स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त
काठमाडौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त हुनु भएको छ । प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आज मात्रै कम्पनीका अध्यक्ष श्री रविन कुमार नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको हो । उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
बैंक अफ एशिया (हालको एन आई सी एशिया बैंक) बाट आफ्नो बैकिङ्ग करियर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत हुनुहुन्थ्यो । बैंकिङ्ग तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ्ग) इत्यादि मा १५ बर्ष भन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाईमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताउनु भयो । डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र स्मार्टच्वाईस टेक्नोलोजिजले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफु स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिनु भयो ।
बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर,मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
प्रकाशित समय १०:५९ बजे




















