1100×100 Nabil Advert

भृकुटीमण्डपमा फुटवेयर विजनेस एक्स्पो–२०८० असारभर चल्ने

काठमाडौं । विभिन्न नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्स्पो–२०८०’ले भृकुटीमण्डपमा असार १ गतेदेखि सञ्चालन भइरहेको जुत्ता तथा चप्पल मेला प्रदर्शनी असारभरि चल्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा सञ्चालित ‘फुटवेयर विजनेस एक्स्पो–२०८०’ मा प्रदर्शनीमा रहेका विभिन्न नेपाली जुत्ता तथा चप्पलहरूको बारेमा जानकारी दिइएको हो ।

‘फुटवेयर विजनेस एक्सपो–२०८०’का सञ्चालहरूले अधिकांश साना तथा घरेलु उद्योगको रुपमा रहेका नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्म नेपाली उत्पादनका जुत्ता भनेपछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशतभन्दा बढी स्थान ओगट्न सफल भएको दाबी गरेका छन् ।

ती उद्योगहरूले अहिले उत्साहबद्र्धक स्थिति रहेको र यस्ता अधिकांश नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुका उद्योगहरु ‘सबैका लागि एक र एकका लागि सबैको’ अवधारणाबाट फुटवेयर उद्योगीहरू संगठित भएको ‘फुटवेयर विजनेस एक्स्पो–२०८०’ को आयोजकहरुको दाबी छ । उद्योगहरूले आफ्ना उत्पादनलाई नेपाली ब्राण्डको प्रयोग गरि ‘स्वदेशी उद्योगको सम्मान तथा राष्ट्रसम्बृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ प्रवद्र्धन गरिरहेको र यसमा सफलता पनि हाँसिल भइरहेको ‘फुटवेयर विजनेस एक्स्पो–२०८०’ दाबी छ ।

वर्तमान अवस्थामा जुत्ता, चप्पल तथा छालाजन्य बस्तु उत्पादन उद्योगले विगत ३ वर्षदेखि कोभिडको महामारीले आक्रान्त बनाएको आर्थिक क्रियाकलापमा थप रसिया र युक्रेनको युद्धको कारणले कच्चा पदार्थको लागत बढेको, बैंकको ब्याजदर एकल अंकबाट १४÷१५ प्रतिशत बनाएको, भन्सार नतिरि दक्षिणी नाकाबाट सामान संगठित तस्करी भएको सामान नेपालमा आउनु, श्रम शक्तिको अभाव हुनु वित्तिय क्षेत्रमा तरलता अभाव, कर्जा पाउन कठिन हुनु, व्यापार प्रवर्द्धन र बजारीकरणलगायतका काममा फुटवेयर क्षेत्रलाई आर्थिक, प्राविधिक सहयोग प्राप्त नहुनु जस्ता असहजताको बाबजुद हालपनि जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुमा भने अझै जीवन्त उत्साह र दह्रो आत्मविश्वास भएको ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ले दाबी गरेको छ ।

देशको व्यापार घाटा चुलिएर अहिलेको चरम संकटको अवस्थामा समेत उद्योगीको पहलमा नेपाली जुत्ता, चप्पल उद्योगहरुले नेपाली औद्योगिक उत्पादनहरु जारी राखी वस्तुहरुको उत्पादकत्व अभिबृद्धि गरी जुत्ता, चप्पलको क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउँदै निर्यात प्रवर्द्धन गर्नेतर्फ अग्रसर भइरहेको फुटवेयर विजनेस एक्सपो–२०८० का सञ्चालक कम्पनीहरूले दाबी गरेका छन् ।

फुटवेयर विजनेस एक्सपो–२०८० का सञ्चालक कम्पनीहरूका अनुसार नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्र लगायत वर्तमान समयमा आईपरेका अप्ठयारा अवस्थामा पनि जीवन्त भन्ने सन्देश दिन सकेको र तिनले आफ्ना उत्पादनलाई यथाशक्य निरन्तरता पनि दिइरहेको दाबी गरेको छ ।

फुटवेयर विजनेस एक्सपो–२०८० असार १ गतेदेखि सञ्चालन भई असार ३१ गते समापन हुने बताइएको छ । फुटवेयर विजनेस एक्सपो–२०८० ले विज्ञप्ति जारी गर्दै जुत्ता तथा चप्पल मेला लगाउनुका उद्देश्यहरूका बारेमा ८ बुँदामा प्रस्ट पारेको छ । मेला आयोजना गर्नुको उद्देश्यहरुमा स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट व्यापक प्रचारप्रसार गरी बाह्य बजारसमेत विस्तार गर्न रणनीतिक पहल गर्नु, बिदेशी जुत्ता चप्पलको आयतलाई प्रतिस्थापन गरी जुत्ता चप्पल उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनु, उपभोत्ताहरु नै उत्पादनलाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा वास्तविक उपभोक्तासँग उत्पादकले प्रत्यक्ष भेटी उनीहरूका गुनासो तथा राय सुझाव संकलन गरी कमी कम्जोरीलाई सच्याउँदै आफ्ना उत्पादनमा सुधार ल्याउनु रहेको छ ।

यस्तै, अन्य उद्देश्यमा प्रतिस्पर्धा व्यवसायको एउटा सुन्दर पक्ष पनि हो र चुनौती पनि हो । तसर्थ अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ्य प्रतिस्प्रर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाईनमा सुधार ल्याउने वातावरण तयार गर्नु, अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गराउँदै उद्योगी ब्यवसायीबीच ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावना महशुस गराई दीगो हार्दिकता सिर्जना गर्नु, उद्योगी र उपभोत्ता, उद्योगी र व्यापारी, नीतिनियम बनाउने सरकारी निकाय र त्यसलाई पालना गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्र र उद्यमी एकै ठाउँमा भेलाभई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझ मञ्चको रुपमा स्थापित गराउनु र स्वदेशमा उत्पादित जुत्ता चप्पल एउटै छानामुनी उपभोत्ताले एकैपटक अवलोकन तथा खरिद गर्न अवसर प्रदान गर्नु पनि रहेका छन् ।

फुटवेयर विजनेस एक्सपो–२०८०मा नेपालमा उत्पादित जुत्ताचप्पल मेला तथा छालाजन्य वस्तुहरु र स्वदेशी तयार गरिएको जुत्ता चप्पल, महिला, पुरूष, बालबालिकासबैलाई समेट्नेगरी अहिले गर्मी मौषमलाई लक्षित गरि उत्पादन रहेको निम्मन प्रकारका विशेष आकर्षण रहेको मेला एक्सपो सञ्चालहरूले बताएका छन् ।

एक्सपोमा १० भन्दाबढी उद्योगीका ३० भन्दा बढी ब्राण्डका १२ सयभन्दा धेरै मोडलका जुत्ता चप्पल पाईने आयोजकले जनाएको छ । यस्तै, विभिन्न उत्पादनमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको छ । २५० रूपैयाँदेखि ५ हजार रूपैयाँसम्मका जुत्ताचप्पल पाइने जनाइएको छ । मेलामा महिला, बालबालिका, पुरुषहरुका कलेज सुज, क्याज्युल, पाटिवेयर, स्पोर्टलगायत सम्पूर्ण परिवारलाई पुग्नेगरि जुत्ता चप्पल छान्न सकिने पनि आयोजक जनाएको छ ।

देशभर ख्यातिप्राप्त उद्योगीका नेपाली ब्राण्डका जुत्ता, चप्पल छानिछानि लिनसकिने जनाइएको छ । एक्सपोमा शिखर शु, बाम्बो शु, सो ल्याण्ड, वान वर्ल्ड, भेनस सु, पीजी सु, हिमानी सु, बोस सु र फुट स्टेप शु का ब्राण्डहरू समावेश छन् । फुटवेयर विजनेस एक्सपो–२०८० बाट नेपाली उत्पादनको प्रचारप्रसार, उत्पादक, उपभोक्ता तथा अन्य सरोकारवालाबीचको प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवद्र्धन भएको हुँदा यसको उपलब्धि मापनको अन्य सूचकहरुमा यसको अवलोकन तथा कारोवार भएको प्रमुख उपलब्धि मानिएको छ ।
मेलामा न्यूनतम २ लाखभन्दा बढिले अवलोकन गर्ने र १ लाख जोर जुत्ता–चप्पल बिक्री वितरण हुने फुटवेयर विजनेस एक्सपो–२०८० ले लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रामकृष्ण प्रसाईंले राष्ट्रियसभा गृहमा पहिलोपटक करिब २०६० सालदेखि जुत्ता चप्पल मेला लगाउन सुरू गरेको स्मरण गराए । उनले जुत्ताको मागअनुसार नेपालमा ६० देखि ६५ प्रतिशत स्वदेशमै उत्पादन हुने गरेको दाबी गरे । कोरोना र अहिलेको आर्थिक मन्दीले फेरि २० वर्ष अगाडिकै अवस्थामा आफूहरू पुगेको उनले बताए । उनले ब्यवसायीहरू सबैभन्दा अहिले पीडित भएको हुँदा यो अवस्थामा सबैको माया, सद्भाव र सहयोग चाहिएको बताए । उनले मेलालाई सभ्य र भब्य बनाउन सबैको सहयोग चाहिएको बताए ।

