दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन काठमाडौंमा उद्घाटन गर्नुभएको छ । अर्थमन्त्री डा.महतले समारोहलाई सम्बोधन गर्नुहुँदै दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । अर्थमन्त्री डा.महतले प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरुले बीमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पार्ने बताउनुभयो ।
अर्थमन्त्री डा.महतले बीमा क्षेत्रका नियामक निकायहरुले परिवर्तित जोखिमहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औंल्याउनुहुँदै प्रभावकारी नियमनका लागि आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदानप्रदान र सामूहिक सिकाई आवश्यक रहेको बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बीमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुहुँदै सरकारले कृषि बीमाको प्रवर्धन, लघुबीमालाई प्रोत्साहन र बीमाको पहुँच वृद्धिका लागि समावेशी बीमा जस्ता नविनतम् नीतिहरु कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
अध्यक्ष सिलवालले बीमा क्षेत्रका नियामक निकायहरुले नवीनतम् प्रविधिको प्रयोग, बीमितको संरक्षण र बजारमा स्वच्छ अभ्यासको प्रवद्र्धन तथा बीमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरु सहितको प्रभावकारी ढाँचा विकास गर्नुपर्ने बताउनुभयो । सम्मेलनको आजको दोस्रो दिनको सत्रमा जलवायु परिवर्तनका चुनौती र बीमा क्षेत्रको भविष्य, जलवायु परिवर्तनको जोखिमका सन्दर्भमा नियामक निकाय, बीमक र पुनर्बीमकको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाको अनुभव तथा कृषि बीमाको विकास र अभ्यास सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
यसअघि सम्मेलनको पहिलो दिन, हिजो विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरुको सहभागितामा भएको सत्रमा नेपाली बीमा क्षेत्र तथा नियामकीय ढाँचा, रिस्क बेस्ड सोल्भेन्सीको कार्यान्वयन, जोखिममा आधारित पूँजीगत ढाँचा, बीमा क्षेत्रमा नवीनतम् डिजिटल प्रविधि र बीमा व्यवसायको विकासका लागि नियामक निकायहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
इन्टरनेशनल एसोसिएशन अफ इन्सुरेन्स सुपरभाइजर्स (आइएआइएस), एसियन डेभलपमेन्ट बैंक (एडीबी) र एक्सेस टु इन्सुरेन्स इनिसियटिभ (एटुआइआई)को सहयोगमा आयोजित तीनदिने सम्मेलनको मूल विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ ।
भोलिसम्म हुने सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमांकी, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक संघ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको छ ।
प्रकाशित समय १९:३१ बजे