V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एसईई दिंदै गरेका नक्कली परीक्षार्थीको आशंकामा प्रहरीद्वारा ५२ जनालाई नियन्त्रणमा

काठमाडौं । मोरङको एक परीक्षा केन्द्रबाट विद्यालय शिक्षा परीक्षा एसईईको परीक्षा दिंदै गरेका ५२ जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सामाजिक विषयको परीक्षा दिंदै गरेका विद्यार्थी मध्ये नक्कली परीक्षार्थीको आशंकामा प्रहरीले ५२ जनालाई पक्राऊ गरी छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपनिरीक्षक रञ्जन दाहालले पुष्टि गरे । ग्रामथान गाउँपालिका –२ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट नक्कली विद्यार्थीले परीक्षा दिइरहेको भन्ने प्राप्त सूचना र गतिविधिको आधारमा प्रहरीले उनीहरुलाई पक्राऊ गरी छानविन गरिरहेको दाहालले बताए ।

उनले भने ‘आज बिहान ५२ जनालाई परीक्षा दिंदै गर्दा शंकास्पद लागेर नियन्त्रणमा लिएको सत्य हो । उनीहरुलाई परीक्षा दिंदै गर्दा हामीले नियन्त्रणमा लिएका हौं । अहिले भेरिफाइ गर्ने काम भइरहेको छ । अर्कैको नाममा विद्यार्थी बनेर परीक्षा दिएको भेटिएपछि केही आधार पुष्टि गर्ने क्रियाकलाप भएको आधारमा शंका लागेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौ । तिनीहरू को–को हुन् र कुन–कुन विद्यालयका विद्यार्थी हुन भन्ने अझैं केही समयपछि खुल्ने छ अनुसन्धान प्रकृया चलिरहेको छ ।’ प्रहरीले बुधबार सोही परीक्षा केन्द्र, सरस्वती माविबाट एक जनालाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिंदै गर्दा पक्राऊ गरेको थियो ।

 

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010