V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आर्थिक खाडल पुर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार एक्लैले व्यापार घाटा पूर्ति गर्न नसक्ने बताएका छन् । काठमाडौंमा नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा उनले आयात र निर्यातबीचको व्यापार घाटा फराकिलो भएको भन्दै सचेत बन्न आग्रह गरे । हाल देखिएको व्यापार घाटालाई हल्कारुपमा नलिन तथा सचेतता अपनाउन उनको सरकारलाई आग्रह छ । रेमिट्यान्समै निर्भर अर्थतन्त्रले मुलुकको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले बताए ।

 

‘प्रधानमन्त्री यो मुलुकको ठूलो जोखिम हो भन्ने कुरा बुझेर यसमा अब काम गर्न शुरु गर्नुपर्छ । व्यापार घाटा सरकारले पूर्ति गर्न सक्दैन’ गोल्छाले भने । नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ठूलो रहेको स्मरण गर्दै उनले सरकार एक्लैले अहिले देखिएको समस्या समाधान गर्न कठिन हुने बताए । हाल देखिएको आर्थिक खाडल पुर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए । नेपाल विश्व व्यापार संगठनको सदस्य बनेको १८ वर्षमा निर्यात ३ प्रतिशतले बढ्दा आयात ९ गुणाले बढेको भन्दै उनले बाह्य प्रभावलाई नजरअन्दाज गर्न नहुने तर्क गरे । गतवर्षको तथ्याङ्कअनुसार नेपालको रेमिट्यान्स भन्दा व्यापार घाटा आठ खर्बले बढी छ । यो वर्ष रेमिट्यान्स केही बढे पनि, आयातमा गरिएको प्रतिवन्धले केही राहत दिए पनि व्यापार घाटा तुलनात्मकरुपमा सुधार नभएको तर्फ उनले सचेत गराए ।

 

सरकारले निर्यात बढाएर विदेशी लगानी जुटाउनुपर्ने तथा प्रभावकारी बैदेशिक सहायता परिचालन गर्नुपर्ने बताएका उनले हाल देखिएको मुलुकको ठूलो जोखिमलाई नजरअन्दाज नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे । सो अवसरमा ‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान’ नामक पुस्तक पनि सार्वजनिक गरिएको छ । कितावमा निजी क्षेत्रको योगदान, निजी क्षेत्रले भोग्नुपरेको समस्या र समाधानको उपाय समेटिएको छ । तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान कुल ग्रार्हस्थ उत्पादनको ८१ प्रतिशत रहेको उल्लेख छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत पदका लागि बुधबार निर्वाचन हुनेछ । नयाँ वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010