1100×100 Nabil Advert

नेपाल मेडिकल कलेज २८औं वर्षमा प्रवेश, कार्डियोलोजी लगायतका नयाँ सेवा थप गरिने

काठमाडौं । नेपाल मेडिकल कलेजका सञ्चालकले स्थापनाको २८औं वर्षमा प्रवेश गरेको अवसरमा कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । अस्पताल प्रसाशनले चाँडै अंकोलोजी, कार्डियोलोजी लगायतका केही सेवाहरु थप गर्ने जनाएको छ ।
२०५२ सालमा स्थापना भएको कलेज आजबाट २८औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कलेज प्रशासनले झण्डोत्तलनसँगै वार्डमा उपचाररत करिब डेढ सय बिरामीलाई फलफुल वितरण गरेको थियो । सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै कलेज प्रसाशनले अब विशिष्टीकृत सेवा सञ्चालनतर्फ प्रसाशन अगाडि बढ्ने जानकारी दिए ।

कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवाहरु समेत सञ्चालन गरिएकोले पछिल्लो समय सेवाग्राहीहरुको विस्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले थप सेवाहरु थप गर्ने बताए । ‘हामी नेपाल मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्थाका रुपमा उभ्याउन सक्रिय छौं । स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरलाई एकसाथ सुधार्दै जनतालाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा दिनु हाम्रो लक्ष्य हो । यस कार्यमा कलेजमा कार्यरत शिक्षक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं,’ अन्सारीले भने ।

मेडिकलमा २ वर्षअघि विरगञ्जका सफल मेडिकल व्यवसायी तथा सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको टीम आएको थियो । उनको टीमले कलेजको व्यवस्थापन सम्हालेसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको छ । कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरु थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा.साविहा यासमिनले बताइन् ।

२ वर्षको अवधिमा अस्पतालको सेवातर्फ इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याबको सेवाहरुलाई गुणस्तरीय बनाइएको डाइरेक्टर यासमिनको भनाई छ । आफ्नो टीमले व्यवस्थापन संहालेपछि कलेजमा ब्लड बैंकको पनि स्थापना गरिएको छ । स्वास्थ्य सेवामा दक्ष जनशक्तिहरु थप गरिएको, नयाँ उपकरणहरु थप गरिएको, अत्याधुनिक डायलाइसिसस सेवा सुरु गरिएको भनाई यासमिनको छ ।

शनिबार बिहान कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा.भोला रिजाल, प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा.प्रमोद कुमार क्षेत्री, डाइरेक्टर डा.साविहा यासमिन, अस्पताल निर्देशकद्वय डा.राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरु डा.आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी लगायतले झण्डोत्तोलन गरी कार्यक्रममा सहभागिता जनाए ।

प्रकाशित समय १२:३८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु