उपनिर्वाचनका उम्मेद्वार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गर्न सकिने

काठमाडौं । आगमी १० बैशाखमा हुने उपनिर्वाचनका उम्मेदवार विरुद्ध उजुरी भए आज (मंगलवार) दर्ता गर्न सकिनेछ । उजुरीका लागि निर्वाचन कार्यालयले मंगलवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सयम तोकेको छ । उम्मेद्वार विरुद्ध उजुरी परे कार्यालयले बुधवार छानविन गर्नेछ र उम्मेद्वारको नामावली सोही दिनको साँझ प्रकाशन गर्नेछ । त्यस्तै, उम्मेद्वारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे बिहीवार ९ देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । कसैले उम्मेदवारी फिर्ता नलिए कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । उम्मेद्वारका लागि चुनाव चिन्ह पनि कार्यालयले सोही बितरण गर्नेछ ।
१० बैशाखमा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराइसकेका छन् । उम्मेद्वार अहिले आ–आफ्ना निर्वाचन क्षेत्रमा चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार १० बैशाखको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचनमा कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराई र चितवन–२ जीतनारण श्रेष्ठ उठाएको छ । बारा–२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेको छ । त्यस्तै, एमालेले तनहुँ– १ मा सर्वेन्द्र्र खनाल र चितवन –२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । त्यस्तै बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने तनहुँ– १ स्वर्णीम वाग्ले, चितवन–२ रवि लामिछाने र बारा– २ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, जनमत पार्टीले बारा– २ मा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ । गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ –१ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त खाली भएको थियो । त्यस्तै, बारा– २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा चयन भएपछि उक्त निर्वाचन क्षेत्र खाली भएको थियो । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विवादका कारण सांसद् पदबाट मुक्त भएका थिए । आयोगका अनुसार निर्वाचन हुन लागेको तीन क्षेत्र मध्ये सबैभन्दा धेरै उम्मदेवारी बारा– २ मा पुगेको छ । बारा– २ मा ३६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, तनहुुँ– १ मा भने नौ जनाको उम्मेदवारी परेको छ । चितवन– २ मा २४ जनाको उम्मदेवारी परेको छ । उम्मेदवारी परेको मध्ये तनहुँ– १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले चर्चामा छन् । त्यस्तै, बारा– २ मा एमाले उम्मेद्वार पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेलको नाम चर्चा छ । चितवन– २ मा भने कांग्रेसमा जीतनारण श्रेष्ठ, एमालेको रामप्रसाद न्यौपाने र रास्वपाको रवि लामिछानेको नाम चर्चामा छ ।
प्रकाशित समय १०:४८ बजे