यस्तै, फुटवेयर मेनोफेक्चर एशोसिएसन एफ नेपालका उपाध्यक्ष तथा जुत्ताचप्पल ब्यवसायी रूद्रप्रसाद न्यौपानेले वास्तविक जनता, वास्तविक उत्पादक र वास्तविक उद्यमीहरूलाई नकरात्मक असर परिरहेको अवस्थामा आफूहरूले आफ्ना उत्पादनलाई उपोभोक्तासँग खुसी साटासाट गर्ने उद्देश्यले फुटवेयर मेला सञ्चालन गरेको बताए ।

उनले ०७२ सालपछि आफूहरू अप्ठ्यारो अवस्थामा परेको र राज्य संरचना र सम्बन्धित निकायले बुझ्नुपर्ने बताउँदै सरकारले लगाएको भ्याटप्रति असन्तुष्टि जनाए । असार १ गतेदेखि जुत्ताचप्पल मेलाको मोडालिटी परिवर्तन गरेर महिनाभरी नै चलाउन लागेको उनले बताए ।

उनले उत्पादक र उद्योगीको जिम्मेवारी राष्ट्रसँग हुन नसके ब्यापारीको जिम्मेवारीमात्रै राष्ट्रसँग भयो भने नेपालको अर्थतन्त्र बाहिरीने खतरा भएको बताए । मेलामा विभिन्न उच्च ओहोदाका व्यक्तिहरू ल्याएको र तिनीहरूलाई आफ्नो पीडा देखाउन, सुनाउन र सरकारको नीतिहरूमा आफ्ना मागहरू समावेश गर्न ल्याएको उनको भनाई छ ।

त्यस्तै, जुत्ता चप्पल ब्यवसायी सबिन कार्कीले कुनै पनि उत्पादनमा लाग्ने सबै सामाग्रीहरू एकै देश र ठाउँ नभइ फरकफरक ठाउँमा बन्ने दाबी गर्दै उनले एयरबस जापानमा बन्दा इन्जिन अमेरिका र पङ्खा चीनमा बन्नेजस्ता उदाहरण प्रस्तुत गरे ।

उनले नेपाल जुत्ता निर्माण गर्नका लागि छाला भारत पठाउने र जुत्ता निर्माण भएपछि त्यही जुत्ता नेपाल आउँदा छाला नेपाली हो की भारतीय हो भन्ने प्रश्न गरे । बजारमा पाइने ३ हजारभन्दा कम रकम जुत्ता नेपाली भएको दाबी गर्दै उनले उपभोक्ताहरूले नेपाली जुत्तालाई प्रोत्साहन नदिँदा नेपालमै बनेको भएतापनि चीनमा बनेको लेख्नुपर्ने बाध्यता भएको बताए । उनले मेलामा राखिएको १५ सय पर्ने जुत्ताको बजारमा २२ सय रकम रहेको बताए ।

पत्रकार सम्मेलनमा शिखर शुज इन्डष्ट्रिजका अध्यक्ष रामकृष्ण प्रसाईं, फुटवेयर बिजनेस एक्सपो २०८० का संयोजक गंगलाल श्रेष्ठ, फुटवेयर मेनोफेक्चर एशोसिएसन एफ नेपालका उपाध्यक्ष रूद्र प्रसाद न्यौपाने, जुत्ता चप्पल ब्यवसायी शविन कार्की, राम पाण्डेलगायतका जुत्ता चप्पल व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १९:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु