V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अर्थतन्त्र सुधारका लागि निर्माण क्षेत्रलाई चलायमान बनाउन मन्त्री ज्वालासँग परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री ज्वालालाई बधाई दिंदै अर्थतन्त्र सुधारका लागि सुझाव प्रस्तुत गरेको हो ।

परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइलगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो । निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिए अर्थतन्त्रलाई गतिशिल बनाउन सहयोग गर्ने बताउनुभयो । निर्माण क्षेत्रमा दिईनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गर्नुहुँदै उहाँले त्यसले बजारमा तरलता बढाउन सहयोग पुर्‍याउने बताउनुभयो । यस्तै न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्नेगरी अगाडि बढ्नुपर्ने सुझाव परिसंघले दिएको छ ।

परिसंघसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा सुधार गर्न लाग्ने बताउनुभयो । उहाँले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणाका लागि धन्यवाद दिनुभयो । मन्त्रीसँगको भेटमा उपाध्यक्ष विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशीलगायत हुनुहुन्थ्यो ।

प्रकाशित समय १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010