1100×100 Nabil Advert

मेरो बैंकमा भएको हेड ड्राइभरको तलब मुख्य सचिवको भन्दा दश हजार बढी छ

० तपाईंको शैक्षिक पृष्ठभूमि संघर्षका बारेमा युवा पुस्ताका बताइदिनुस् न ता कि उहाँहरूलाई प्रेरणा मिलोस् ?

स्ट्रगल पनि ठाउँको हिसाबले दैलेखजस्तो विकट ठाउँ । हाम्रो पालामा त त्यो गणित, विज्ञान, अंग्रेजीको टिचरहरूचाहिं खोज्नलाई हाम्रो हेडसरहरू काज लिएर तराईतिर गएर लिएर आउनुहुन्थ्यो– आइएस्सी–बिएस्सीको टिचरहरू खोज्न । त्यो लेबलको ब्याकग्राउण्डबाट यहाँसम्म आइपुग्दा पक्कै पनि कतिपय ठाउँमा हामीले सोचेजस्तो, अहिले हाम्रो बच्चाहरूले जस्तो प्रकारको वातावरण उनीहरूको जस्तो सुविधा पाएको पक्कै पनि भएन । त्यो नभएको हुनाले कतिपय अवस्थामा त्यहाँको ठाउँबाट यहाँसम्म आइपुग्ने यात्रा तय गर्दाखेरी पक्कै पनि कहीं न कही ‘डिफिकल्टी’ भयो नै । तर ती सबैको बीचमा पनि के भयो त भन्दाखेरि तपाईंले आफूलाई कम आँक्नुभएन । जिन्दगीमा सफलता र असफलता भन्ने भइहाल्छ । जो मान्छे सफल हुनलाई पहिलो कुरा उसमा ‘कन्फिडेन्स’ हुनुपर्‍यो । उसले आफैंलाई कम चाहिं आँक्नु भएन । जो मान्छे आफूलाई कम आँक्छ, त्यो मान्छे सफल हुनै सक्दैन । अनि आँकेर मात्रै पनि भएन भनेदेखि आफूले सपना पनि देख्नुपर्‍यो । म त्यो बन्छु भनेर सपनालाई निरन्तररुपमा पछ्याउनुपर्‍यो । अवरोधहरू आउँछ । अलिकति तल परिएला, अलिकति माथि पर्ला । गाह्रोहरू आउँछन्, आउँदै गर्छन् । आत्तिनु भएन, ‘प्लान’ हुनुपर्‍यो, आँट गर्नुपर्‍यो । बाटो मोड्नु भएन, त्यति गरेपछि ठाउँमा पुगिन्छ जस्तो लाग्छ । मेरो एजुकेशनको बारेमा भन्नुपर्दा म दैलेखदेखि काठमाडौंमा आएको हुँ । सिए पढ्ने बेलामा म आफू पनि दुईचोटी सिएमा फेल भएकै हो । फर्केर आएको भए झोला बोकेर आइन्थ्यो । तर के त भन्दाखेरी त्यतिबेला पनि प्रिन्सिपललाई भनेको थिएँ ‘सिए नै बनेगा त क्या बनेगा, मै सिए त बनुंगा । १५ साल लगेंगे, १७ साल लगेगा, लेकिन सिए बनुंगा’ त्यो डेडिकेशन थियो र मान्छेलाई त्यो ठाउँमा पुर्‍याउँछ जस्तो लाग्छ । र, काम गर्ने सिलसिलामा पनि यहाँसम्म आइसक्दाखेरि मेरो अर्को प्रिन्सिपल छ कि मैले जुन संस्थामा काम गरेको छु, त्यसमा म खुशी हुनुपर्छ । किनभने मैले ‘कन्ट्रिव्युट’ गर्नको लागि पहिला त मैले रुचाएको चिज गर्नुपर्छ र खुशी भएर गर्नुपर्छ । मन खुशी भयो र मैले रुचीले काम गरें भने मैले ‘आउटपुट’ राम्रो दिन्छु, खुशी भएर घर पनि जान्छु । फेरी खुशी भएर अफिस फर्कन्छु ।

० तपाईले नियामक निकाय नेपाल राष्ट्र बैंक जस्तो ठाउँमा जागिर छाडेर निजी क्षेत्रमा प्रवेश गर्नुभयो, त्यहाँभन्दा अरु सेक्टरमा बढी प्रगति गर्छु भन्ने लागेर कि किन हो ?

ठ्याक्कै के भन्दा त चार्टर्ड एकाउन्टेन्सी पढेर आइयो । यताउताबाट भिजिटिङमा गइयो, राष्ट्र बैंकमा नाम पनि निस्कियो काम पनि शुरु गरियो । समाजको हिसाब किताबले बाउआमालाई, मामा–काका सबैलाई पनि ओहो राष्ट्र बैंकको जागिर भनेपछि केही समयसम्म त धान्यो तर प्राइभेट सेक्टर त हजुरले त्यतिबेलाको इन ट्रम्स अफ बिनिफिट फ्यासिलिटिजहरू किन प्राइभेट सेक्टरले तान्यो त, किन यतापटि खिच्यो त भन्दाखेरी त्यतिबेलामा म राष्ट्र बैंकमा काम गर्दाखेरी सहायक निर्देशक पदमा काम गर्थें । गाडी चढ्नलाई चाहिं विशिष्ट हुनुपर्‍यो । १० वर्ष भएपछि बल्ल सेयरिङमा गाडी चढ्न पायो । अब ४ वर्षमा पनि कमाउने र फटाफट जाने हो भने कमसेकम पनि १४–१५ वर्ष लाग्छ । अनि ‘बेनिफिट फ्यासिलिटिज’को पनि कुरा गर्दाखेरी अरु हिसाब–किताबले त्यतिबेला राष्ट्र बैंकमा घर कर्जा भनेर जम्मा ४ लाख रुपैयाँ थियो । त्यतिबेला काठमाडौंमा ४ लाखले त २ आना जग्गा पनि आउँदैनथ्यो, टाढाटाढातिर पनि मुश्किल थियो । दैलेखबाट आएको मान्छे, चार्टर्ड एकाउन्टेन्ट हुँदै हो । ‘फिजिकल्ली फ्यासिलिटिज’ले मलाई आकर्षित गरेजस्तो लाग्छ । मैले त्यतिबेला ग्लोबल आइएमई बैंक जोइन गरें । जोइन गर्नेबित्तिकै उसले मलाई एउटा घर किन्ने गरी लोन पनि दियो । त्यही विशिष्ट श्रेणी मेरो राष्ट्र बैंकको सरहरूले चढ्ने गाडी पनि दियो, मलाई ‘फ्यासीलिटिज’ दियो र तलब पनि त्यतिबेलाको उत्कृष्ठ श्रेणीको अधिकृतको भन्दा ४ हजार बढी नै दियो । भनेपछि मैले आजभन्दा १६–१७ वर्षपछिको ‘फास्ट होराइजन’मा जे प्राप्त गर्छु, त्यो आजै प्राप्त गरेपछि त्यो ‘फिजिकल्ली फ्यासिलिटीज’हरूले मलाई लाग्छ चार्टर्ड एकाउण्टेन्ट हो, रिक्स पनि लिन सक्छु, प्राइभेट सेक्टरमा पनि काम गरेर देखाउन सक्छु जस्तो आत्मबलले मलाई यता तानेजस्तो लाग्छ ।

० अहिलेको नयाँ पुस्तालाई हामीले कस्तो ’इनपुट’ दिन सक्यौं भने प्लस टु सक्नासाथ वा स्नातक सक्नासाथ विदेश जाने मानसिकता बनाउने, उतै सेटल हुने, पिआरको धुनमा लाग्ने र देश नफर्कने प्रवृत्ति छ । तपाईं एउटा सरकारी विद्यालय पढेर आउनुभएको, कसरी सुझाव दिनुहुन्छ देशभित्रै केही गर्ने वातावरण बनाउनलाई ?

यसमा त मेरो कुरा प्रष्ट छ । जस्तो हाम्रो पालामा धेरै अफरहरू थियो । हामीले राष्ट्र बैंकमा जोइन गरेका साथीहरू ८ जना थियौं, जसमा अहिले ५ जना विदेशिनुभएको छ । त्यतिबेला क्यानडा जाऊ, अष्ट्रेलिया जाऊ, युके जाऊ, सजिलैसँग एप्लाई गर्ने बित्तिकै पर्मानेन्ट रेसिडेन्सी सहितको डकुमेन्ट भइहाल्थ्यो । आजसम्म त्यो मैले ट्राई पनि गरिन र मेरो उद्देश्य पनि छैन । जे गरे पनि मैले राम्रै गरेको छु । बाहिर गएका साथीहरूसँग पनि मैले कुरा गर्दा हो ‘फिजिकल फ्यासिलिटिज’हरू, उहाँहरूले चढ्ने कारहरू राम्रो होला, घरहरू गजवको होला, बाटोहरू त्यहाँका चिल्ला सडकहरू छन्, खानपानको कुराहरू राम्रो होला, तर सन्तुष्टी, ‘रिकग्निशन’ र एउटा आत्मसम्मान चाहिं जति मैले यहाँ प्राप्त गर्छु, त्यसैले मलाई तानेर राखेको छ । अनि हाम्रो पालामा हामीले काम राम्रोसँग गरेर यो ठाउँमा पुगिसक्यौं । अबको युवामा हरेक दिन तपाईं हेर्दै जानुस्, अब मान्छेहरू विदेसिए, हाम्रोमा चाहिं यो भयो, त्यो भयो भन्नुभन्दा पहिला हरेक वर्ष बढ्ने मानिसहरू हिजोभन्दा आज साक्षरता बढेको छ । हिजो धेरै बच्चाहरू पढ्थे । आज नपढ्ने भन्ने हुँदैन । पढेको मान्छेहरू बढेर गए, गाउँ लगभग–लगभग सबै उजाड भएर सबै शहरतिर आउन थाले । खेतबारीहरू सबै बाँझा भए । गाउँमा खेती–किसान गर्ने मान्छे छैनन् । त्यसपछि आएर शहरतिर आएर केही काम गरौं भने समय यताको पनि ‘इकोनोमिक डाउन’ भएर गयो । अहिले धेरै सटरहरू हेर्नुभयो भने पुतलीसडक, न्यूरोडमा जहाँ वर्ष दिनको एडभान्स भाडा तिुर्नपर्ने, जहाँ ४०–५० लाखको सलामी दिएर लिनुपर्ने सटरहरू वर्षौंदेखि टु–लेट भनेर राखेका भेटिन्छन् । मान्छे त्यहाँ छैन । आज ३० हजार रुपैयाँको भाडा तिरेर सानो पसल चलाइरहेको मान्छे पसल बन्द गर्दैछ । एउटा चिया पसलेले चिया पसल बन्द गर्दैछ भने यो वातावरणलाई सरकारको ‘सिस्टम’लाई आज त देखिंदैन–देखिंदैन, पछाडिको होराइजनसम्म देखिएन । राजनीतिक स्थिरता भएन । कसैलाई दोष दिनुभन्दा पनि कहाँनेर गएर फस्यौं त भन्दाखेरि देशमा प्रजातन्त्र आयो भनेर भनेको दिनदेखि कहिले पनि राजनीतिक दलको कुनै पनि सरकार पाँच वर्ष टिकेन । आज तीन दशकभन्दा बढी भयो, कहिल्यै पनि हाम्रो स्थिर सरकार हुन सकेन । कांग्रेसको पनि बहुमत आएको थियो, बीचमा ३६–७४ गरेर निकाले, अस्ति पनि आएको त्यस्तै भयो । हामी यति ‘अनफर्चुनेट’ छौं कि यही चिज तपाईं इण्डियासँग ‘कम्पेयर’ गर्दै जानुहुन्छ भने हेर्नुस् मोदीले दुई टर्म प्रधानमन्त्री चलायो । आज इण्डिया वल्र्डको फिफ्थ लार्जेष्ट स्ट्रगेष्ट इकोनोमी हो । अबको २ वर्षमा थर्ड लार्जेष्ट इकोनोमी भएको मुलुक बन्दैछ । धेरै प्रोटिकल अस्थिरताका कारणले हाम्रा मन्त्री, प्रधानमन्त्रीहरू सरकार चलाउने मान्छेहरूको होराइजन आजभन्दा १० वर्षपछि देश कहाँ पुग्छ होइन कि अब ३ महिनापछि के हुन्छ भन्ने र मेरो जागिर कहिलेसम्म बच्छ ? म कहिलेसम्म यो झण्डावाला गाडी चढ्छु भन्ने सोचले मात्रै ‘सर्ट टर्म’मा हुन्छ । अर्को कुरा के भयो भन्दाखेरी त हामीले ३५ वर्षदेखि देखिरहेका नेताहरू सधैंभरी तिनै हुन् । भनेपछि यो मान्छेहरू व्यवस्था परिवर्तन गर्नलाई उहाँहरूको भयंकर ठूलो योगदान छ । उहाँहरूको पछाडि बसेर उहाँहरूको कुरा काट्ने, गाली गर्ने, उहाँहरूले नै सक्षम बनाइदिनुभयो । तर अवस्था परिवर्तन गर्नसक्ने ‘क्यापाबिलिटी’ उहाँहरूसँग थिएन । किनभन्दा उहाँहरूले व्यवस्था परिवर्तन गर्न ढुंगामुढा गर्नुभयो, गोली खानुभयो, जेल बस्नुभयो तर अब चाहिं ‘इकोनोमिक प्रस्परिटी’को लागि काम गर्न चाहिं त्यही लेभलको ‘स्ट्राटेजिक माइण्ड सेट’ भएको मान्छेलाई उहाँहरूले ‘रिप्लेस’ गर्नुपथ्र्यो । उहाँहरूले गर्न दिनुपथ्र्यो, यो प्रकारको चाहिं ‘चेन्ज’ भएको भए चाहिं यसले के हुन्थ्यो भन्दाखेरी अर्थव्यवस्थामा आशा पलाउँथ्यो । आशा पलाएपछि युवाहरू देशमा रोकिन्थे । आज युवा पढेर बस्छ । ६–७ महिना जागिर खोज्छ, यता हुँदैन उता हुँदैन काम गर्छ, अवस्था राम्रो देख्दैन । काम गरिहालौं  भने पनि उधारोमा जान्छ । त्यो पैसा उसको उठ्दैन अनि त्यो ‘स्टोरी’ उसले ५–६ जनालाई सुनाउँछ, त्यो भइसकेपछि के भन्दाखेरी आज पनि स्थिति ठीक छैन । आजको पाँच वर्षपछि पनि स्थिति ठीक हुन्छ कि झन् उस्तै बिग्रिने भन्ने कुरा उसले निराशा देख्छ भने त्यो मान्छे पलायन हुन्छ । त्यसकारणले हामीले युवाहरू देशमा राखिराख्नको लागि पहिलो कुरा वातावरण आजको अवस्थामा एउटा लेभलको ‘कन्फिडेन्ट’ राख्नुपर्‍यो । मैले भनेको छु– ‘इकोनोमिक इण्डिकेटर’ राम्रो भएका छन्, ‘इण्डिकेशन’ चाहिं राम्रो भएको छैन । भनेपछि ‘इण्डिकेटर’ले मात्र त काम गर्दोरहेनछ नि ।

० आज बैंकहरूमा पैसा हुँदाहुँदै पनि ऋण लिएर उद्योगहरू खोल्ने वातावरण बनेको देखिंदैन, सामान्य मान्छेहरूको स्थिति त अझ भयावह देखिंदैछ, यो अवस्था परिवर्तन गर्न कस्तो ’इन्भाइरोमेन्ट’ निर्माण गर्नुपर्दछ ?

यसमा २–३ वटा कुरा हो । एउटा कुरा के भने हामी कुरा गर्दाखेरी नेतालाई गाली गर्छौं । नीति–नियम बनाउने मान्छेलाई गाली गर्छौं । हामी हाम्रो भूमिकामा न्याय गरिरहेका छौं कि छैनौं भन्ने कुरामा मेरो प्रश्न हुन्छ । अहिले बैंकहरू ‘प्रोफ्याटिबिटी’ ठीक छ भन्दाखेरी किन भन्दाखेरी बैंकहरूमा ‘डिस्सिपिलिन’ छ, सिस्टममा छ र हरेक दिन फाइनान्सियल स्टेटमेन्ट हेर्दाखेरी हामी स्ट्राटेजी दिन्छौं र हरेक दिन हामी त्यसलाई रिभ्यु गर्छौं, काउन्ट गर्छौं । एक–एक रुपैयाँ हाम्रो एकाउण्ट सिस्टममा देखिन्छ र एक–एक रुपैयाँको हिसाब देखिन्छ र हरेक दिन योजना बनाउँछौ । र, यस्तो ‘स्ट्रोङ टीम’ निरन्तररुपमा लागिरहेको हुनाले भएको हो । त्यस्तै अरु विजनेश सेक्टरमा भन्दाखेरी दोष चाहिं अरु मान्छेलाई लगाउँछौं । तर हो त के हो भन्दाखेरी हामीसँग कुनै ‘विजनेश लोन’ लिएको मान्छेले ‘विजनेश’ गर्नको लागि लैजानुभयो । तर ‘विजनेश’को ‘लोन एप्रुभ’ भयो । ल १ करोड ओडी लिमिट छ भने भएको के हो भन्दाखेरी १ करोडमा ओडी लोन लिमिट खाली छ भन्दाखेरी ल २ वटा चेक काटिदेउँ, उहाँ शेयरमा राम्रो कमाइ भएको छ भने उसले शेयर किनिदियो, शेयर ओरालो लाग्यो, मान्छे फस्यो, होइन भने उता हेटौंडामा जग्गा प्लटिङ भएर जग्गा रातारात २०–२५ प्रतिशत फाइदा भएको छ रे, ए बैंकको ब्याज १२ प्रतिशत उता जग्गामा २०–२५ प्रतिशत फाइदा हुन्छ ल चल भाइ चल भनेर उता फेरि भएन रे, उता ठ्याक्क रोक्यो रे, अनि कतिपय ठाउँमा के भयो त भन्दाखेरी उधारोमा बेचेको चीजहरू रोक्यो, कलेक्शन भएन यतापटी सहकारीमा पनि समस्या आयो र ‘वल्र्डवाइड डाउनवार्ड इकोनोमिक हिट’ चाहिं कहीं न कहीं नेपालमा आयो भने समग्रमा सबै भएका चीजहरूले गर्दाखेरी चाहिं के भयो भन्दाखेरी हामी ‘डिस्सिपिलिन’ नै भइराखेको भए चाहिं ठीकठाक हुन्थ्यौं । हाम्रो वास्तवमै विजनेश ट्रान्जेक्सन र स्ट्राटेजिक डिस्सिपिलिन चाहिं नभएकै हो । त्यो नभएको कारणले के भयो त अलिकति पनि हल्लिंदाखेरी धेरै ठूलो असर परेको हो । तपाईंले फाउण्डेशन स्ट्रोङ बनाउनुभयो भने त्यो भूकम्प गएको बेला सबै घर त भत्केनन्, काठमाडौंमा सबैभन्दा बढी कहाँ भत्कियो भन्नुस् त ? गोंगबु साइडमा भत्केको थियो । किन त्यहाँ भत्कियो त भन्दाखेरी त्यो एरियामा पहिला बजारै थियो । त्यो भएको चाहिं पहिला पनि एकनाशले बनिरहेका थिए घरहरू । नयाँ बसपार्क बन्ने कुरा पछि डिसिजन भयो । त्यसकारण त्यहाँ कारोबारहरू बढ्यो । मान्छेले एक तलाको घर बनाउँछु भनेर जग हालेको घर बनाएर अर्कोलाई बेच्यो । फेरि उसले २ तला थपेर अर्कोलाई बेच्यो । फेरि उसले २ तला थप्यो । त्यो सबै त्यहाँका घरहरू ७–८ तलाको भए । बेश चाहिं पुरानो र १ तलाको बेसमा बिल्डिङ निर्माण थियो । अनि के भयो भन्दाखेरी त त्यो माथि गएपछि कमजोर थियो । अनि भूकम्प आउँदा हल्लिनासाथ लड्यो, म सबैलाई भन्दिन । धेरै ठाउँमा चाहिं विजनेशमा स्ट्राटेजिक विजनेशमा क्यासफ्लोको म्यानेजमेन्ट, फाइनान्सियल म्यानेजमेन्ट, एकाउन्टेट, ट्रान्सप्यारेन्सी स्ट्राटेजीको अभाव अहिले पनि छ । र, जस्तो प्रकारको ‘शक’ आयो, त्यो शक’लाई धान्न नसक्ने अवस्था हो । त्यसकारणले जसले मल्टिपल बिजनेश गरेको थियो भने त्यो आज पनि सस्टेन भइरहेको अवस्था छ । औद्योगिक असर परेको चाहिं देखिन्छ । त्यसकारणले बैंकले राम्रो ग¥यो, इन्स्योरेन्सले राम्रो गर्‍यो भन्नुभन्दा पहिला उनीहरू कत्तिको ट्रान्सप्यारेन्ट छन्, उनीहरूको एकाउण्टिङ सिस्टम कत्तिको स्ट्रोङ छ, कत्तिको स्ट्राटेजिक म्यानेजमेन्ट गर्छन् भन्ने कुरा चाहिं सँगै हेरेर तुलना गर्‍यो भने चाहिं न्यायोचित हुन्छ । ‘अदरवाइज’ समस्या एकातिर, एनालाइसिस् अर्कोतिर देखिन्छ ।

