करन केसी र सोमपाल कामी बने आईएमई ग्रुपको ब्राण्ड एम्ब्यासडर
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई) पे बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुरूप आईएमई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ । सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको बिक्रीको जिम्मेवारी पनि आइएमई पेले पाएको छ । काठमाडौंमा सम्पन्न एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ । सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताउनुभयो । उनले भने– नेपाली क्रिकेटको स्तरवृद्धि र दीगो विकासका लागि आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नुपर्ने अवस्था रहेको छ । यसैबीचमा आइएमई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो । यो साझेदारी बनाउने मौका दिनु भएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट संघको तर्फबाट आइएमई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु ।
यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । नेपाली क्रिकेटको विकासमा क्यानसँग सहकार्य गर्ने मौका दिएकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु, र ‘आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारीरूपमा लागू गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन् ।
यसैगरी आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली (२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत् सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत् विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रकाशित समय १९:२६ बजे




















