नेपालले कतारबाट आर्थिक लाभ लिनै सकेन (अन्तर्वार्ता)
नेपालीहरु विश्वका विभिन्न मुलुकमा गएर कार्यरत रहिरहे पनि उनीहरुको मन भने नेपालमै हुन्छ । कसरी नेपाललाई समृद्ध बनाउन सकिन्छ, नेपाल पनि अन्य देशझैं विकसित भइदिए हुन्थ्यो, नेपालको प्रतिष्ठा अझ उचाईमा पुगिदिए हुन्थ्यो भन्ने मनमस्तिष्कमा बसिरहेको हुन्छ । त्यसैअनुरुपका कामहरु समेत विदेशमा बस्दासमेत गरिरहेका हुन्छन् । त्यस्तैमध्येका एक हुनुहुन्छ प्रोफेसर मोहम्मद रमजान अलि मियाँ । विगत करिब दुई दशकदेखि कतारमा रहेर नेपाल र नेपालीका लागि काम गरिरहनुभएका मियाँ राष्ट्रिय मानवअधिकार आयोग कतारस्थित नेपाली समाज प्रतिनिधि, गैरआवासीय नेपाली संघ कतार तथा नेपाली व्यवसायी संघ कतारको कानूनी सल्लाहकार समेत हुनुहुन्छ । नेपाल र कतारको सम्बन्ध, नेपालले कतारबाट सिक्नसक्ने विषयवस्तु, नेपालसँगको व्यापार घाटा कम गर्न खेल्नुपर्ने भूमिका लगायत विविध समसामयिक विषयवस्तुलाई समेटेर क्रसचेकका सम्पादक टंक कार्कीले प्रोफेसर मोहम्मद रमजान अलि मियाँसँग गरेको कुराकानीको सम्पादित अंश ।
० तपाईको संक्षिप्त परिचय र शिक्षाको बारेमा बताइदिनुस् न ?
मेरो नाम मोहमद रमजान अलि मियाँ । मेरो जन्म काठमाडौंको साविकको डाछी गाउँ विकास समिति र हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ४ मा भएको हो । वि.सं. २०३५ साल साउन १५ गते मेरो जन्म भएको हो । मेरो बाल्यकाल डाछी जोरपाटीमा बित्यो । प्रारम्भिक शिक्षा पनि जोरपाटीमा रहेको श्री पशुपति आदर्श बोर्डिङ स्कूलबाट शुरु भयो । मैले श्री सरस्वती पूर्व प्राथमिक विद्यालयमा कक्षा २ सम्मको अध्ययन गरें । त्यसपछि अरु दुई वर्ष अर्थात कक्षा ४ सम्म श्री पशुपति आदर्श बोर्डिङ स्कूल बौद्धमा अध्ययन गरे । अघि बढ्ने क्रममा सन् १९९० मा जल्पापुरमा रहेको एउटा इस्लामिक विद्यालयमा २ वर्षको लागि मेरो धार्मिक शिक्षाका लागि भर्ना भएँ । त्यहाँ इस्लामिक र अरबी आधारित शिक्षाको ज्ञान लिएँ । सन् १९९२ मा म त्यहाँबाट फर्किएँ । त्यसपछि पुनः काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद प्रांगणमा रहेको मदरसा इस्लामिक स्कूलमा २०५२ सालसम्म कक्षा ७ सम्मको त्यहाँ अध्ययन गरें । त्यसपछि म पूर्ण छात्रवृत्तिमा पाकिस्तानको कराँचीमा रहेको एउटा इस्लामिक युनिभर्सिटीमा अध्ययनका लागि गएँ । सन् २००३ मा त्यहाँबाट विद्यावारिधि गरें इस्लामिक स्टडी र अरबिक साहित्यमा । त्यहाँ मैले प्रमाणपत्र पाउनका लागि एक तहको अध्ययन सम्पन्न गरें । त्यसपछि मैले अनलाइन अध्ययनहरु पनि गरें । केही अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुले मानार्थ विद्यावारिधिको उपाधि पनि दिएका छन् । विभिन्न क्षेत्रमा गरेको योगदानका लागि उनीहरुले यस्तो सम्मान दिए । मैले शिक्षा र मानवअधिकाका क्षेत्रमा काम गरेको छु । सन् २००७ बाट अहिले सन् २०२४ सम्म निरन्तररुपमा कतारमा श्रम गरिरहेको छु । जब सन् २००३ मा मेरो विद्यावारिधि सकियो त्यसपछि नेपाल फर्किएँ । विभिन्न अध्ययन अनुसन्धानका लागि नेपालमा आउने विद्यार्थीका लागि असिस्टेन्ट प्रोफेसरका रुपमा पनि मैले काम गरें । एकजना छात्रा अहिले पनि अमेरिकामा प्रोफेसर छिन्, डा. मेगनसन आदम्सन सिजापती । उनी नेपालमा अरबी भाषा र त्यसको प्रवद्र्धन र नेपाली इस्लामहरुको इतिहासको अध्ययन गर्नका लागि आएकी थिइन् । उनलाई मैले निरन्तररुपमा ३ वर्षसम्म असिस्ट गरें । त्यसपछि उनले विद्यावारीधि उपाधि हासिल गरिन् ।

० तपाईंले अरबी भाषा र साहित्य अध्ययन गर्नुभयो, तर नेपालमा त्यसको प्रयोग त खासै हुँँदैन नि ?
मैले अरबी भाषा र साहित्य पढेको थिएँ । तर त्यसलाई व्यवहारिकरुपमा प्रयोग गर्न पाइरहेको थिइनँ । अरबी साहित्य पढेको भए पनि त्यस्तो वातावरण देख्न पाएको थिइनँ । पाकिस्तान उर्दु भाषीहरुको देश हो । त्यहाँ उर्दु धेरै बोलिन्छ । म जहाँ पढ्थें, त्यहाँ ५१-५२ देशका विद्यार्थी थिए । अरबी अध्ययन गरिसकेपछि अरबी साहित्य बुझ्न जरुरी थियो । भाषाको गहिराइसम्म पुग्नका लागि पनि आवश्यक थियो । सन् २००७ मा वास्तवमा कतार एउटा भिजिटको लागि पुगेको थिएँ । कतार जानुभन्दा पहिला म बहराइनमा थिएँ । त्यहाँ रहेका नेपालीहरुलाई मैले अध्यापन गराउने गरेको थिएँ । त्यहाँको बसाई एक वर्षमात्रै भयो । त्यसपछि म कतार पुगे । त्यहाँ पुगिसकेपछि त्यहाँको दुतावासमा एउटा भ्याकेन्सी खाली रहेछ । त्यो बेला त्यहाँको कार्यवाहक राजदूत हुनुहुन्थ्यो रामकाजी खड्का । त्यहाँ मैले उहाँको स्वकीय सचिव र सल्लाहकारको रुपमा एक वर्ष काम गरें । त्यो बीचमा मैले त्यहाँका स्थानीय पत्रपत्रिकामा लेखहरु लेख्ने गरेको थिएँ । जसको कारणले त्यहाँको सरकारले मलाई बोलायो । तिमी आफूलाई नेपाली भन्छौ, अरबी साहित्य लेखिरहेका छौ । नेपालीको समस्याका विषयमा पनि लेख्छौ । यो के हो भनेर उनीहरुले मलाई प्रश्न गरे ? त्यहाँ लामो छलफलपछि मलाई कन्सल्टेण्टको रुपमा रहन दिने कुरा भयो । त्यसपछि त्यहाँको गृहमन्त्रालयअन्तगर्तको जनसम्पर्क विभागमा रहेर सन् २०१४ सम्म काम गर्ने मौका मिल्यो । त्यो समयमा म कतारको ऐन, कानूनका साथै अरबी भाषामा पनि निरन्तर लागें । त्यो बीचमा केही पुस्तकहरु पनि लेख्ने मौका पाएँ । अहिले पनि त्यो क्रम जारी नै छ । कतारमा रहँदा कतारसम्बन्धी केही पुस्तकहरु पनि लेख्न थालें । कतारसम्बन्धी पुस्तकैमात्रै मैले ११ वटा लेखेको छु । त्यहाँको श्रम ऐन छ, अध्यागम, ट्राफिक कानून, आवासीय कानून छ, इस्लामिक कानून छ, त्यहाँको मानवअधिकारको अवस्था, नेपाली श्रमिकले पाउने अधिकारका विषय पनि समेटेर पुस्तक लेखेको छु ।
० विश्वको उदाउँदो अर्थतन्त्र रहेको कतार नै किन रोज्नुभयो ?
भौगोलिकरुपमा सानो भए पनि कतार विश्वमा उदाउँदो अर्थतन्त्र भएको देश हो । त्यहाँ नेपालीहरुको ठूलो संख्या रहेको छ । कतारमा धेरै आप्रवासी रहेकामध्ये नेपालीको संख्या दोस्रो धेरै रहेको छ । कतारका स्थानीयको जनसंख्या ३ लाख २५ हजार रहेको छ । हामी नेपाली ४ लाखको हाराहारीमा कतारमा रहेका छौं । नेपालीहरु विभिन्न पेशा व्यवसायमा संलग्न रहेका छन् । श्रमिकका रुपमा नेपालीहरु धेरै कतार गएका छन् । मेरो १८ वर्षको कतार बसाईमा मैले त्यहाँ श्रम भन्दा पनि अध्ययन र अनुसन्धान धेरै गरें ।
० तपाईंले ४० वटा पुस्तकहरु समेत लेख्नुभएको रहेछ, ती पुस्तकहरुले चाहिं नेपालीलाई कस्तो फाइदा पुगेको छ ?
कतारमा नेपालीहरुको प्रवेश सन् १९८० को दशकमा भएको देखिन्छ । त्यो समयदेखि सन् २००० सम्म आउँदा त्यहाँ नेपालीको संख्या निकै कममात्रै थियो । त्यो पनि साधारण काममा जानेहरु थिए । त्यो समयमा केही नजानेका सामान्य व्यक्तिहरु मात्रै जाने गरेका थिए । सन् २००० देखि २००६ सम्म अर्को कालखण्ड भयो । त्यो समयमा केही सिप सिकेको नेपालीहरु कतार पुगे । त्यो समयमा नेपालको राजनीतिक अवस्था राम्रो थिएन । त्यसैले धेरै नेपालीहरु सुनौलो भविष्यको लागि विदेश गइरहेका थिए । सन् २००६ मा कतारले सानो देश हुँदा पनि एशियन खेलकूद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्यो । यो कतारको माइलस्टोनका रुपमा स्थापित भयो । सो प्रतियोगिता आयोजना गरिसकेपछि कतार पूर्वाधार विकासमा लाग्यो । सन् २०१० सम्म पनि नेपालीहरु कतारमा करिब २ लाखको हाराहारीमा थिए । त्यसपछि कतारले विश्वकप फुटबलको महाकुम्भ आयोजनाको जिम्मा पायो । जसले गर्दा उसलाई कामदारको माग धेरै भयो । त्यहाँ काम गर्नका लागि विभिन्न क्षमता र दक्षता भएकादेखि आफैंले व्यवसाय गर्नका लागि पनि नेपालीहरु कतार पुगे । केही उच्च घरानाहरु पनि विश्वकपकै लागि त्यहाँ पुगे । नेपाली भाषाका पत्रपत्रिकाहरु पनि त्यहाँ प्रकाशित हुन थाले । नेपाली डाक्टरहरुको पनि उपस्थिति देखियो । त्यहाँको सुरक्षा निकायमा पनि नेपालीहरु सहभागी भए । यो बीचमा कतारमा नेपालीहरुको जनसंख्या धेरै भयो । समस्या त जहाँ पनि हुन्छ । कतार निकै सानो छ । २ घण्टामा पुरै कतार घुमेर सकिन्छ । सानो देश भए पनि त्यहाँ रहेका नेपालीहरुले विभिन्न समस्याहरु भोग्नु पर्यो । मनि एक्सचन्जहरु पनि थिएनन् । पैसा पठाउनका लागि समस्या थियो । एउटा नेपाल आउने व्यक्तिले डलर नै दिएर पठाउनु पर्ने वा सुन नै दिएर पठाउनु पर्ने अवस्था थियो । कोही व्यक्ति नेपाल आउँदैछ भन्ने थाहा भएपछि पठाउने चलन थियो । त्यहाँ एउटा बिस्मिल्लाह चोक र नेपाली चोक थियो । नेपालीहरुले नामाकरण गरेको चोक हो त्यो । त्यो चोकमा चिज वस्तुहरु आदान-प्रदान हुने गरेको थियो । त्यो दुःख बिसाउने एउटा छहारी थियो । त्यसलाई एउटा चौतारोको रुपमा पनि स्थापित गरे नेपालीहरुले । समस्याहरु थिए, नयाँ ठाउँ, नयाँ परिवेश, विभिन्न देशबाट विदेशीहरु आउने क्रम थियो । कतारले आफ्नो स्ट्रक्चर पनि विकास गर्नुपर्ने थियो । जसले गर्दा त्यो समयमा कतारमा नेपालीहरुले दुःख पनि पाए । अनायासमै जीवन गुमाउने नेपालीहरु पनि धेरै भए । सुतैकै ठाउँमा निधन हुनेदेखि सडक दूर्घटनामा पर्ने क्रम त्यो समयमा धेरै भयो । त्यसपछि त्यहाँ बहुराष्ट्रिय कम्पनीहरु पनि स्थापना भए । त्यस्तै भनेजस्तो तलब नदिने, तलब ढिला दिने, राहदानी पनि आफैसँग राख्ने जस्ता समस्याहरु पनि देखिए । जब कतारले फिफा विश्वकप गर्ने पक्का भइसकेपछि त्यहाँको श्रम ऐनमा व्यापक संशोधन गरियो, परिमार्जन भयो । जसले गर्दा त्यहाँ गएका नेपालीहरुलाई सहयोग पुग्यो । कतारमा नेपाली साहित्य सम्बन्धी ४ वटा संस्थाहरु रहेका छन् । इञ्जिनियरको संख्या पनि ४ सयभन्दा बढी छ । डाक्टरहरुले पनि आफ्नै क्लिनिक पनि चलाएका छन् । कान्तिपुर क्लिनिक अहिले पनि हामी सुन्छौं । लाइफलाइन भन्ने मेडिकल थियो । जहाँ नेपाली डाक्टरहरु नै थिए । यो किन भनेको भने कतारका हरेक क्षेत्रमा नेपालीहरुको उपस्थिति देखियो । अझै भनौं कतारका कण–कणमा नेपालीहरु भेटिन थाले ।
बस्दै गर्दा सबैका केही न केही समस्या हुन्छ । एउटा परिवारमा त समस्या हुन्छ भने पछि कतारमा हाम्रो समुदाय नै थियो । तर, अन्तर्राष्ट्रिय दबाब पनि कतार माथि भयो । जसले गर्दा पुराना कानूनहरु सबै खारेज भए । पासपोर्ट श्रमिकले आफैंले राख्न पाउने, विनाअनुमति एक्जिट हुन पाउने, तलब बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने, कुनै समस्या परे श्रम अदालतको वा विभागको स्थापना, मानवअधिकार आयोग, विभागहरु पनि स्थापना भए । त्यस्तै मानवअधिकार सेलको पनि स्थापना भयो । यसले गर्दा के भयो भने राजदूतावासलाई पनि चुस्तदुरुस्त बनाउनका लागि सहयोग मिल्यो । शुरुका दिनमा राजदूतावासले पनि काम गर्न सकेन । पछि दूतावासमा जनशक्ति वृद्धि भयो । बजेट पनि सोहीअनुसार सरकारले व्यवस्था गरेपछि दूतावास ठूलो भवनमा सर्यो । जसले गर्दा राहदानी बनाउने, डाटा संकलन गर्ने, जनचेतनामूलक कार्यक्रमहरु पनि गर्न थालियो । गैरआवासीय नेपाली संघको पनि त्यहाँ उपस्थिति रहेको छ । यहाँसम्मकी कतारमा नेपाली व्यवसायीहरु यति धेरै भए कि नेपाली व्यवसायी संघ कतारको स्थापना सन् २०१९ मा भयो । अहिले पनि नेपालका करिब २ हजारभन्दा बढी व्यक्तिहरु कतारमा व्यवसाय गरिरहेका छन् ।

० कतारको नागरिकता पाउन र व्यवसायी बन्नचाहिं कस्ता शर्तहरु पूरा गर्नुपर्छ ?
कतारले आफ्नो नियम कानून परिवर्तन गर्यो । कतारी नागरिकता पाउनका लागि केही शर्तहरु राखेको छ । यसको लागि लगाताररुपमा २० वर्ष कतारमा बसेको, कतारमा नै जन्मेका नेपाली वा अरु देशका नागरिकको हकमा लगाताररुपमा १० वर्ष कतारमा बसेको, अरबी भाषामा पोख्त हुनुपर्ने र तेस्रो त्यहाँ कुनै लगानी भएको हुनुपर्ने व्यवस्था रहेको छ । दैनिकी चलाउने स्रोत छ र उ कसैप्रति आश्रित छैन भने उसले कतारको नागरिकता पाउन सक्छ । यी सबै मापदण्ड पूरा गरेका सय जनालाई कतारले हरेक वर्ष त्यहाँको नागरिकता दिने गरेको छ । अहिले फेरि कतारको विकासमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई पनि मानार्थ नागरिकता दिने गरेको छ । तर जुन पिआरको कुरा छ, त्यो सामान्य नागरिकले भने पाउँदैनन् । यसका अलावा कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने हुन्छ । कतारमा चेक बाउन्सको विषयलाई पनि निकै ठूलोरुपमा लिइन्छ । ट्राफिक दूर्घटनालाई पनि निकै ठूलोरुपमा हेरिन्छ । कसैको ज्यान जाने गरी सवारी दूर्घटना गराएको वा देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेका विषयहरु छन् भने पनि त्यहाँको नागरिक बन्न नसकिने भयो । व्यवसाय गरेर बस्नेहरु सामान्य कामदारका रुपमा गएकाहरु नै छन् । गोरखाका बद्री पाण्डे र हाल आएर झापाका महेन्द्रप्रसाद चौलागाई जो नेपाली व्यवसायी संघ कतारको अध्यक्ष पनि हुनुहुन्छ, उहाँहरु अब अग्रज व्यवसायीको स्थानमा पुगिसक्नुभएको छ । महेन्द्रप्रसाद चौलागाईले त विना कतारी पार्टनर नै एकल रुपमा व्यवसायिक गतिविधि गर्न कानूनी अधिकार प्राप्त गरिसक्नुभएको छ । तथापि कतारमा व्यवसाय गर्ने केही नेपालीहरुले बीचमा छोड्नु पनि भयो कोरोना लगायतका कारणले गर्दा । अर्कोतर्फ कतारमा विश्वकप भइसकेपछि पूर्वाधारका क्षेत्रमा गर्नुपर्ने कामहरु रहेनन् । जुन प्रकृतिको नेपालीहरुले व्यवसाय गरिरहेका थिए, त्यो जुन रफ्तारमा अघि बढ्नु पर्ने हो, त्यस्तो हुन सकेन । जसले गर्दा कतारमा व्यवसाय गरिरहेकाहरु पनि कतिपय नेपाल फर्किए । उहाँहरुले नेपालमा आएर विभिन्न क्षेत्रमा लगानी पनि गर्नु भएको छ । जस्तो जलस्रोतमा लगानी गरेको अवस्था छ । त्यस्तै शिक्षा, भौतिक पूर्वाधारको क्षेत्रमा पनि लगानी गरेको अवस्था छ । यसरी हेर्दा कतार गएर काम गरेकाहरु सम्पन्नशाली भएर फर्केको अवस्था पनि छ ।
० कतार र नेपाललाई चिनाउने कुरामा यहाँको भूमिका महत्वपूर्ण छ, कतारको विकासलाई यहाँले कसरी हेर्नु भएको छ ?
नेपाल र कतारबीच वैदेशिक लगानी, आयात-निर्यात, श्रमका क्षेत्रमा समझदारीहरु १९ कै दशकमा भएको पाइन्छ यद्यपि श्रम सम्झौता लगायतका थुप्रै सम्झौताहरु सन् २००० पछि भएका छन् । दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको पनि ४५-४६ वर्ष पूरा भएको छ । कतार नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुक पनि हो । कतारमा नेपालीको आवत-जातव निकै बढिरहेको छ । हाम्रो तेस्रो पुस्ता कतार पुगिसकेको अवस्था छ । ८० को दशकमा हजुरबुबा हुनुहुन्थ्यो, २००० को दशकमा बुबा पुस्ता कतार गयो । त्यसपछिको समयमा अहिले नाति पनि कतार पुगिसकेको अवस्था छ । अर्को भनेको जुन १९९० देखि २०१० को समयमा कतार गएर फेरि अन्य देशमा रोजगारीका लागि गएर पुनः कतार नै पुग्ने जमात पनि छ । यसले गर्दा पनि नेपाल मिनि नेपाल भन्न उचित होला । कतारमा काम गरेर फर्किने अनि दुबई, साउदीलगायत देशमा गएर फेरि कतार नै फर्किने पनि छन् । भौगोलिकरुपमा सानो भए पनि प्राकृतिक ग्याँसको हिसाबले अपार भण्डारण रहेको हुनाले कतारको कूल ग्राहस्थ उत्पादन (जीडीपी) अहिले करिब १८९ विलियन अमेरिकी डलर रहेको छ । जुन विश्वको ५५औं ठूलो अर्थतन्त्र हो । सानो राष्ट्र भए पनि निकै ठूलो अर्थतन्त्र रहेको छ । कतार नेपालको वागमती प्रदेशभन्दा पनि सानो छ । आफ्नो देशको नागरिकको संख्या त्यहाँ करिब ३ लाख रहेको छ । सबै विदेशी समेत जोड्दा त्यहाँको जनसंख्या ३० लाखको हाराहारीमा रहेको छ । जबकी हाम्रो काठमाडौंमा नै ५०-५५ लाख जनसंख्या रहेको छ । त्यहाँको पूर्वाधार निकै अपत्यारिलो छ । एउटा विकसित राष्ट्रले ५० वर्षमा गर्न नसक्ने विकास कतारले पछिल्लो १० वर्षको अवधिमा गरेको छ । यो १० वर्षमा कतारले भौतिक पूर्वाधारदेखि लिएर मेट्रोसम्मको विकास गर्न सफल भयो । छोटो समयमा इको फ्रेण्डली रंगशालाहरु निर्माण गरेर विश्वलाई चकित पार्नेगरी विश्वकप आयोजना गरेर कतारले सबैलाई अच्चम नै पारेको अवस्था छ । यसमा नेपालीको योगदान निकै ठूलो छ । नेपालीहरु कतारको श्रमिक भन्दा पनि कतारको विकासको साझेदार हुन् । हामीहरु उनीहरुको पार्टनरका रुपमा रहेका छौं । मित्र राष्ट्र भए पनि कतारबाट नेपालले वैदेशिक रोजगारी प्रमुख गन्तव्य मध्येको एकबाहेक अन्य आर्थिक लाभ खासै लिन सकेको छैन । यो तथ्यांकले देखाएको कुरा हो । रोजगारीका लागि भने नेपालबाट बार्षिक करिब २० देखि ३० हजार मानिसहरु कतार पुगेको अनुमानित तथ्यांक रहेको छ । जसबाट वार्षिकरुपमा अर्बौं रेमिट्यान्स आउँछ । जसले नेपाल नै धानेको छ भन्दा हुन्छ । अरब राष्ट्रहरुमध्ये कतार एक मुख्य रोजगार गन्तव्य मुलुक हो । कतारमा रहेका नेपालीहरु सफल र सबल पनि भएका छन् । यसरी हेर्दा उनीहरुले नेपालीलाई सम्मानका साथ हेरिरहेका छन् । समस्या जहाँ पनि हुन्छ । कतारको कानूनले विभेद गरेको छैन । हामीले कानून हेर्ने हो । त्यहाँ अरु विदेशीले नेपालीलाई कसरी हेर्छन् त्यो भने भन्न सकिंदैन । तर स्वयं कतार र त्यहाँको सरकारले भने नेपालीलाई सम्मानका साथ हेरेको छ । नेपालीका लागि उनीहरुले छुट्टै कानून बनाउने कुरा पनि भएन । यद्यपी कतारीहरुले नेपाली इमानदार र सोझा हुन्छन् भनेर भन्ने गरेका छन् । कर्मठ र लगनशील हुन्छन् भन्ने कुरा कतारीहरुले गर्छन् । नेपालीहरुप्रति उनीहरुको सम्मान छ । त्यो नेपालीहरुको व्यवहारले पुष्टि गरेको कुरा हो । अर्कोतर्फ नेपालीको बहादुरीपनको पनि त्यहाँ खुबै चर्चा हुने विषय हो । तर, पछिल्लो समयमा केही समस्याहरु भने देखिएका छन्, पुस्तान्तरणका कारणले । कतारको सुरक्षा निकायमा पनि नेपालीहरु गइरहेका छन् । त्यहाँको प्रहरी, सेनामा समेत नेपालीहरु गएका छन् । कोही त्यहीं जन्मेका नेपाली र कोही नेपालबाटै गएकाहरु पनि सेना प्रहरीमा सहभागी भएका छन् । कतारलाई विश्वकप आयोजना गर्नुभन्दा पहिले नाकाबन्दी थियो । उसलाई छिमेकी देशबाट चुनौती थियो । त्यो चुनौतीलाई सामना गर्नका लागि उसले विदेशी सुरक्षाकर्मी लिएर आउने निर्णय गरेको थियो । त्यसको पहिलो नम्बरमा नेपाली थिए । नेपाली गार्खाका रुपमा परिचित थिए । जसले गर्दा कतारको पहिलो रोजाइमा परेका थिए । नेपालबाट ५ हजार सुरक्षाकर्मी लिएर जाने भन्ने थियो । तर नेपालको कानूनका कारणले गर्दा केही समस्या भयो । पूर्वस्वीकृति, अन्तिम स्वीकृति, विज्ञापन जस्ता लामो प्रक्रिया भएकाले त्यति मात्रामा नेपालीहरु जान पाएनन् । त्यहाँ उनीहरुले विदेशी श्रमिककै रुपमा सेनामा, प्रहरीमा भए पनि विदेशीलाई ३ वर्षको सम्झौता गरे । सेवा सुविधाको कुरा गर्दा एउटा सामान्य सुरक्षाकर्मीको पनि ५-६ हजार रियाल वति तलबभत्ता रहेको छ । जुन नेपाली २ लाख भन्दा बढी हुन आउँछ । भनेपछि त्यहाँ सेनामा जुन काम गर्छन् एक त त्यहीं जन्मेका नेपालीहरु भए । उनीहरु त्यहीं जन्मे, बढे र पढे । कतारको सेना प्रहरीका लागि पहिलो कतारी, दोस्रो कतारमा जन्मेर हुर्केका विदेशी, अर्को कतारमा नै बसेर चेञ्ज गरेकाहरु छन् । कुनै पनि क्षेत्रमा काम गरेर पछि परिवर्तन गरेकाहरु पनि छन् । त्यहाँको विभिन्न क्षेत्रमा काम गरेर । जस्तै लजिस्टिक, सेवाप्रदायक, सामान्य कामदारको रुपमा पनि छन् ।

० कतारबाट नेपालले के सिक्न सक्छ ?
कतारबाट नेपालले जति लाभ उठाउन सक्नु पर्ने हो त्यो उठाउन सकेको भने छैन । यसका विभिन्न कारणहरु छन् । एउटा कारण के हो भने हाम्रोमा रहेको नियम कानून । हाम्रो कानून, नियम, ऐनहरुमा उनीहरुले जटिलता महशुस गरेका छन् । लगानीको सुरक्षाको पनि कुरा आउँछ । हाम्रामा रहेका ट्रेड युनियनहरु, विभिन्न संघ-संस्थाहरु, सुरक्षाको हिसाबले पनि उनीहरु अहिले पनि सुरक्षित महशुस गर्न सक्ने अवस्थामा छैनन् । उनीहरुमा अहिले पनि ‘डाउट’ नै छ । पछिल्लो पटक कतारी राजाको नेपाल भ्रमण भयो । त्यो भ्रमणबाट कतारमा रहेका नेपालीहरुले ठूलो आशा गरेका थियौं । तर त्यो आशा अलिकति निराशामा परिणत भएको पनि देखिन्छ । यद्यपि कतारी राजालाई नेपाल ल्याउन सक्नु नेपालको ठूलो कूटनीतिक उपलब्धी हो भन्ने म ठान्छु । मध्यपूर्वबाट पहिलो भिभिआईपी कतारबाट नेपाल आउनु भनेको सामान्य कुरा होइन । हामीले उहाँलाई जाँदै गर्दा उपहारस्वरूप २-४ विलियन रियालको राष्ट्रिय गौरवको योजनाको झोला भिराएर पठाउनुपर्ने थियो । नेपालमा तपाइँका लागि यो अवसर छ भनेर । जुन कुरा हामीले गर्न सकेनौं । त्यहाँनेर हाम्रो चुक भएकै हो यो एउटा महत्त्वपूर्ण अवसर थियो । जुन कतारको निम्ति त्यति ठूलो कुरा हुँदै होइन ।
० के हामी कूटनीतिक रुपमा कमजोर भएकै हौं त ?
हामी यसमा कूटनीतिकरुपमा चुकेका नै हौं । कता–कता नेपालीको कूटनीतिमाथि पनि प्रश्न आउँछ । केही ‘ल्याप्सेस’हरु छन् । जुनरुपमा चल्नु पर्ने हो त्यो रुपमा चल्न सकेको छैन । कूटनीति आवेगमा चल्नु हुँदैन र कूटनीतिमा सुस्ताउनु पनि हुँदैन । कूटनीति त १२ महिना, बाह्रै काल निरन्तर एकनाशले चल्नुपर्छ । विश्वमा कहाँ के भइरहेको छ र त्यसले नेपाललाई कस्तो प्रभाव पार्छ भन्ने कुराको जानकारी त्यो निकायसँग हुनुपर्छ । कतारले मध्यपूर्वको द्वन्द्व र विश्वको द्वन्द्वलाई समाधान गर्न मध्यस्तता गरेको कुरा अहिले चर्चामा छ । यो निकै महत्वपूर्ण छ । अलजजिराको महत्व कति ठूलो छ । कतारी राजा र कतारी डेभलपमेन्ट फण्ड जहाँ विभिन्न दैविप्रकोपहरुमा कसरी सहयोग गरेको छ । कोराना भनौं या अन्य विपतमा कतारले गरेको सहयोग हेरौं । मानवीय सहायता कतारले कसरी दिइरहेको छ त, यसलाई हेर्ने हो । कतारले कूटनीतिकरुपमा त्यसरी काम गरिरहेको छ । कतार कूटनीतिको क्षेत्रमा निकै चनाखो छ । तर हामी कतारभन्दा कूटनीतिक क्षेत्रमा निकै पछाडि रहेका छौं । यसमा हिचकिचाउनु पर्ने कारण छैन ।
० तपाईंले विदेशमा गएर अध्ययन अनुसन्धान पनि गर्नुभयो ? कतारले गरेको जस्तो काम गर्नका लागि हाम्रो वातावरण कस्तो छ ?
कुनै पनि देशको विकासका लागि सबैभन्दा पहिलो राजनीतिक स्थिरता आवश्यक हुन्छ । मलाई एकपटक एकजना कूटनीतिज्ञले के भने भने म त्यस्तो व्यक्ति हुँ जो तपाईको समकक्षीसँग कुरा गर्दा तेस्रो व्यक्तिसँग डिल गर्दैछु । मेरो कार्यकालमा तीन जना समकक्षीसँग मेरो कुरा भइरहेको छ । एउटासँग एउटा विन्दूसम्म कुरा गर्यो, ऊ परिवर्तन हुन्छ, फेरि अर्को व्यक्ति आउँछ । फेरि शून्यबाट शुरु गरिन्छ । एक विन्दुमा पुगेको हुन्छ, फेरि अर्को व्यक्ति आउँछ । कतारले नेपालले प्रारम्भिक रुपमा ५ मिलियनको ‘एजुकेसन एभव द अल’ कतार फाउण्डेसनको एउटा हाँगा हो त्यो । त्यो संस्थाले विश्वमा शिक्षाको विकासबाट पिछडिएका क्षेत्रमा लगानी गर्ने गर्छ । अहिले म आफंै पनि विभिन्न सभा-सेमिनारमा भाग लिन जान्छु । कतारमा कार्यक्रमहरु भइरहेका हुन्छन् । अहिले हामी नेपालको छैटौं शिक्षा मन्त्रीसँग डिल गरिरहेका छौं । हामीले त्यो फण्ड लिन सकिरहेका छैनौं । एउटै कामको लागि निरन्तररुपमा लागिरहेका छौं । आऊ तिमिहरु लैजाऊ भन्दा पनि यस्तो गाह्रो अवस्था छ । अहिले साढे ७ मिलियम डलर भइसकेको छ । अब त्यो बढाएर १०-१५ मिलियम डलर पुग्छ । अन्य देशहरुले हस्ताक्षर गरेर लिएर कार्यान्वयन गर्न थाल्दा पनि हामीले भने प्रक्रिया नै पुर्याउन सकेका हुँदैनौं । अहिलेसम्म हामीले त्यसबाट केही पनि लिन सकेका छैनौं । पछिल्लो शिक्षामन्त्री सुमना श्रेष्ठसँग पनि कुरा गरें । उहाँभन्दा पहिले एउटा फाइन नै अघि बढेन । अर्को फाइलको अवस्था नै उहाँबाट लुकाइयो भन्ने आयो । बल्लतल्ल फाइल पाइयो तत्पश्चात समयमा कागजात तैयार नहुना र हाम्रोतर्फबाट समयमा जवाफ नजाँदा त्यो समझदारी-पत्रमा हस्ताक्षर गर्ने समय नै बितेर गयो । परराष्ट्र मन्त्रालयमा बुझ्दा फाइल नै आएको छैन भन्ने जवाफ पाएँ । यो देख्दा हाम्रा निकायहरु बीच सहकार्य र सुूना आदानप्रदानको निकै ‘ग्याप’ रहेको देखिन्छ।
त्योभन्दा पहिले तत्कालिन प्रधानमन्त्रीसँग कतारमा अति कम विकसित देशहरुको सेमिनारमा भाग लिंदा एमओयु गर्नुपर्ने थियो । तर नेपालमा राष्ट्रपतिको चुनाव भएकाले नेपालबाट प्रधानमन्त्री जान सक्नु भएन । जब कि त्यसको अध्यक्षता नै नेपालले गर्नुपर्ने थियो । त्यतिबेला हाम्रो प्रधानमन्त्री जान सक्नु भएन । त्यसको कारण हो राजनीतिक अस्थिरता । जसले गर्दा त्यो हस्ताक्षर हुन सकेन । भौतिक पूर्वाधारमन्त्री जानुभएको थियो तर हस्ताक्षर भने हुन सकेन । अरु देशका राष्ट्र प्रमुख वा परराष्ट्र मन्त्रीले हस्ताक्षर गरे, तर हाम्रो भने के मिलेन कता के भयो बुझ्नै गाह्रो भयो । कतारबाट नेपालको उर्जाको क्षेत्रमा नेब्रास पावर कम्पनीले यहाँ कम्पनी दर्ता पनि भयो । लगानी बोर्डमा दर्ता पनि भयो र उसले पश्चिम सेती बनाउने भनेको थियो । आखिर त्यो पनि लिन सकेन । बुढीगण्डकीमा कतारको नजर थियो त्यो पनि हुन सकेन । किन हुन सकेको छैन भने एउटा व्यक्तिसँग डिल हुन्छ अर्को व्यक्ति आउँदा त्यो हुन सक्दैन । सबैको इन्ट्रेष्ट जोडिएको हुन्छ । छिमेकीलाई बदल्न सकिंदैन । छिमेकीलाई सन्तुलनमा राख्न नसक्नु हाम्रै कमजोरी जस्तो लाग्छ । हामीले अरुलाई दोष दिनुभन्दा पनि आफ्नो इतिहासलाई हेर्नुपर्ने हुन्छ । हाम्रो इतिहासबाट यहाँसम्म आइपुग्दा झन्झ-न् कमजोर बन्दै गएका छौं । कतारको जस्तै नेपालले पनि विकास गर्न सक्छ । किन गर्न सक्छ भने कतारसँग अथाह ग्याँस र पेट्रोल रहेको छ । तर, हामीसँग जल र जमिन छ । हामीसँग सोझा जनता छन् र जडिबुटी पनि छ । हामीसँग जंगल पनि छ । हामीसँग पाँच पाँचवटा प्राकृतिक स्रोतहरु छन् । दोस्रो कुरा यसको सही सदुपयोग गर्न सकिएको छैन । हामीले यसको महत्वलाई बुझ्नै सकेनौं । एकतर्फ प्राकृतिक स्रोतलाई चिन्न सकिएन भने अर्कोतर्फ सही सदुपयोग पनि गर्न सकेनौं हामीले । भारतीय प्रधानमन्त्रीले नेपालको जवानी र जल खेर गइरहेको भन्ने कुरा गर्नु भएको छ । जुन एकदमै सही हो । हाम्रोमा जुन पानी कलकल बगिरहेको छ यो पानी हेर्नका लागि पनि विदेशीहरु लालायित भएको अवस्था छ । यो पानीको उपयोग त धेरै माथिको कुरा भइहाल्यो । अर्को कुरा हाम्रोमा भएको जंगललाई पनि हामीले प्रयोग गर्न सकेका छैनौं । हरियो वन नेपालको धन भन्ने कुरा पनि खै त कहाँ धन भएको छ त । एउटा रुख काट्नका लागि पनि समस्या भइरहेको छ । तर त्यो जति काट्यो त्यति बढ्ने कुरा हो । हाम्रोमा भएको रुखलाई पनि हामीले अर्बौंखर्बौंमा बिक्री गर्न सकिन्छ । तर विडम्बनाको कुरा फर्निचर पनि हाम्रोमा आयात भइरहेको छ । म पनि गाउँ जान्छु । त्यहाँका वनमा भएका सालका रुखहरु ढलेर, कुहिएर खेर गइरहेका छन् । तर, त्यसको उपयोग हुन पाएको छैन । यसका लागि नियम, कानूनमा नै परिवर्तन ल्याउन जरुरी छ । मलेशियाले रुखै काटेर फर्निचरको व्यापारमा निकै अघि बढाएको छ । फर्निचरको क्षेत्रमा मलेशिया र चीन निकै अघि बढेका छन् । हाम्रोमा सालका रुखहरु कुहिएर गएको अवस्था छ । के हाम्रा सबै फर्निचर सालको काठबाट बनेका छन् ? छैनन् । काठको धुलोबाट बनेका फर्निचरहरु हामीले प्रयोग गरिरहेका छौं । सालका रुख कुहिएर जाने तर विदेशमा काठको धुलोबाट बनेको प्लाइउडको प्रयोग गर्ने हाम्रो परिपाटीले हामी निकै पछि परेका छौं । तसर्थ हामीले हाम्रो स्रोतको सही पहिचान गरेर त्यसको उपयोग गर्नतर्फ लाग्नुपर्छ । तबमात्रै देशको विकास सम्भव हुन्छ । अर्को कुरा हाम्रो उन्नतिको बाधक भनेको राजनीतिक अस्थिरता हो । हाम्रोमा सञ्चार माध्यम पनि बेलगाम भएका छन् । यो विदेशीहरुले भनेको कुरा हो । राज्यको चौथो अंग भनिएको छ । तर सो अनुसारको काम गर्न सकेको देखिंदैन । गलत सूचनाहरु प्रवाह भइरहेका छन् । नकारात्मक कुरा तत्काल प्रवाह गरिहाल्ने परिपाटी देखिएको छ । नेपालको धार्मिक सहिष्णुताको विषयमा हाम्रो सञ्चार माध्यम किन मौन छ ? विश्वमा कहीं पनि नभएको यस्तो पारस्परिक मैत्रीपूर्ण सम्बन्ध हाम्रोमा रहेको छ । नेपालमा विभिन्न जाति, धर्म, सम्प्रदायका बीचको सदभाव रहेको छ । यस्तो किसिमको सदभाव अन्य देशहरुमा पाइँदैन । हाम्रोमा भएको सगरमाथाको चर्चा जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । अचम्मको कुरा, कतारमा एउटा सेमिनारमा पानीको विषयमा चर्चा भइरहेको थियो । मलाई एउटा पानीको विज्ञले के सोध्यो भने तिमीहरुको नेपालमा रहेको पानीको उमेर कति हो ? पानीको पनि उमेर हुन्छ र ? सगरमाथाको माथिल्लो भागबाट बगेर ढुंगा माटोसँग लडीबुडी खेल्दै आउँदा कति समयपछि त्यो पानी तल आइपुग्दो रहेछ । त्यो पानी पिएपछि त्यसको महत्व हामीले बुझेनौं । त्यो पानीको कुनै मूल्य नै छैन । तर, त्यो पानी अहिले यतिकै बगेर गइरहेको छ । अहिलेको हाम्रो अवस्था यस्तो छ । यसका लागि अहिले कायम रहेका केही नियम कानूनहरु परिवर्तन गरेर प्राकृतिक स्रोत र साधनको सही सदुपयोग गरेको खण्डमा नेपालको विकास छिट्टै सम्भव छ । हामीले यस्तो गर्न सकेको खण्डमा कतारभन्दा पनि अघि बढ्न सक्छौं । २० वर्षमा हामी धेरै अगाडि बढ्न सक्छौं । अहिलेको जनशक्तिले २० वर्ष मेहनत गरेको खण्डमा देशको मुहार फेर्न सकिन्छ । तर विद्यमान अवस्था कस्तो छ भने यहाँ बसेर मेहनत, परिश्रम गर्नुपर्ने व्यक्तिहरु बाहिर गइरहेका छन् । त्यो हाम्रो लागि अझ धेरै खतरनाक कुरा हो । कतार जस्तो बन्नका लागि हामीलाई कुनै कुराले छेकेको छैन तर हामी नै लोप हुँदै गइरहेका छौं ।
० नेपाल-कतार सम्बन्ध र नेपालले खेल्नुपर्ने भूमिका के हुनसक्छ ?
हामीले लामो समय कतारमा बसेर सिकेको भनेको सीप हो । त्यसलाई हामीले सही तरिकाले प्रयोग गर्न सक्नुपर्छ । कतारमा काम गरेर सिप पनि सिकेर फर्केका नेपालीहरुलाई कसरी रोजगारी दिन सकिन्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । उनीहरुलाई रोजगारी दिनका लागि नेपाल सरकारले एउटा ‘स्टार्टअप फण्ड’ निर्माण गर्नुपर्ने जरुरी छ । शुरुमा एक अर्ब नेपाली रुपैयाँ बराबरको कोषबाट शुरु गर्ने हो भने प्राविधिक खोज्नका लागि कतै जानु पर्दैन । किनभने सबै क्षेत्रमा काम गरेका नेपालीहरु अहिले उपलब्ध छन् । अघिल्लो आर्थिक वर्ष २०७९-८० को कुरा गर्ने हो भने कतारबाट १३ अर्ब ३० करोड रुपैयाँको वस्तु आयात भएको देखिन्छ । सोही अवधिमा नेपालबाट कतारमा जम्मा १६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यस अनुसार सो आर्थिक वर्षमा नेपालको कतारसँगको व्यापार घाटा १३ अर्ब १९ करोड रहेको छ । अर्कोतर्फ कतारबाट नेपालमा पेट्रोलियम पदार्थ, ग्याँस, प्लास्टिक, लत्ताकपडा, कच्चा सुन लगायतका वस्तुहरु आयात भएका छन् । नेपालबाट तरकारी, फलफूल, पास्ता, दालमोट, चाउचाउ, पापड, लत्ताकपडा, गार्मेन्ट जस्ता वस्तुहरु निर्यात भएका छन् । यसमा पनि केही समस्याहरु रहेका छन् । सर्वप्रथम हामीसँग समुन्द्री मार्ग छैन । यसले गर्दा हवाइजहाजबाट कतार सामान पठाउँदा निकै महंगो हुने भयो । अर्कोतर्फ कतार पुग्नुभन्दा पहिला हाम्रोमा भन्सारबाट जाने सामानका लागि कोल्डस्टोरको व्यवस्था छैन । सामान भण्डारण गर्ने व्यवस्था छैन । भनेको समयमा उड्ने जहाज हाम्रोमा छैनन् । राष्ट्रिय ध्वजाबाहक जहाजको कुरा गरौं । अरुले त बोक्लान् नबोक्लान् । तर हाम्रो जहाज चाडपर्वको समयमा बिग्रिने, डिले हुने भइरहन्छ । यद्यपि कतार हाम्रो लागि नजिकको महत्वपूर्ण र बहुआयामिक बजार हो । जसका दैनिक ४ वटा जहाज नेपाल अवतरण हुन्छन् । अर्कोतर्फ क्वालिटी र क्वान्टिटीको सन्तुलन मिलाउन नसक्दा पनि हामीले कतारमा बजार विस्तार गर्न सकेका छैनौं । हाम्रोमा प्याकेजिङको कुरा पनि आउँछन् । विषादिका कुराहरु पनि आउँछन् । सरकारले प्रयास नगरेको होइन । साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङको संयुक्त प्रयासमा सरकारले त्यहाँ कम्पनी नै खोलेको हो । तर पछि त्यहाँ सञ्चालन गर्न सकेनन् । त्यहाँ आफ्नो भन्दा अरुको सामान धेरै बिक्री गर्ने गरे । राज्यलाई घाटा व्यहोर्नु पर्ने अवस्था आयो । गोरखाका बद्री पाण्डेको नेतृत्वमा ५१ प्रतिशत कतारको र ४९ प्रतिशत विदेशीको लगानीमा साल्ट ट्रेडिङ स्थापना गरिएको थियो । तर यहाँबाट सामान सही समयमा नपठाउने, कुहिएका-सडेगलेका सामानहरु पठाउने काम गरियो । जसले गर्दा व्यवसाय गर्नका लागि समस्या भयो । किनभने कतारले क्वालिटीमा कतै पनि सम्झौता गर्दैन । कतारीहरुको जीवन निकै विलाशी रहेको छ । उनीहरुको जीवनशैली अहिले जस्तो छ त्यो केही नकमाए पनि १०० वर्षसम्म त्यस्तै जीवन बिताउन सकिने भइसकेको छ । उनीहरुलाई त्यसैअनुसारको गुणस्तरीय सामान बिक्री गर्नुपर्ने हुन्छ । उनीहरुलाई चढ्नका लागि पजेरो, प्राडो नै चाहियो । बस्नका लागि पाँच तारे होटल नै चाहियो । खानका लागि भात नै चाहियो । उनीहरु तनावमुक्त भइसकेका छन् । उनीहरुसँग पैसाको त कुरै नगरौं, कुनै पनि कम्परमाइज गर्दैनन् । उनीहरुका लागि नेपालबाट अलैंची जान सक्छ । नेपालको कफी, चिया, कार्पेट उनीहरुले प्रयोग गर्न सक्छन् । यसको बजार कतार हुन सक्छ । कतारमात्रै भन्दा पनि पुरै मध्यपूर्वमा यी वस्तुको बजार बन्न सक्छ । तर, हामीकहाँका केही पूर्वाधारहरुलाई सच्याउनु पर्ने आवश्यकता देखिन्छ । भन्सारको समस्या रहेको छ । चाडपर्वको समयमा लामो समयसम्म भन्सार बन्द भइदिन्छ । यो त निरन्तर खुल्ला रहनु पर्यो नि । कतारमा पोर्ट बन्द भयो भने के हुन्छ । त्यहाँ पोर्ट विरलै बन्द हुन्छ । वर्षमा ३६५ दिन नै सामान आवत-जावत भइरहेको छ । हमत पोर्ट विश्वको सबैभन्दा ठूलो पोर्ट मध्येको एक हो । त्यसैले नेपालीहरुका लागि एउटा अवसर छ । नेपालमा कतारबाट लगानी पनि आउन सकेको छैन । यसका लागि पनि हामीले पहल गर्नुपर्ने हुन्छ ।
० नेपालको ठूलो व्यापार घाटालाई कम गर्न के गर्न सकिन्छ ?
नेपाल र कतारको व्यापारको अवस्था पनि हाम्रो पक्षमा छैन । यसरी हामीले घाटा कहिलेसम्म व्यहोर्ने त ? त्यो माग हामीले परिपूर्ति गर्न सकेका छैनौं । हाम्रोमा तराइ वा अन्य क्षेत्रबाट फलफूल वा सागसब्जी आउँदा-आउँदै महंगो भइदिन्छ । त्यो चिज यहाँबाट कतार पुग्दा अझ महंगो हुने भयो । यही कुरा अन्य देशहरुले सस्तोमा दिइरहेका छन् । यसरी हेर्दा हामीले दर रेट पनि मिलाउन नसकेको अवस्था छ । सम्भावना निकै धेरै छ । नेपालका हाइजेनिक उत्पादनहरु भन्नेबित्तिकै उनीहरु निकै लालायित हुने अवस्था छ । एक पाउ अकबरे खुर्सानी १६ देखि १८ रियालसम्ममा बिक्री भएको देखेको छु । तर अहिले अकबरे पाउन गारो भएको अवस्था छ । कतारको कुरा छोडौं, नेपालमा नै पाउन गारो भइसक्यो । त्यसैले हामीले १२ महिना नै एउटै गुणस्तरको सामान पठाउन सक्नुपर्छ ।

० नेपालको पानी खाडीमा बिक्री गरेर आम्दानी गर्न कत्तिको सम्भावना छ ?
मेरो एउटा भनाइ के हो भने नेपालको पानी खाडीमा किन नजाने ? नेपालको पानीलाई हामीले चिन्न सकेका छैनौं । हामीले ड्रिङ्किङ वाटर, मिनिरल वाटर के-के भन्छौं । तर जहाँ पेट्रोलमात्रै छ । त्यहाँ त्यो पानी पुग्नै सकेको छैन । पेट्रोल बिना बाँच्न सकिन्छ तर के पानीविना बाँच्न सम्भव छ ? अहिले कतारमा धेरै पानी कम्पनीको स्थापना भएता पनि नेपालको पानीको छुट्टै महत्व छ । फिजीबाट कतारमा पानी आयात हुन्छ । बिडम्बना नेपालले विदेशबाट पानी आयात गर्दो रहेछ । भनेपछि हामीले आफूलाई चिन्न नै सकेनौं । लगानी त आउला । एफडिआईको कुरा खुबै हुन्छ । त्यो आउला । तर कसरी आउने ? नेपालको प्रक्रिया नै निकै झन्झटिलो रहेको छ । यसरी विदेशबाट आउने लगानीलाई छिटोछिटो फास्ट ट्रयाकबाट काम गर्नुपर्ने हो । कतारको लगानी लण्डनमा धेरै छ । त्यहाँका बेलायती नागरिकभन्दा कतारका व्यक्तिहरुको लगानी धेरै छ । हाम्रोमा लगानीको लागि वातावरण नै छैन । नेपाल सम्भावनाको अथाह खानी हो । कतार हाम्रो लागि नजिकको सानो मार्केट हो । कतारमा भण्डारण गरेर त्यहाँबाट युरोप अमेरिका पठाउन सकिन्छ । अफ्रिका पठाउन सकिन्छ । कतारले त्यो अवसर नदिएको होइन । तिमीहरुको सामान यहाँ ल्याएर आउ र भण्डारण गरेर अरु देशमा पठाउ भनेको छ । तर हामीले त्यो गर्न सकेनौं । यस्तो हुनुको मुख्य कारण यहाँको नीतिगत अस्थिरता हो । नीतिगत तहमा हामीले कतारसँग कस्तो व्यापार गर्ने, कसरी गर्ने भनेर योजनाबद्धरुपमा जानुपर्ने आवश्यकता देखिन्छ । कतारमा नेपाल व्यापार संघ पनि स्थापना भएको छ । त्यसले काम नै पाउन सकेको छैन । कसरी नेपालसँग जोड्ने ? चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघसँगको कतारसँग सम्बन्ध छ । हामीले पुलको काम गर्न सक्छौं । कतारमा रहेका व्यवसायी संघसँग यहाँका व्यवसायी संघ-संस्थालाई जोड्ने प्रयासमा हामी छौं । तर, हामीले आफ्नो महत्व बुझेका छैनौं । पहिले महत्व बुझ्नुपर्ने आवश्यकता छ । कतारमा गएर नेपालीहरुले कसरी आफूलाई प्रमाणित गरेको छ भन्ने कुरालाई उहाँहरुले बुझ्नु नै भएको छैन । कतारमा गएर आर्थिक उन्नति गरेको कुरालाई बुझ्नै सकेको छैन । हामीलाई मौका दिइयो भने कतारी लगानीलाई नेपालमा ल्याउनका लागि लालायित छौं । त्यसका लागि हामीलाई सहयोग चाहिन्छ ।
० कतारमा रहेर तपाइले अहिले कुन भूमिकामा काम गरिरहनु भएको छ ?
म यतिबेला कतारको राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समुदायको परामर्शदाता, नेपाली समुदायको प्रतिनिधि र कानूनी परामर्शदाताको संयोजकको रुपमा कार्यरत छु । त्यहाँ मैले चारवटा कामहरु मुख्यरुपमा गर्नुपर्ने हुन्छ । नेपाली समुदायलाई त मैले हेरेकै छु । नेपालीहरुका गुनासा, उजुरी, समस्या समाधान, त्यहाँका विभिन्न कम्पनीहरुसँगको मेरो सम्बन्ध र नेपालीका विषयहरुलाई लिएर समस्या न्यूनीकरणका लागि विभिन्न क्षेत्रबाट काम गर्छौं । २४सै घण्टा हटलाइनबाट हामीले काम गरिरहेका हुन्छौं । हाम्रो हटलाइन नम्बर, इमेल छ । अर्को कतार सरकारका विभिन्न निकायसँग समन्वय गरेर नेपालीहरुलाई आइपर्ने विभिन्न किसिमका कानुनी जटिलताको निराकरणका लागि काम गर्छु । त्यस्तै नेपालीहरुलाई आइपर्ने समस्या समाधानका लागि पनि म काम गर्छु । तेस्रो भनेको म त्यहाँ अरबी भाषासमेत अध्यापन गराउने काम गर्छु । पुस्तकहरु पनि लेखिरहेको हुन्छु । पछिल्लो पटक खाडीका ६ राष्ट्रहरु साउदी अरब, कतार, युएई, बहराइन, ओमान, कुवेत यी राष्ट्रहरुको कनेक्सनको निम्ति काम गरिरहेको छु । जहाँ हाम्रा नेपालीहरु छन्, ती नेपालीहरुले त्यो देशको कानून, रीतिरिवाजका विषयमा सामान्य जानकारी दियो भने पनि उनीहरु ठूलो समस्याबाट बच्न सक्छन् भन्ने हेतुले ती राष्ट्रहरुको अध्ययनमा पनि म लागिरहेको छु । त्यो बाहेक गैरआवासीय संघ कतारको कानूनी सल्लाहकारको रुपमा पनि म कार्यरत छु । म चौथो पटक कानूनी सल्लाहकारका रुपमा कार्यरत छु । यहाँभन्दा अघि पनि विभिन्न अध्यक्षहरुको कार्यकालमा म कानूनी सल्लाहकारको रुपमा कार्यरत थिएँ । नेपाली व्यवसायी कतारको पनि म कानुनी सल्लाहकार नै छु । त्यहाँ व्यवसायीका चुनौति, आइपर्ने समस्याका विषयहरुलाई सहजीकरण गर्ने काममा लागिरहेको छु । अहिलेको अवस्थामा नेपाललाई कसरी कतारजस्तै समृद्ध बनाउन सकिन्छ भनेर नेपालका विभिन्न क्षेत्रसँग परामर्श गर्ने कार्यमा लागिरहेको छु ।
प्रकाशित समय १३:२७ बजे



