० नेपालले वार्षिक करिब २० खर्बको व्यापार घाटा व्यहोर्छ । चाइना, हङकङ, इण्डियालगायतका स्याउ खान्छौं, तर हुम्ला–जुम्लाका अर्गानिक स्याउ कुहिएर गएका छन्, नेपालका तरकारीहरू खेतबारीमै कुहिन्छन्, तर विषादीयुक्त भारतीय तरकारीहरू हाम्रा भान्सामा सहजै पुग्छन्, अधिकांश देशभित्रै उत्पादन हुने खाद्य तथा अन्य वस्तुहरू पनि हामीले आयात गरिरहेका छौं । हाम्रोजस्तो व्यवस्थापनको अभावले यस्तो ’भर्जिन सेक्टर’मा समेत काम गर्न सकिएको छैन, यसको दोषी को ?

सेक्टर त हो । दुई–तीनवटा कुरा हुन्छ । एउटा कुरा हामी कृषि प्रदान देश त भनौं तर हाम्रो कृषि उपज चाहिं आफैंलाई ‘सेल्फ सस्टेन’ गर्ने खालको छैन । बाहिरतिर आधुनिकीकरण गरेको छ । आधुनिकीकरणले २–३ वटा काम हुन्छ । एउटा काम चाहिं ‘प्रोडक्सनको क्यापासिटी’ले हुन्छ । त्यही स्याउले जुम्लामा फल्ने स्याउको बोटले कति किलो स्याउ दिन्छ । र, त्यसलाई हुर्काउने बेलाबाटै शुरु गर्दाखेरी कश्मीरको स्याउले कति दिन्छ भन्ने धेरै ठूलो कुरा फरक छ । त्यसपछि गएर त्यो उनीहरूले त्यो ट्रिटमेन्टले कस्तो प्रकारको ट्रिटमेन्ट गरेर कस्तो प्रकारको स्याउ फलाउँछ । त्यो मेरो जुम्लाको भनेर माया गरेरमात्र पनि भएन । त्यसमा फरक आउँछ । त्यसपछि भण्डारणको कुरा आउँछ, ट्रान्सपोर्टेसनको र सहजीकरणको कुरा यो चीजहरूमा त सरकारले गरेको पनि छ । गत वर्षको बजेट हेर्दा स्थानीय निकायमा चिस्यान बनाउने भन्ने पनि भएको छ । कार्यान्वयन भएको हो । सबै पार्टीका घोषणापत्र हेर्नुस् । भनेपछि हाम्रो देशमा समस्या थाहा नभएको चाहिं होइन । समस्या पनि थाहा छ । समाधान पनि थाहा छ तर त्यसको अर्को समस्या के हो भन्दाखेरी त्यसको लागि खर्च चाहिन्छ । अहिले सरकार यस्तो अवस्थामा छ । कमाएको सबै कलेक्सन गरेको चिजले तलब भत्ता बुझाउने स्थिति छैन । एकदमै ठूलो खर्च छ । त्यसपछि हामीले प्रदेशको संरचना थप्यौं । अर्को सामाजिक सुरक्षा भत्ता थप्यौं । यानत्यान नाममा बाँड्ने वितरणमुखी काममात्र गर्‍यौं । खाने मुखचाहिं हामीले थप्दै गयौं । तर हामीले आय स्रोतलाई बढाउन सकेनौं । जसको कारणले चाहिं सरकार नाजुक अवस्थामा पुग्दैछ । गत वर्षको बजेट हेर्नुभयो भने ‘क्यापिटल एक्सपेण्डिचर’मा १७ प्रतिशतमात्र छुटाएको छ । १७ प्रतिशत पनि गर्ने अवस्था छैन । ८–१० प्रतिशतको ‘क्यापिटल एक्सपेण्डिचर’ले भएको बाटाघाटा पनि टाल्न पुग्दैन । भनेपछि त हामी विकासको कुरा, ट्रान्सपोर्टेशनको कुरा, कोल्डस्टोरेजको कुरा, बजारीकरणका कुराहरू अलिकति टाढा भए । त्यही चीजले त आशा पलाउन नसकेको हो म भन्छु । सरकारले आफ्नो ‘अपरेटिङ कस्ट कट डाउन’ गर्नलाई अलिकति अप्रिय, ऐतिहासिक निर्णय लिनुपर्ने पनि हुन सक्छ । प्रदेशको संरचना भयो बोझ छ भने हटाउन पनि पछि पर्नु भएन । पहिला थिएन, चलेको थिया, अहिले किन चाहियो । हो–होइन, रिक्वायरमेन्ट । सांसदको संख्या चाहिं त्यत्रो किन चाहियो ? देश चाहिं यत्रो छ, सांसद्चाहि किन तेत्रो, किन चाहियो ? तिनको सेवा–सुविधा किन चाहियो ? समानुपातिक सांसद्को व्यवस्था यो देशमा के को लागि त भन्दाखेरी जो मान्छे लिडरसीपमा भयो, आफ्नो चाहिं जग बलियो बनाउनलाई बाहेक काम छैन । तपाईं–हामीले देखेका छौं कस्तो मान्छे सांसद् बन्यो, त्यस्तै मान्छेको नाम समानुपातिक बन्यो भनेको त होइन नि त । यो सबै चिजहरू कस्तो भयो त भन्दाखेरी यो ‘पोलिटिकल’ जुन चेन्ज भयो, म मजबूत कसरी हुने भन्ने बाहेक देश मजबूत कसरी बनाउने भन्ने कसैले कुनै पनि समयमा सोचेनन् । र, जसले सोच्न खोजे तिनीहरू पछाडि नै पारिए । त्यो चाहिं देशभित्रको शक्तिले र विदेशी शक्तिले पनि त्यसलाई कमजोर तुल्याए । को मान्छेहरू हावी भयो भन्दाखेरी त आफूमात्र शक्तिशाली भइरहनलाई कामहरू गर्दाखेरी के भयो त देश डुबेको–डुबै भयो । देशको आर्थिक व्यवस्था चाहिं बिग्रिंदै गयो । यसले गर्दाखेरी ‘रेभिन्यु कलेक्सन’ भनेजति उठ्न सकेन अनि खर्चहरू थपिदै र बढ्दै गयो । यसले गर्दाखेरी हामी नराम्रो खाडलतिर अगाडि बढ्दैछौं । त्यसकारणले मेजर पोलिटिकल व्युरोक्रेटिक रिस्ट्रक्चर हुनुपर्छ, यसको अर्को विकल्प छैन । आजको डेटमा पनि धेरै मन्त्रालयहरूमा पनि धेरैको डुप्लिकेशन छ । अब अटोमेशनमा जानुपर्दछ । हामी बैंकिङमा अटोमेशनमा काम गरिरहेका छौं । त्यसले गर्दाखेरि हाम्रो इम्प्लोइजहरू सेटिङ भएको छ । हामीले एकचोटीको अटोमेशन प्रोसेसमा ५० जना जति हामीले निकाल्यौं, अरु–अरु ठाउँमा लगायौं, ब्रान्च बनायौं । हामीले ६ वटा ब्रान्च बनायौं भने सरकार पनि सेवा दिनुपर्छ तर सेवा दिने क्रममा चाहिं कसरी प्रोसेसलाई अटोमेशन लगाउने, कसरी झन्झटमुक्त प्रोसेसहरू बनाउने, कसरी ‘कस्ट सेभिङ’ गर्ने भन्ने राम्रोसँग लाग्नुपर्छ । म त भन्छु तलब–सुविधा सरकारी कर्मचारीको हुँदै भएन । यो तलब सुविधा बढाउनुपर्छ । यति कम तलब सुविधाले भ्रष्टाचार रोक्नै सक्दैन । तपाईं आजको भन्दैछु मेरो बैंकमा भएको हेड ड्राइभरको तलब चाहिं मुख्य सचिवको भन्दा दश हजार बढी छ । बैंकमा हामी घुस खादैनौं नि हामीलाई गाली त गर्छन् मान्छेले, ए करोडौं तलब खाएको छ । घुस एक रुपैयाँ खाएको छैन नि त । २० वर्ष भयो एक रुपैयाँ होइन, एक कप चिया कसैले बेमानको आजसम्म खिलाउन सकेको छैन । किन त भन्दाखेरी मलाई पुग्नेगरी तलब दिएको छ । मलाई पुग्नेगरी मैले तलब लिएको छु, त्यहीभएर नियत पनि खराब छैन । पुग्नेगरी तलब–सुविधा दिनुपर्छ । कर्मचारीको संख्या अटोमेशन र प्रोसेस मर्ज गरेर घटाउनुपर्छ । तलब त जुन अहिलेको तलबमा कमसेकम पनि ४–५ गुणा तलब बढाउनुपर्छ । त्यसले उसले सम्मानपूर्वक जीवन बिताउन सक्छ । त्यसपछि चाहिं इमानको कुरा गरौंला । त्यसपछि चाहिं भ्रष्टाचारमुक्त समाजको कुरा गरौंला । पुग्दो नदिएपछि त हजुर भोको पेटले त लुच्छ, तान्छ, खान्छ । त्यसकारण हाम्रो सिस्टमेटिकल्ली समस्या भइसक्यो, यसबारेमा चर्चा परिचर्चा चाहिं भएको छैन । त्यसकारणले करेक्शनको मोड त्यहाँबाट शुरु हुनुपर्छ ।

० दुईवटा सम्पन्नशाली छिमेकी देशहरु इण्डिया र चाइनाको बीचमा रहँदारहँदै पनि हामी पछि परिरहेका छौं, किन यस्तो भयो होला ?

अब त डिजिटाइजेशनले यो संसार एक भइसक्यो । अब आसपासमा कोसँग सीमाना जोडिएको छ भन्दा पनि कुन देशसँग राम्रोसँग मन जोडिएको छ, त्यसले काम गर्ने हो । अहिले पैसा बोकेर ल्याउने होइन । गाडामा हालेर ल्याउने होइन यदि अमेरिकाले सहयोग गर्छ, युकेले गर्छ अर्कोले गर्छ, रसियाले गर्छ भनेपछि त्यहाँबाट नेपाललाई सहज गर्न कसैले रोक्नसक्ने स्थिति त होइन । त्यसकारणले इण्डिया, चाइना सीमाना जोडिदैमा उनीहरूसँगै मात्र निर्भर हुनुपर्छ भन्ने होइन–छैन । आज तपाईंहरुको नेपाली कहाँ गएर बढी आश्रय लिएको छन् त इण्डिया चाइनाभन्दा बढी गल्फ कन्ट्रीमा छन्, अष्ट्रेलिया, युके, क्यानडा, अमेरिका, जापानमा होला । ती देशहरूले बढी सपोर्ट गरिरहेका छन् होला । इण्डिया–चाइनाको बीचमा छौं भन्ने कुराले खासै अर्थ राख्दैन । र, अर्को कुरा चाहिं पक्कै पनि छिमेकी देश त्यत्रो ठूलो शक्तिशाली राष्ट्रसँग भएको एडभान्टेज चाहिं इण्डियाको इकोनोमिक प्रोस्परिटीको असर हामीकहाँ आउनुपर्छ । चाइनाको इकोनोमिक प्रोस्परिटीको असर हामीकहाँ आउनुपर्छ तर त्यो चीज ‘ग्य्राब’ गर्नको लागि पनि के हुनुपर्‍यो भन्दाखेरी ठूलो दुईवटा खोलाको बीचमा भएको खेत पनि बाँझै हुन्छ क्या । त्यो ठूलो खोला बीचमा भएको खेत कतिबेला बाँझो हुन्छ त भन्दाखेरी खेतचाहिं सर्लक्क माथि थपिंदै हुँदै गयो भने, बालुवा माथिमाथि हुँदै गयो भने पानी माथि चढ्दैन । त्यतिबेला त त्यहाँ दुईवटा विकल्प छ कि त खेत सम्याएर तल ल्याउनुपर्‍यो, होइन भने पानी लिफ्ट गरेर माथि पठाउनुपर्‍यो । दुईवटा खोलाको बीचमा बाँझो खेत भयो भनेर चाहिं चल्नेवाला छैन । त्यसकारणले त्यो माइण्डसेट चाहिं हुनुपर्‍यो । अरुलाई दोष दिनुभन्दा पहिला हाम्रो आफ्नो एउटा स्ट्राटेजिक माइण्डसेट कन्ट्रीमा भएको मान्छे लिडरसीप भएन । हामी अलिकति त्यसमा वार्गेनिङ भयौं, त्यसमा हरेक मान्छे नेता भयो, राजनीतिको लागि राजनीति गर्‍यो, इकोनोमिक प्रोस्परिटी राजनीति हामीले गर्दै गरेनौं । धेरै चीज गरेनौं । पहिला पञ्चायत फालेर प्रजातन्त्र ल्यायौं । प्रजातन्त्रबाट लोकतन्त्र ल्यायौं । लोकतन्त्रबाट गणतन्त्र ल्यायौं । संविधान चेन्ज गर्‍यौं । हामीले राजनीतिसँग सुत्ने, राजनीतिसँग उठ्ने, राजनीतिसँग खाने, राजनीतिका कुरा गर्ने बाहेक अरु केही गरेनौं भने अब चाहिं ‘इकोनोमिक प्रोस्परिटी, अब चाहिं इन्प्लोइमेण्ट, इकोनोमिक ग्रोथ, नेशनल इकोनोमिक डेभलपमेन्टका कुराहरू गर्नुपर्छ । अब आजभन्दा दश वर्षपछि चाहिं मेरो नेपाली नागरिकले कस्तो प्रकारको पासपोर्ट बोकेर विदेश जान्छ भन्ने कुरामा चर्चा परिचर्चा हुन थाल्यो भने देश सानो छ । अपर्चुनिटी धेरै छन् । अरु केही पनि पर्दैन, तपाईंले भनेको दुई वटा देशहरूको सिम्पल कुरा बसमा आएका टुरिस्टलाई मात्र पर्याप्त सेवा दिन सक्यौं भने यो हाइड्रोपावर अरु कुरा भनेको छ, ठूलो पूँजी खर्च हुने कुरा हो । मजासँग टुरिजम डेस्टिनेशन बनाएर हामीले मजासँग गरिदिऊ अहिले मुक्तिनाथ जाने बाटो कसरी बिग्रेको छ भत्ताभुंग, त्यो बाटोमात्र सर्लक्क भइदिएर सररर भएको भए मान्छे ड्राइभ जान्थ्यो । कति मान्छे बढ्थ्यो । त्यसले गर्दा खर्च गर्दथ्यो । उनीहरूले इकोनोमी प्रोस्परिटी हुन्थ्यो नि त । हामीसँग त त्यो मार्गचित्र नै भएन । हामीलाई पोलिटिक्स चाहिं आफू बलियो हुनलाई र राजनीतिको लागि राजनीति गर्नेबाहेक अरु त निष्कर्ष नै भएन । त्यो नभएको कारणले गर्दाखेरी चाहिं समस्या हो । अब यो समस्याले अलिकति स्थिति विकराल ल्याउँदैछ । अहिले हामी केही समय त विदेशमा मान्छेहरू गइरहेका छन्, आउँदैछन् भनेर खुशी भइरहेका छन् । रेमिट्यान्सबाट आएको पैसाले पेट पालिरहेको छ । ठूलै क्रान्ति हुनलाई चाहिं पेट भोकै हुनुपर्छ ।

