1100×100 Nabil Advert

पूँजीगत खर्च बढाउन गण्डकी प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री पाण्डे

नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूँजीगत खर्च बढाउन सरकार लागेको बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पाण्डेले पुँजीगत खर्च गत वर्षको भन्दा बढाउन प्रदेश सरकार लागिपरेकोे बताउनुभएको हो ।

शुरुका पाँच-छ महिना प्रक्रियामै जाने गरेकामा यसलाई थप व्यवस्थापन गर्दै खर्च बढाउन गण्डकी प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । ‘विगतमा पनि सुरुका पाँच–छ महिनाको खर्चको अवस्था कम नै हुँदोरहेछ तर पहिले जस्तै हुनुपर्छ भन्ने छैन,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘हामी पूँजीगत खर्च बढाउन लागेका छौं, यस वर्ष खर्च केही बढाउँछौं ।’ बहुवर्षीय बाहेकका ठेक्का अहिले बल्ल लाग्न थालेकाले अब खर्च क्रमशः बढ्दै जाने उहाँले बताउनुभयो । ‘हेर्दा असारे विकास भन्नेजस्तो देखिए पनि अहिले ठेक्का लागेका योजनाको प्रायःजसो भुक्तानी वैशाखपछि हुँदोरहेछ, त्यतिबेला खर्च बढ्छ’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘तर वैशाखपछि विपद्बाहेक कुनै पनि नयाँ योजनामा हामी पैसा विनियोजन गर्दैनौँ भनेका छौं ।’

मुख्यमन्त्री पाण्डेले आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउने विषयमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभयो । गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको त्रिवेणी नाका पुग्न लुम्बिनी प्रदेश हुँदै जानुपर्ने अवस्था रहेकामा दुम्किबास-त्रिवेणी सडक खण्डको निर्माणका लागि आफूले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । यसका लागि संघ सरकारले समेत अप्ठ्यारो फुकाई दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

‘गण्डकी प्रदेशको एउटा भूभाग जान दोस्रो प्रदेश भएर जानुपर्ने ठीक भएन, हामीले हाम्रो प्रदेशको कुनै पनि भूभागमा आफ्नो प्रदेशबाट जान पाउनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘निकुञ्ज संघ सरकार मातहतमा पर्छ, सङ्घ सरकारले हामीलाई परेको अप्ठ्यारो फुकाई दिनुपर्छ ।’

नवलपुरको दुम्किबास–त्रिवेणी सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले आवश्यक सहजीकरण गरिदिनुपर्ने समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो । आर्थिक दृष्टि र व्यापारिक हिसाबले केही फाइदा लिन सकियोस् भनेर गण्डकी प्रदेशको त्रिवेणीनाका भारतसँग जोडिएको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘तर यो बाटो खुलेन भने संविधानले परिकल्पना गरेको र जुन उद्देश्यका लागि प्रदेशको सिमाना त्रिवेणीसम्म पुर्‍यायौँ त्यसको कुनै फल प्राप्त गर्न सक्दैनौं, त्यो उद्देश्य पनि प्राप्त गर्न सक्दैनौँ, त्यसकारण यो बाटो पहिले खोल्नुपर्छ ।’

प्रकाशित समय १८:१६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु