1100×100 Nabil Advert

बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्ने आवश्यकता छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको विकास एवम् पहुँच विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले सो कुरा बताउनुभएको हो । अध्यक्ष सिलवालले बीमा मार्फत जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिने भएकाले आर्थिक रूपमा सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्न र न्यून आय भएका बर्ग पहिचान गरी बीमा गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा राखिएका जिज्ञासाहरूको जवाफ दिनहुँदै अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा पहल भइरहेको जानकारी दिनुभयो । अध्यक्ष सिलवालले बीमा सम्बन्धी गुनासा र उजुरीको सुनुवाई प्राधिकरणले गर्दै आएको उल्लेख गर्नुहुँदै बीमा सम्बन्धी जनचेतना अभिवृद्धि र स्थानीय गुनासाहरूको सम्बोधनका लागि प्राधिकरणका प्रदेश कार्यालयहरूसँग समन्वय गरी अघि बढ्न सकिने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक नागरिकलाई बीमा किन गर्ने र बीमाबाट के कस्तो फाइदा हुन्छ भन्ने बारेमा बुझाउनु आवश्यक भएको बताउनुभयो । स्थानीयस्तरमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो– ‘बीमा गरेपछि समयमा नै दाबी भुक्तानी पाउनुपर्छ, बीमा कम्पनीबाट दाबी भुक्तानी नपाएर पीडित भएका गुनासाहरू आउने गरेका छन्, त्यस्तो हुनुभएन, बीमाप्रतिको विश्वास बढ्नेगरी कार्य गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बीमाको परिचय, बीमाको पहुुँच, बीमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था, बीमाको पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमामा भएको लगानीलाई मात्र नहेरी त्यसबाट हुने उत्पादनलाई पनि हेर्नुपर्ने, बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने, स्वास्थ्य बीमालाई बीमाको सिद्धान्त अनुरूप अगाडि बढाउनुपर्ने, प्रदेश सरकारले छुट्याउने गरेको आर्थिक सहायता न्यून आय भएका बर्गलाई बीमाको दायरामा ल्याउन सदुपयोग गर्नुपर्ने, बीमितहरूको पनि नियत राम्रो हुनुपर्ने, सरकार, नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरू आआफ्नो दायित्व बोध गरी अघि बढ्नुपर्ने लगायतका धारणाहरू व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, विभिन्न प्रदेश मन्त्रालयका सचिव लगायत पदाधिकारी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बीमा कम्पनीका प्रदेश कार्यालयहरूका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहालले गर्नुभएको थियो ।

प्रकाशित समय १५:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु