बेमौसमको बाजा : सत्ताको लुछाचुँडी

अहिले नेपालमा स्थिर सरकार छ । नेकपालाई करिब दुईतिहाईको हाराहारीमा जनताले दिएको मत छ । त्यसको नेतृत्व गरिरहेका छन् केपी शर्मा ओलीले । उनी पार्टी अध्यक्षमात्र होइनन्, संसदीय दलको नेता र प्रधानमन्त्रीसमेत छन् । तर अब उनलाई सत्तामा राखिरहनु ठूलो समस्या हुनसक्छ भनेर चौतर्फी षड्यन्त्रहरु भइरहेका छन् । उनलाई हटाउनुपर्ने थुपै्र कारण छन् भन्नेहरुको पनि कमी छैन । उनी सत्तामा रहिरहे भने अझै धेरै ‘वितण्डा’हरु गरिरहन्छन् भन्नेहरुको त ताँती नै छ । उनले के कति नराम्रा काम गरे, कति राम्रा काम गरे, त्यो त सम्पूर्ण नेपाली जनताले महशुस गरेकै छन् । विरोधीहरुले जेसुकै भने पनि उनले गरेका केही ‘योगदान’हरुलाई बूँदागतरुपमा केलाउने हो कि !
# भारतीयहरुको एकलौटी दबदबाको अन्त्य गर्दै चीनसँग पारवहन सन्धि गरे ।
# लिङ्ग नछुटिएको पार्टी भनेर चिनिएको तत्कालीन नेकपा एमालेलाई सशक्त बनाए ।
# भारतले संविधान निर्माणमा गरेको अवरोधलाई पन्छाउन सशक्त भूमिका खेले ।
# भारतीय नाकाबन्दीका विरुद्धमा चट्टानी अडान राखे र भारतविरुद्ध झुकेनन् । सात महिना लामो नाकाबन्दीको डटेर सामना गर्दै नेपाल र नेपालीको स्वाभीमानलाई चुचुरोमा पु-याए ।
# भारतमा गएर ‘अहिले संविधान संशोधन गर्न सकिन, अर्को पटक गर्छु’ भनेर मन्त्रणा गरेनन् ।
# दर्जनौं देशहरुसँगको सम्बन्धलाई सशक्त बनाए ।
# अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको तर्फबाट सशक्त ढंगले आवाज उठाए ।
# उग्रवामपन्थी अतिवादको अन्त्यसँगै वामपन्थी एकीकरणको काम गरे ।
# बालुवाटारलगायत सरकारी जग्गा घोटाला गर्नेहरुको पर्दाफास गरे ।
# दुई दशकभन्दा बढी लामो समयदेखि हुन नसकेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराए ।
# कोरोना प्रकोप अघिसम्म ६.८ प्रतिशतको आर्थिक बृद्धिद्धर हुने स्थिति बनाए ।
# लोडसेडिङ मुक्त नेपाल बनाउने काममा भूमिका खेले ।
# भारतीय कम्पनीलाई ठूलो कमिशनमा दिइएको काठमाडौं–निजगढ दु्रत मार्ग निर्माणको ठेक्का खारेज गरेर नेपाली सेनालाई जिम्मा दिए ।
# पश्चिमा शक्तिहरुको अनावश्यक चलखेललाई कमी गराए ।
# जात–जातबीच लडाएर, भिडाएर, जहाँ गयो त्यहीं जात–जातिलाई राज्य दिने घोषणा गर्दै हिंड्ने नेताहरुलाई ‘त्यो ठीक थिएन रहेछ’ भन्ने बनाउन सफल भए ।
# ‘यो राष्ट्र खारेज गर’ र ‘अन्य देशसँग मर्ज गरौं’ भन्दै हिंड्ने राष्ट्रघातीहरुलाई जनमतको माध्यमबाटै ‘साइज’मा ल्याए ।
# तराई–मधेशलाई ‘स्वतन्त्र देश’ बनाउँछु भनेर हिंडेका सीके राउतको समूहलाई चलाकीपूर्वक प्रतिस्पर्धाको राजनीतिको मूलधारमा ल्याए ।
# नेत्रविक्रम चन्द (विप्लव) समूहको चन्दा आतंक कम गराए । उनको गतिविधिलाई करिब–करिब शून्यको स्थिति नजिक पु¥याए ।
# मृगौला नेपालमै प्रत्यारोपण गरेर नेपाली चिकित्सकहरुको मनोबल बढाए ।
# मृगौला प्रत्यारोपण गराएको एक हप्ता पनि नबित्दै ‘देशी–विदेशीको घेराबन्दी’ तोड्ने काममा सक्रिय भएर लागिरहे ।
# जनताको मतबाट अस्वीकृत भएका वामदेव गौतम जो एक व्यक्तिका लागि संविधान संशोधन गर्न बाटो खोल्ने गरी बनेको समितिलाई निष्क्रिय बनाइदिए ।
# नेपालमा स्थिर सरकार रहिरह्यो भने चौतर्फी विकास हुन्छ, देशभित्रै विभिन्न खालका वस्तुहरु उत्पादन हुन थाल्दछन्, मुलुक आत्मनिर्भर हुन्छ । त्यसो भएमा नेपालमा आफ्ना विषादीयुक्त खाद्यवस्तुदेखि अन्य सामानहरु बिक्री गरिरहन पाइँदैन, एउटा ठूलो बजार गुम्ने स्थिति आउँछ भन्ने चिन्ताले भारतलाई छटपटी भएको छ । त्यसैले भारतबाटै पालित–पोषित व्यक्तिहरु, जो देखिंदा नेपाली अनुहार, नेपाली नागरिकता, नेपाली राजनीति गर्दछन्, तर काम भने भारतको हितमा गर्दछन्, त्यस्ता व्यक्तिहरुको चंगुलबाट नेपाललाई मुक्त गर्न अहोरात्र क्रियाशील रहिरहे ।
हो, चन्द्रमामा पनि दाग हुन्छ । सबै गुणैगुणले भरिएका हुँदैनन् । ओली पनि त्यसबाट अपवाद छैनन् । उनले आफ्ना विरोधीहरुलाई भित्तैसम्म पु¥याउने कोशिश गर्दछन् । उनको यो बानीमा सुधार गर्नुपर्ने देखिन्छ । ओलीलाई आजको स्थितिको सामना गर्नुपर्ने अवस्था आउनुमा थोर–बहुत हात उनको आफ्नै पनि छ ।
# संसार कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुधिरहेको छ । हरेक देशका सरकार प्रमुखहरु क्षण–क्षणमा जनतासँग प्रत्यक्षरुपमा जोडिन्छन् । त्यही छिमेकी मुलुक भारतका प्रधानमन्त्री, विभिन्न राज्यका मुख्यमन्त्रीहरु ‘फेसबुक लाइभ’मा आएर डाक्टरहरुको मनोबल बढाउने, सञ्चारकर्मीहरुको पीरमर्का बुझ्ने, उनीहरुलाई हौसला प्रदान गर्ने गर्दछन् । तीन महिनालाई पुग्नेगरी ‘फ्रि’मा खाद्यवस्तुहरु उपलब्ध गराउन नेतृत्व गर्दछन् । तर हाम्रा प्रधानमन्त्रीले त्यतातर्फ भन्दा आफूलाई ‘छिर्के लगाएर पछार्न खोज्ने’ हरुतर्फ बढी समय दिएका छन् । यसले पनि उनको आलोचना बढी भएको हो ।
# उनी बाटो–बाटोमा पैदल हिंडेर घर गइरहेका नागरिकहरुलाई प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीले नदेख्ने तर पत्रकारले कसरी देखे ? भन्दै प्रश्न गर्दछन् । अझ त्यस्तो जनता समस्यामा परेको कुरालाई सञ्चार माध्यममार्फत् सम्पूर्ण जनतासमक्ष पु-याउन सहयोग पु-याइदिएकोमा ती सञ्चारकर्मीहरुलाई धन्यवादसहित पुरस्कृत गर्नुपर्ने होइन र ? सरकारी तलबभत्ता खाएका पत्रकार, सुरक्षाकर्मीहरुले नदेखेका कुराहरुलाई गाउँ–गाउँबाट जानकारी गराइदिने अन्य सञ्चारकर्मीमाथिको कटाक्ष बन्द गर्नुपर्ने होइन र ?
जुनसुकै क्षेत्रबाट हुने गरेका भ्रष्टाचार, घुसखोरी, अनियमिततासम्बन्धी सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री सबैभन्दा पहिल्यै ‘भ्रष्टाचार भएकै छैन’ भनेर बचाऊ गर्दछन् । के भ्रष्टाचार भएको छ कि छैन भनेर प्रधानमन्त्रीले भन्दैमा जनताले विश्वास गर्दछन् ? अवश्य गर्दैनन् । भ्रष्टाचार भएको छ कि छैन भन्ने कुराको अनुसन्धान गर्ने काम त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको होइन र ? प्रधानमन्त्रीले नै भ्रष्टाचार भएको छैन भनेर चोख्याउन मिल्छ ? यदि त्यसो हो भने अख्तियार, अदालत किन चाहियो ? छानविन गर्ने काम अख्तियारको र न्याय दिने काम त अदालतको होला नि । प्रधानमन्त्री आफैंले विभिन्न काण्डहरुका नाइके र त्यसमा संलग्नहरुलाई चोख्याउने काम गर्नु नै अहिले सबैभन्दा बढी जनताबाट आलोचित हुनुपर्ने अवस्थाको सिर्जना भएको हो ।
त्यस्तै प्रधानमन्त्री ओलीले पछिल्लो पटक जारी गरेका दुई अध्यादेशले सबैभन्दा बढी आलोचना खेप्नुप-यो । तर सचिवालयमा छलफल भएपछि ती दुवै अध्यादेशहरु फिर्ता भइसकेका छन् । दुवै अध्यादेशहरु फिर्ता भइसकेपछि त्यही कुरामा बखेडा झिकेर प्रधानमन्त्री हटाउनेसम्मका खेल अहिले पार्टीभित्रैबाट हुनुचाहिं दुःखद पाटो हो ।
अहिले पार्टीभित्र प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरै पेलेको, झलनाथ खनाललाई गन्दै नगनेको, वामदेव गौतमलाई राष्ट्रिय सभामा नलगेको, प्रचण्डलाई बाहिरीरुपमा नभने पनि प्रधानमन्त्री बन्ने हतारो भएको, अन्य केही नेताहरुलाई मन्त्री हुन नपाएको झोंक पनि छ । त्यो देखिने कुरा भए पनि अर्को नदेखिएको पाटो भने निकै महत्वपूर्ण छ । तर नेकपाकै एक नेता रघुजी पन्तको भनाइलाई मान्ने हो भने सत्ताबाट ओलीलाई हटाउनुपर्ने गुह्य कुरा भने बालुवाटार जग्गा काण्डमा माधवकुमार नेपाललाई मुछ्न खोजिएको र हतियार क्यान्टोनमेण्ट भ्रष्टाचार काण्डको फाइल खोल्न लगाएर अख्तियारमार्फत् प्रचण्डलाई कारवाही गर्न षड्यन्त्र भएको भन्ने छ । सत्ता लुछाचुँडी गर्न किन खोजिएको हो, त्यसलाई जनताले नजिकबाट नियालिरहेका छन् ।
तर यो बेला झोंक देखाउने समय होइन । अहिले असामान्य परिस्थिति हो । विश्वभर कोरोना भाइरसले आतंक मच्चाइरहेका बखत एकजुट भएर त्यसको सामना गर्नुपर्नेमा जनताका बीचमा ‘रमिता’ देखाउनु दुःखद पाटो हो । अहिले ओलीले उत्कृष्ठ काम गरे भनेर भन्ने अवस्था त होइन, तर माथि उल्लेख गरिएका सबै नेताहरु सत्तामा पुगिसकेका ‘टेष्टेड’ नै हुन् । वामदेव, झलनाथ, माधव र प्रचण्डभन्दा धेरै हदसम्म मुलुकका लागि दीर्घकालीन असर पु¥याउने काम गरेर व्यक्ति हुन् प्रधानमन्त्री ओली । त्यसैले पनि तत्कालै सरकार परिवर्तन गरेर थप अस्थिरता निम्त्याउने काम कतैबाट नहोस् । यी माथिका सबै नेतासँग मुलुकमा रहेका यावत समस्या समाधान गर्ने ‘जादुको छडी’ छैन । कोरोनाका कारणले अर्थतन्त्र डाँवाडोल अवस्था हुने स्थितिमा पुग्दैछ । नेपालको मात्रै होइन, विश्वकै आर्थिक अवस्था निकै भयावह हुँदैछ । कोरोना भाइरसको असर कति वर्षसम्म हुन्छ, कसैले आँकलन गर्नसक्ने स्थिति छैन । यस्तो अवस्थामा सत्ता परिवर्तन गर्ने, जनताको हितभन्दा आफू पदमा पुग्ने, आफ्ना आसेपासेलाई नियुक्ति गराउने, मन्त्री बनाउने, राजदूतहरु बनाउने, राजनीतिक पदहरु दिलाउने गर्दागर्दै पाँच वर्ष पूरा हुन्छ । त्यसो गर्दागर्दै कामचाहिं कहिले गर्ने ? बरु त्यो भन्दा सबै पक्षलाई मिलाएर कसैको छोरी, बुहारी, ज्वाइँ, सम्धि, श्रीमती, सम्धीको सम्धी, छोरीको साथीको साथी, भाञ्जे ज्वाइँहरुलाई, आफ्ना चाकडीबाजहरुलाई विभिन्न मन्त्री, राजदूतहरु, विभिन्न संवैधानिक निकायमा नियुक्ति दिने होइन कि यदि कोही त्यस्ता छन् भने आँखा चिम्लिएर ‘फायर’ गर्नुपर्दछ । मुलुकमा धेरै सक्षम मानिसहरु पनि छन्, जो हाम्रा होइनन्, राम्रामा गनिन्छन् । जब त्यस्ता व्यक्तिहरुको हातमा कुनै पनि संस्थाको लगाम पुग्छ, तब चमत्कार हुन्छ । जस्तो नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक बनाइए कुलमान घिसिङ । अझै पनि धेरै कुलमानहरु छन् मुलुकमा । त्यसैले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मुलुकलाई थप अस्थिरतातर्फ धकेल्नु हुँदैन । अब बुढा भइसकेका धेरैजसो नेताहरुलाई भन्दा युवा नेताहरुलाई बढी सहभागिता गराएर सत्ता सञ्चालन गर्नुपर्दछ । जोसँग जोश, जाँगर छ, उनीहरुलाई अवसर प्रदान गर्नुपर्दछ ।
प्रकाशित समय ०९:३२ बजे