एभरेष्ट बैंकले खोल्यो नवलपरासीको दलदलेमा शाखा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद न्यौपाने, ससस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा देवचुली नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष एकदेव पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनुभयो । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गर्नुका साथै पञ्जाव नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्शन तथा अन्य बैकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । यो सँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको छ ।
पञ्जाव नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाईको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६१ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।
प्रकाशित समय १९:३४ बजे