ललितपुर जिल्लाका स्थानीय तहमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको ललितपुर जिल्लाका कोन्ज्योसोम गाउँपालिका, महांकाल गाउँपालिका र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएका छन् । कोन्ज्योसोम गाउँपालिकामा आज असोज १२ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको पहुँच वृद्धिका लागि आगामी बजेटमा बीमालाई समावेश गर्ने र सम्बद्ध सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले स्वास्थ्य बीमा र कृषि तथा पशुपन्छी बीमामा समस्याहरू रहेको औंल्याउनुभयो ।
यसैगरी, महांकाल गाउँपालिकामा हिजो असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा प्रमुख अतिथि महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी. ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने जानकारी दिनुभयो । महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले न्यून आय भएका बर्ग सहित सबै नागरिकसम्म बीमाको पहुँच पुर्याउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताउनुभयो ।
यस्तै, बागमती गाउँपालिकामा पनि हिजो असोज ११ गते भएको कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कृषि तथा पशुपन्छी बीमालाई अझै स्पष्ट पार्न र गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र राख्न आग्रह गर्नुभयो ।
ती कार्यक्रमहरूमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले घटना कतिबेला हुन्छ थाहा नहुने भएकाले गाउँपालिकाका सेवासँग बीमालाई आवद्ध गरेर अनिवार्य गर्न सम्बन्धित गाउँपालिकासँग आग्रह गर्नुभयो । निर्देशक लालले आर्थिकरूपमा सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्न तथा विपन्न बर्गको बीमा गाउँपालिकाबाट नै गरिदिने व्यवस्था गर्न सुझाव दिनुभयो ।
कार्यक्रमहरूमा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास एवम् पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।
ती कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा प्राविधिकरूपमा जटिल रहेको, बीमा कम्पनीहरूले कृषि बीमा गर्न नमानेको, बीमांकमा एकरूपता नभएको, दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कहाँ कसरी गर्ने भन्ने थाहा नभएको लगायतका गुनासाहरू राख्नुभएको थियो ।
यसैगरी, सहभागीहरूले बीमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र स्थापना गर्न, बाली बीमालाई अझै स्पष्ट पार्न, विपन्न बर्गसम्म बीमाको पहुँच पुर्याउन, भैंसी र बाख्राको मूल्य निर्धारणमा देखिएको समस्या समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुभएको थियो । कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, चापागाउँस्थित बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख र कृषकहरू लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय २२:२२ बजे


















