदै उहाँले कृषि उत्पादनमा प्रोत्साहन गर्दै आत्मनिर्भरता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

 

पोखरामा नै फल्यो करिब आठ किलो तौलको तरबुजा
मेलाका अवसरमा ल्याइएका तरबुजामध्ये पोखरा-३३ सुरौदीको तिखेढुङ्गमा लगाइएको तरबुजा एउटैको सात किलो ८६० ग्राम तौलको पाइएको छ । प्रदर्शनीमा कृषि फर्म तथा व्यक्तिगत रूपमा तरबुजा खेती गर्नेहरूका उत्पादनलाई तौल गरिएकोमा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले तिखेढुङ्गामा लगाउनुभएको तरबुजा सबैभन्दा बढी तौलको प्रमाणित गरिएको हो । मेलाका अवसरमा ठूलो तौलको फलाएवापत उहाँहरूलाई पाँच हजार रूपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

 

त्यस्तै मेलामा गरिएको तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ पहिलो र दोस्रो बन्नुुभएको छ । उहाँहरूलाई पुरस्कारस्वरूप नौ किलोग्राम र छ किलोग्राम तरबुजा पुरस्कारस्वरूप प्रदान गरिएको थियो । त्यस्तै प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने मणिद्विप कृषि फर्म पोखरा १३ आर्वाका श्रीधरलाल बराल र रोशन बराल प्रथम बन्नुभयो भने पिपलडाली पशु तथा कृषक समूह पोखरा २८ का शोवितबहादुर अधिकारी दोस्रो बन्नुभयो । त्यस्तै सूर्यचन्द्र कृषक समूह पोखरा १३ दुइकुलाको मुहानका विश्वराज सापकोटा तेस्रो र चण्डेश्वरी कृषि सहकारी संस्था लिमिटेड पोखरा १३ साझाका रामकाजी बरालले सान्त्वना स्थान प्राप्त गर्नुभयो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने फर्मलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रूपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित समय ०९:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु