नबिल बैंकको खराब कर्जा घट्यो, मुनाफा कति ?
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षका ६ महिनामा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो कुरा उल्लेख छ ।
बैंकले समीक्षा अवधिमा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाए पनि गत वर्षको सोही अवधिको तुलनामा भने ६.१८ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । कुल संचालन आम्दानी पनि ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको संचालन नाफामा भने सामान्य गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६.१८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको वितरण योग्य नाफा पनि १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ देखिएको छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकले जगेडा तथा कोषमा पनि २८ अर्ब १६ करोड ९९ लाख रुपैयाँ राखेको छ ।
समीक्षा अवधिमा बैंकले कूल ४ खर्ब २८ अर्ब ८३ करोड ५ लाख निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिमा नबिल बैंकको खराब कर्जासमेत घटेको देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १.४६ प्रतिशत रहेको यस्तो कर्जा चालू वर्षको सोही अवधिमा आइपुग्दा भने घटेर १.२ प्रतिशत कायम भएको छ ।
प्रकाशित समय ०८:३१ बजे





















