देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देश ठूलो आर्थिक समस्याबाट गुज्रिरहेको बताउँदै निजी क्षेत्रको सहयोग सरकारले व्यापार घाटा काम गर्न नसक्ने प्रष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उनले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । देशको आर्थिक अवस्था राम्रो नभएको बताएका उनले आयात निर्यातमा परेको ठूलो खाडल र उद्योगी व्यवसायीहरु निरुत्साहित देखिएकोले आर्थिक समस्या टार्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए ।
तपाईंहरुको सहयोग विना सरकारले आर्थिक समृद्धि पाउन सक्दैन, नेपाल सरकार तपाईंहरुलाई हरेक कुरामा सहयोग गर्न तयार छ । मन्त्री रिजालले अन्तरमन्त्रालयको समन्वय अभावका कारण सरकार र निजी क्षेत्रको बीचमा देखिएका समस्याहरुलाई समाधान गर्न सँगै सहकार्य गर्नुपर्ने बताए । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीले झेल्दै आएको विविध समस्यालाई बुझेर उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई बैंकको ब्याजदर घटाउन आग्रह गरे । मन्त्री रिजालले विश्वव्यापीरुपमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा परेको तर त्यसलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने जिकिर पनि गरे ।
प्रकाशित समय १७:१३ बजे