३५ प्रतिशतसम्म व्याजमा छुट गर्दै एनआइसी एसिया बैंक
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका ऋणीहरुलाई साधारण व्याज रकममा ३५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ ।
भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत विभिन्न छुटका योजनाहरु सार्वजनिक गरेको छ । ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको समयावधिका लागि व्याजमा १५ प्रतिशत छुछ, १८१ दिनदेखि ३६ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढीको लागि भने ३५ प्रतिशत छुट दिने योजना एनआइसी एसिया बैंकले ल्याएको जनाएको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुने बैंकले उल्लेख गरेको छ । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको उल्लेख छ । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जनाएका छन् ।
प्रकाशित समय ०७:१६ बजे




















