1100×100 Nabil Advert

नवजात शिशुको नाममा १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि र एनआईसीबीच सम्झौता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच सम्झौता भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता एनआईसी एसिया बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र २०८० श्रावण १ गते वा सो मितिभन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगेपश्चात् परिपक्व हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधिबमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ । नगरपालिकाको कार्यविधिअनुसार सो नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्नेछन् र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५-५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुनुहुने ग्राहकहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको उल्लेख गरेका छन् ।

प्रकाशित समय १४:३० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु