1100×100 Nabil Advert

कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर

गलकोट (बागलुङ) । किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् । आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि हुनुहुन्छ । तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका-४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाउनुभयो । उहाँले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहनुभएको छ ।

सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि पनि अपनाउनुभएको छ । उहाँले कालीगण्डकी पशुपालन तथा कृषि फार्म कम्पनी अन्तर्गत गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी प्लाष्टिक टनेलसम्म पुर्‍याउने व्यवस्था मिलाउनुभएको छ ।

“व्यवासयिक कृषि र पशुपालन ३२ वर्षदेखि गरिरहेको छु, तर पछिल्लो पाँच वर्षयता मात्रै कृषिमा आधुनिक प्रविधिको प्रयोग सुरु गरेपछि वार्षिक आम्दानीमा दोब्बर भएको छ”, सापकोटाले भन्नुभयो, “बाह्र रोपनी जग्गामा नौवटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गरिरहेको छु ।”

उहाँले तीनवटा भैँसी र एउटा गाईबाट उत्पादन हुने दैनिक २५ लिटर दूध बिक्री गरिरहनुभएको छ भने एक रोपनी क्षेत्रफलमा स्थानीय जातको माछापालन गरिरहनुभएको छ । “गत जेठमा मात्रै रु दुई लाखको टमाटर बिक्री गरेँ, यो प्रविधिको प्रयोग सुरु गरेपछि यति राम्रो आम्दानी सम्भव भएको हो”, उहाँले सुनाउनुभयो । उहाँले दुई जनालाई नियमित र अन्यलाई ज्यालादारीमा जागिर पनि दिनुभएको छ ।

“प्रविधिकै कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा र दूध बिक्रीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “यही कमाइबाट तीन जना छोरालाई उच्च शिक्षासम्म पढाउन सकेँ ।” उहाँका एक छोरा अहिले अमेरिका र एकजना अष्ट्रेलिया हुनुहुन्छ ।

“पशु र बालीमा कुनै रोगको सङ्क्रमण नभए आम्दानी राम्रो हुन्छ, सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पनि प्राप्त भइरहेको छ”, उहाँले भन्नुभयो, “तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक रु पाँच लाख खर्च भए पनि रु १० लाख बचत हुन्छ ।”

उहाँ यतिबेला कृषि फार्म बिस्तारको योजना बनाउनुभएको छ । फार्मलाई पूर्णरुपमा विषादीमुक्त बनाउने योजना अनुसार गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी तरकारी बालीमा प्रयोग गरिरहेको उहाँको भनाइ छ ।

फार्म सञ्चालनका लागि साढे तीन रोपनी आफ्नै जग्गा छ । बाँकी जग्गाका लागि वार्षिक रु ८० हजार भाडा तिर्नुहुन्छ । काउली, बन्दा, सिमी, साग, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आउनुभएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर भएको उहाँले बताउनुभयो ।

सापकोटालाई श्रीमती चित्रकुमारी र कान्छा छोरा सागरले पनि सहयोग गर्दै आउनुभएको छ । सापकोटा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वमा पनि हुनुहुन्छ । निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताउनुहुन्छ ।

प्रकाशित समय १४:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु