1100×100 Nabil Advert

उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्नुहुँदै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

‘हिजोका दिनमा बैंकबाट भएको लगानी ठीक ठाउँमा गएन । शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो । त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल छैन’, अर्थमन्त्रीले भन्नुभयो, ‘हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकीकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।’

बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताउनुभयो । पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भए पनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उहाँले बताउनुभयो । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उहाँले उल्लेख गर्नुभयो । सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैंकले अपेक्षित प्रगति गर्न नसकेको उहाँले बताउनुभयो ।

‘यो बैंकको हैसियत यति मात्रै हुने होइन । यो सार्वजनिक बैंक भएकै कारण नेपालको नम्बर एक बैंक हुन नसकेको हो । बैंकको व्यवस्थापन र कर्मचारीका कारण बैंक पहिलो हुन नसकेको हो’, अर्थमन्त्रीले भन्नुभयो । ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताउनुभयो । गत आर्थिक वर्षमा बैंकको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गर्नुहुँदै उहाँले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित हो भन्नुभयो ।

‘राज्यले बढी नाफा लिएर काम गर्नेलाई थोरै दिएको भए गुनासो गर्नु स्वभाविक हो तर लगानीको तुलनामा गतवर्ष सरकारले पाएको साढे पाँच प्रतिशतको लाभांश धेरै ठूलो रकम होइन’, अर्थमन्त्री महतले भन्नुभयो, ‘कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनै पनि अनुचित हस्तक्षेप मबाट हुँदैन । तर राज्यको लगानी भएको संस्थामा अर्थमन्त्रालयले जिम्मेवार भएर निगरानी गर्छ ।’ पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकाशिंदै गएको पनि उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विगतमा कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएको र निकै खराब अवस्था व्यहोरिरहेको वाणिज्य बैंक अहिले निकै व्यावसायिक र प्रतिस्पर्धी बनेको गभर्नर अधिकारीले बताउनुभयो । पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा निकै राम्रो अवस्था हुँदै गएको छ । बाह्य क्षेत्रमा सुधार छ । बैंक तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन् ।’

बैंक वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न किसिमका ‘प्रोभिजनिङ’ को व्यवस्था ल्याउँदा उनीहरुको नाफा केही घटेको देखिए पनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको उहाँले बताउनुभयो । ‘बैंक वित्तीय संस्थाको नाफा केही घटेको जस्तो देखिन्छ । घट्नुको कारण प्रोभिजनिङ हो । असल कर्जा दिंदा पनि अनिवार्य प्रोभिजनिङ गर्नैपर्छ । दीगो र सुरक्षित बैंकिङका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो’, गभर्नर अधिकारीले भन्नुभयो । पछिल्लो समय मुलुकको समग्र आर्थिक स्थिति शिथिल हुँदा कर्जा असुलीमा केही समस्या देखिएको गभर्नर अधिकारीले बताउनुभयो ।

बैंक वित्तीय संस्थालाई अप्ठेरोमा पर्न नदिन राष्ट्र बैंकले नीतिहरुमा सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । ‘नीतिगत दर घटाइएको छ । तरलताको अवस्था निकै राम्रो छ । लगानी गर्नसक्ने अवस्था रहेको छ । बाह्यक्षेत्रतर्फ हामीसँग विदेशी मुद्रा सञ्चितीको अवस्था राम्रो छ । कर्जाको माग क्रमशः बढ्दै जानेछ भन्ने अपेक्षा हामीले गरेका छौं’, उहाँले भन्नुभयो, ‘अहिले नै वाणिज्य बैङ्कले दश दशमलव पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । अब अधिकांश वाणिज्य बैंकले एकल अंकको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आउँदैछ । यसकारण कर्जाको माग पनि बढ्नेछ भन्ने अपेक्षा हाम्रो छ ।’

पूर्वगभर्नर डा.तिलक रावलले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य खराब देखिंदै गएको बताउनुभयो । ‘अहिले वित्तीय क्षेत्रलाई हेर्दा त्यति सुखद स्थिति म देख्दिन । बैंक तथा वित्तीय संस्थाको मुनाफा घट्दो छ । प्रतिशेयर आम्दानी घटिरहेको छ भने खराब कर्जा बढिरहेको छ । उनीहरुलाई वार्षिक साधारणसभा गरेर आफ्नो वित्तीय स्वास्थ्यको अवस्था बारे जानकारी दिन पनि अप्ठेरो भइरहेको छ’ उहाँले भन्नुभयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको व्यवसायिकता र कार्यशैलीमा निकै सुधार भएको बताउनुभयो । आगामी दिनमा प्राथमिकताका क्षेत्रमा लगानी गरेर थप प्रतिस्पर्धी बैंकका रुपमा वाणिज्य बैंकलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आजबाट आफ्नो स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । २०८० असार मसान्तसम्ममा बैङ्कको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष रु ५० अर्ब ७४ करोड रहेको छ । गत असार मसान्तसम्ममा बैंकको निश्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ ।

गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजार भन्दा बढी ग्राहकलाई रु दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०-६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९-८० मा बैंकले रु तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित समय २१:४० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु