बीमाको आवश्यकता आज हुने भोलि नहुने भन्ने हुँदैन
बीमा भनेको जोखिमको विरुद्धमा गरिने आर्थिक सुरक्षाको व्यवस्था हो । बीमा बैंक पनि होइन र यो बचत पनि होइन । अर्कोतर्फ यो बचत पनि हो । बीमा गराउँदा जोखिम बहनसँगै बचत पनि हुन्छ । बीमा भनेको बचतका लागि भन्दा पनि बीमा अवधिमा कुनै घटना घट्यो भने सानो रकम धेरै ठूलो क्षतिलाई व्यहोर्नसक्ने हुन्छ । जसकारण यसको महत्व विश्वभर नै छ । अझै हाम्रोजस्तो देशका लागि त यो अझ बढी महत्वपूर्ण छ ।
समय जहिले पनि अनिश्चित हुन्छ । हिंड्दा–हिंड्दै दूर्घटनामा पर्नेसक्ने सम्भावना हुन्छ । अहिले ठीक भए पनि एक वर्षपछि कुनै ठूलो रोग लाग्न सक्छ । यस्तो घटना दूर्घटनाबाट जोगिने भरपर्दो माध्यम भनेको बीमा नै हो । किनभने यो अवस्थामा निकै ठूलो क्षति पुगेको हुन्छ । हामीले थोरै पैसा अनुमान गरेर सानो रकमबाट ठूलो क्षति व्यहोर्ने बाटो खोल्ने हो र बीमाका काम पनि त्यही नै हो ।
बीमाको आवश्यकता आज हुने भोलि नहुने भन्ने हुँदैन । यसको आवश्यकता सधैं नै हुन्छ । अझै नेपालजस्तो मुलुकका लागि यसको आवश्यकता धेरै छ । नेपालमा बीमाको विषयमा सरकार पनि त्यति चनाखो नभएको जस्तो देखिन्छ । हाम्रोमा कुनै पनि निर्माणको कार्य सम्पन्न नहुँदासम्म त्यसको बीमा हुने तर निर्माण सम्पन्न भएपछि बीमा नहुने गरेको छ । कुनै एउटा पुल निर्माण गर्ने समयमा त्यसको बीमा हुन्छ । तर निर्माण सकिएपछि बीमा हुँदैन । पुल भत्किने सम्भावना त बनाउँदै गर्दा जस्तै बनिसके पछि पनि त्यसको सम्भावना उच्च नै हुन्छ नेपालको जस्तो भूभागमा । अर्बौं रुपैयाँमा निर्माण गरिएको पुल भत्केपछि पुनः बनाउनुपर्ने हुन्छ । यदि बीमा भएको खण्डमा बीमाले त्यसको क्षतिपूर्ति व्यहोर्ने भएकाले बीमा गर्नुपर्ने आवश्यकता धेरै छ ।
अर्कोतर्फ अहिले समूहमा आएर बीमा गर्ने चलन पनि चलेको छ । थोरै पैसा दिएर समूहमा बीमा गर्ने र समूहको कोही दूर्घटनामा परेको खण्डमा आर्थिक क्षति बापतको पैसा पाउँछ । यसले गर्दा उसको परिवारलाई आर्थिकरुपमा सहजता हुन्छ । जीवन बीमाको कुरा गर्दा पनि विभिन्न खालका बीमाहरू निस्कन थालेका छन् । जसले दूर्घटनाबाट पर्ने आर्थिक क्षतिको पनि भर्पाई गर्ने भयो भने बचत त छँदैछ । आजभोलि कम समयको बीमा गर्ने चलन बढिरहेको छ । २० वर्षको बीमा अवधि राखेर गरिने बीमालाई मानिसहरूले घटाइरहेका छन् । छोटो अवधिको बीमा गरिरहेको अवस्था छ । ३–४ वर्षको बीमा गर्ने चलन अहिले बढिरहेको छ । ३–४ वर्षको अवधिमा कुनै घटना घटेको खण्डमा क्षतिपूर्ति पाउँछ । बीमाले मानिसको जीवनलाई खराब हुनबाट जोगाउँछ । जसले गर्दा बीमा जहिले पनि महत्वपूर्ण नै हुन्छ ।
हाम्रो जस्तो मुलुकमा जहाँ गरिब, सीमान्तकृति वर्ग, बाढी, पहिरो, हावाहुरी, आगलागी जस्ता घटना घट्छन्, त्यो ठाउँमा बीमाको निकै ठूलो महत्व रहन्छ । बीमाले बचत र सुरक्षा दुवैको काम गर्छ । यसकारण बीमा गराउनु आजको आवश्यकता हो । बीमा गर्नेको संख्या अहिले ग्रामीण क्षेत्रमा भन्दा शहरमा बढी रहेको छ । बीमा कम्पनीहरू जान त सबै ठाउँमा गएका छन् । तर गाउँमा भन्दा शहरमा बीमा गराउनेको संख्या बढी छ । यसमा बीमा सम्बन्धी ज्ञान र सचेतनाले पनि काम गर्छ । अहिले लघु बीमा कम्पनीहरू स्थापना भएका छन् । जसले गर्दा अब बीमा कम्पनी शहरकेन्द्रित भए भन्न पनि मिल्दैन । उनीहरूलाई हामीले गाउँमा नै गएर सेवा गर्नका लागि लाइसेन्स दिएको अवस्था छ । केही लघु बीमा कम्पनीले काम शुरु गरेका छन् भने केहीले शुरु गर्न बाँकी रहेको छ ।
लघु बीमा कम्पनीहरूले पूर्णरुपमा काम शुरु गरेपछि ग्रामीण क्षेत्रका नागरिकमा पनि बीमाको पहुँच सहज बन्छ । अर्कोतर्फ बीमा गाउँमा नै गर्नुपर्छ भने विभिन्न पालिकाहरूसँग पनि अन्तरक्रिया कार्यक्रमहरू गरिरहेको अवस्था छ । यसको उद्देश्य पनि बीमाको पहुँच ग्रामीण क्षेत्रमा पुर्याउने नै हो । सरकारले पनि बीमालाई बुझ्नुपर्ने आवश्यकता देखिन्छ । स्थानीय सरकारले बीमाको महत्व बुझेर प्रोत्साहन गर्नुपर्ने देखिन्छ । यसका लागि केही समय त लाग्न सक्ला तर यसमा सुधार हुन्छ । अहिले पनि पहिलेको तुलनामा सुधार भएको अवस्था छ । ग्रामीण क्षेत्रमा पनि बीमा पुग्न थालेको अवस्था छ । अर्को भनेको सरकारले योजना आयोगले पनि आफ्नो नीतिमा बीमालाई राख्नुपर्ने आवश्यकता देखिन्छ । सरकारले आफ्नो सम्पत्तिको बीमा गर्नु पर्यो । कुनै पनि समयमा विपत्ति आउन सक्छ । विपत्ति बाजा बजाएर आउँदैन । मेलम्चीको बजार डुब्यो । मेलम्चीमा गरिएको लगानी डुब्यो । त्यहाँ सरकारको अर्बौं लगानी डुब्यो । भूकम्प आउँदा देशमा विभिन्न स्थानमा ठूलो जनधनको क्षति भयो । यत्रो समय बित्यो, ५ खर्ब रुपैयाँले पनि त्यसको पुनर्निर्माण सकिएको छैन । सबैको बीमा भएको भए सरकारले टाउको दुखाउनुपर्ने विषय नै हुँदैनथ्यो।
तसर्थ यी सबै वातावरण हेर्नुपर्यो । हाम्रो इतिहास हेर्नुपर्यो, हाम्रो क्षतिको विवरण गरेर बीमा गर्नुपर्ने आवश्यकता देखिन्छ । हामीले हाम्रो जोखिमलाई मध्यनजर गरेर कहाँ–कहाँ जाने भन्ने कुरा निर्धारण गर्नुपर्ने हुन्छ । कतिपय स्थानमा पुल बगेका छन् भने कतै सडक नै बगेको अवस्था छ । यस्ता सडक, पुलहरूको बीमा गर्न सकिन्छ । ती पाटाहरू खोज्नु पर्ने हुन्छ । यसका लागि पहिले सरकारले बुझ्नुपर्ने हुन्छ । जब सरकारले बीमा गर्नुपर्ने कुराको महसुस गर्छ त्यसपछि सहज बन्छ । बीमालाई वित्तीय साधन परिचालनका एउटा पिल्लरका रुपमा मान्नुपर्यो । हरेक वर्ष सरकारले आफ्नो के–के कुराको बीमा गर्छ भन्ने निर्धारण गर्नुपर्यो । त्यसपछि बीमा गर्नुपर्यो । सरकारी सम्पत्तिको सरकारले र निजी सम्पत्तिको लागि बीमालाई अनिवार्य गराउँदै लैजानु पर्छ । जस्तो गाडीको बीमा अनिवार्य छ । गाडीको बीमा गरिएन भने बिल बुक नवीकरण हुँदैन । कर पनि बुझ्दैन । २५ लाखको गाडीको त्यस्तो बीमा गरिएको छ । तर करोड रुपैयाँको घरको बीमा नभएको अवस्था छ । यो विषयमा स्थानीय सरकारले हेर्नु पर्छ ।
कुन व्यक्तिले आफ्नो परिवार, घरको बीमा गराएर आउनु पर्छ भनेर स्थानीय सरकारले भनेको खण्डमा बीमा गर्नेको संख्या र बीमा गर्ने बानीको विकास पनि हुन्छ । यदि बीमा गर्न नसक्ने व्यक्ति छ भने स्थानीय सरकारले नै हेरिदिनु पर्यो । आर्थिकरुपमा सम्पन्न र विपन्न दुवैका लागि यो निकै महत्वपूर्ण छ । धनीको सम्पत्ति धेरै होला, उसको जोखिम पनि धेरै हुने भयो । उसले धेरै सम्पत्तिको नै बीमा गर्नुपर्छ । आर्थिकरुपमा कमजोर व्यक्ति वा मध्यम वर्गको सम्पत्ति त्यही अनुसार हुने भयो र त्यसको बीमा पनि सोही अनुपातमा गर्नुपर्ने हुन्छ ।
विदेशमा बीमाको कार्ड नभएसम्म उपचार पनि पाइँदैन । त्यस्ता बाटाहरू हामीले पनि खोल्दै जानुपर्छ । जसले बीमा गर्ने बानीको विकास हुने भयो भने क्षतिबाट आर्थिक दायित्व पनि बहन हुनसक्ने भयो । बीमा गराउनका लागि बीमा पोलिसी पनि सस्तो बनाउनु पर्ने देखिन्छ । एउटै पोलिसीमा धेरै किसिमका सुविधाहरू दिनुपर्यो । व्यक्तिहरूलाई आकर्षित पनि बनाउनुपर्ने हुन्छ । आकर्षण गर्ने काम कम्पनीहरूले पनि गर्नुपर्यो र प्राधिकरण पनि गरि नै रहेको छ । सरकारले पनि त्यहीअनुसारका नीतिहरू ल्याउनुपर्ने हुन्छ । यसरी नै अघि बढ्ने हो । जति धेरै बीमा गरियो, भोलीका दिनमा राज्यका सम्पत्ति, मानिसका जीवन संरक्षित हुँदै जान्छन् । राज्यको विकासका लागि पनि बीमाको निकै ठूलो भूमिका हुन्छ ।
कृषिमा पनि बालीमा विभिन्न कारणले हुने क्षतिबाट जोगिनका लागि बीमा अति नै आवश्यक भइसकेको छ । बाढीले बगायो, हावाहुरीले क्षति गर्यो त्यसको पनि राहत पाउने भयो । भएको क्षतिको राहत मिलेपछि पुनः काम गर्ने जाँगर पनि हुने भयो । तसर्थ यसको महत्व छ र राज्यको नीतिले नै यसलाई समेट्नुपर्ने हुन्छ ।
(सिलवाल नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुनुहुन्छ)
प्रकाशित समय ०८:४९ बजे




















