मिटरब्याज पीडितहरुको सहमति अनुसार आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी

काठमाडौं । सरकारले आयोग गठन गरे लगतै मिटरब्याज पीडितले १९ दिनदेखि गर्दै आएको आन्दोलन फिर्ता भएको छ । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले विशेष अदालतको पूर्व अध्यक्ष गौरीबहादुर प्रधानको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र महान्यायधिवक्ता कार्यालयका पूर्व नायव महान्यायधिवक्ता गणेशबहादुर आर्याल सहभागि छन् । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
मिटरब्याज विरुद्ध संघर्ष समितिले उच्चस्तरीय आयोग गठनको माग गर्दै गत २ चैतदेखि आन्दोलन गर्दै आएका थिए । यहीक्रममा उनीहरु महोत्तरीको बर्दिवासदेखि १२ दिन पैदल हिंडेर काठमाडौं आइपुगेका थिए । काठमाडौंमा चरणबद्ध आन्दोलन गर्न थालेपछि सरकारले उनीहरुसँग वार्ता गर्न टोली गठन गरेको थियो । सोही टोलीले शनिवार उनीहरुसँग पाँच बूँदे सहमति गरेको थियो । सहमतिमा पीडितको समस्या सम्बोधन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्ने र आयोग गठन लगतै विरोेधका सबै कार्यक्रम फिर्ता लिनेलगायतका बूँदा समेटिएका थिए । सोही सहमतिअनुसार संघर्ष समितिले आन्दोलन फिर्ता लिएको हो ।
उत्ता, मिटरब्याज पीडितको अर्को समुह मिटरब्याज तथा ठगि विरद्ध किसान–मजदुर संघ समितिले भने सोमबारबाट आन्दोलन शुरु गरेको छ । उनीहरुले आन्दोलन कार्यक्रमको सम्बन्धमा मंगलबार दिउँसो पत्रकार सम्मेलन नै राखेका छन् । रत्नपार्कस्थित शान्ति बाटिकामा रहेका उनीहरुले सोमबार दिनभर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।
प्रकाशित समय ११:०१ बजे