घरेलु तथा साना उद्योग महासंघ र विकास अनुसन्धान प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच नेपाली उद्योगको उत्पादकत्व बढाउने सम्झौता भएको छ । राजधानीको माइतीघरस्थित महासंघ सचिवालयमा आयोजित एक समारोहमा दुबै पक्षबीच उद्योग विकासका लागि इकोसिष्टमको विकास गरी उत्पादकत्व बढाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तत्कालका लागि निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगहरु बीचको इकोसिस्टम विकास गर्न पहल गर्ने र पछि त्यसलाई विस्तार गर्ने सम्झौतामा उल्लेख छ ।
प्रत्येक प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा तीन क्षेत्रका २–२ वटा कम्पनीको छनौट गरी ७ वटा प्रदेशका ४२ वटा कम्पनीको इकोसिस्टम विकास गर्न सहकार्य गरिने महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो । महासंघ र प्रतिष्ठान मिलेर देशमा औद्योगिक सम्बन्ध र उद्यमशीलता प्रवद्र्धन गर्न पहल गरी औद्योगिक वातावरण प्रवद्र्धन गर्न नीति अनुसन्धानमा कार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ । यस्तै औद्योगिक सम्बन्ध विकासका लागि व्यवसायिहरुको इकोसिस्टम विकास गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिष्ठानका अध्यक्ष डा.नवराज खतिवडाले बताउनुभयो । सम्झौता अनुसार उत्पादनमूलक, कृषिजन्य र सेवा उद्योगमा संलग्न कम्पनीहरुको इकोसिस्टम विकास गरी उत्पादकत्व बढाउने क्रममा नेपाल सरकारका निकायहरु तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकाय संघ संस्था तथा मञ्चहरुमा प्रतिष्ठान र महासंघले एक–अर्काको उपस्थितिलाई सफल बनाउन प्रयत्न गर्ने महासंघले जनाएको छ । महासंघ र प्रतिष्ठानले उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको व्यवसाय प्रवद्र्धन र सम्वद्र्धनका लागि थप कार्य योजना निर्माण गरी योजनावद्धरुपमा कार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
उत्पादनमूलक, कृषि, डिजिटल सेवा र अन्य सेवा क्षेत्रका उद्यमीको व्यवसाय विकास र प्रवद्र्धन गर्ने क्रममा दुबै पक्षले आफूसँग भएको विज्ञता, श्रोत, साधन र जनशक्ति परिचालन गर्ने सम्झौता पत्रमा उल्लेख छ । अनुसन्धान गर्ने तथा आवश्यक रणनीति बनाउने कार्यको नेतृत्व प्रतिष्ठानले गर्ने बताइएको छ भने आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय तहका तीन वटै सरकार र विकास साझेदार तथा दातृ निकायहरु सँगको छलफल, लविङ र नयाँ परियोजना प्राप्त गर्न वा भइहेका परियोजनालाई सहयोग जुटाउन दुबै पक्षले संयुक्त पहल गर्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता कार्यक्रममा प्रतिष्ठानका बहु–विषयक अनुसन्धान विशेषज्ञ प्रा.डा. राजकुमार भट्टराई तथा कार्यकारी निर्देशक डा.शंकर श्रेष्ठ, महासंघका उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, कोषध्यक्ष अच्युत पाण्डेलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय १९:४७ बजे