1100×100 Nabil Advert

बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन शुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन शुरु गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ-गाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।’ कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाईसराई रोकिने उहाँको भनाई छ ।

 

प्रमुख खाँणले मेहनत गरेअनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको बताउनुभयो । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उहाँको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खाँणले बताउनु भयो । वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनु भयो ।

 

१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थितिसहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । वालिङ कृषि विकास परियोजनाको सम्झौताअनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उहाँको भनाई छ । छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी, डा.अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाल लगायतले कृषि विकास रणनीतिको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

 

कृषि विकास योजना र रणनीति निर्माणपश्चात पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डा.रामचन्द्र बस्ताकोटीको भनाई छ । उहाँले भन्नुभयो, ‘काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।’

प्रकाशित समय १७:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु