आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न सम्भव छैन : महापुर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ । शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गर्नुभएका उहाँले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो । उहाँले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उहाँले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताउनुभयो । उहाँले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गर्नुभयो । उहाँले नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौं । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनून् कि मलाई संसद्मा गएर बोल्ने व्यवस्था गरिदिउन् । यो नेपालीको दर्द हो, संसद्मा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेरमात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो । यो सांसदको जिम्मा हो । सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन, कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ ।’
पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको बताउनु भयो । उहाँले आफूले यो आन्दोलन मनलाग्दीरुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिवद्धता जनाएको बताउनुभयो । उहाँले संसारमा नवप्रवद्र्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनु भयो ।
प्रकाशित समय १३:२४ बजे