० अहिले नेपालमा रेमिट्यान्सले धेरै कुराहरूलाई सहज ढंगले चल्न मद्दत गरिरहेको छ । तर यदि कुनै दैवि विपत्ति मानौं अस्तिको कोभिड स्टाइलले वल्डवाइडमा साइड इफेक्ट भएर झ्याप्पै रेमिट्यान्स रोकियो भने हामी चल्न सक्छौं यो देशमा ?

सक्दैनौं । स्ट्रेट कुरा छ नि । अहिले एक खर्बभन्दा बढी महिनामा जुन रेमिट्यान्स आइरहेको छ, त्यही आएको पैसाले आयात गरेर खाइरहेको छौं हामीले । अब अहिले दश महिनाको चाहिं वस्तु तथा सेवा धान्ने रिजर्भ छ । त्यो सुविधा त च्यट भइहाल्यो नि त्यो लङटर्म सोलुशन पनि होइन । तपाईं चाहिं मान्छेलाई निर्यात गरेर अनि त्यसले कमाएको पैसाबाट वस्तु तथा सेवा आयात गरेर कहिलेसम्म चल्नुहुन्छ ? सेल्फ सस्टेन इकोनोमिक कहिलेसम्म हुन्छ ? तपाईं चाहिं युवा जोश–जाँगर भएको सारा मान्छे ‘ब्रेनड्रेन’ गराएर देश त चल्दैन नि त । त्यो क्षमता त देशभित्रै डेभलप हुनुपर्‍यो नि । हामी बजेटमा पनि आउँछौं, आयातलाई पनि घटाउने, यो गर्ने । आयात घटाउनलाई त प्रोडक्शनलाई डेभलमेन्ट गर्नुपर्‍यो नि । भोको पेटले आयात रोकेर भएन, अस्ति रोकजस्तो सधैं रोकेर त सकिंदैन । त्यसकारणले प्रोडक्सन सेक्टरलाई कसरी प्रोत्साहित गर्ने, निजी क्षेत्रलाई कसरी सँगै लिएर सरकार जाने । अहिलेको पारा हेर्नुहोस् कस्ता उद्योगी । कसैले के लेख्छ, कसले थुन्ने । मीनबहादुर गुरुङ जस्तो मान्छे भागेर जान्छ ? इकोनोमिक सेक्युरिटी होइन, सोसल सेक्युरिटी पनि दिन सक्नुभएन भनेपछि मान्छे चाहिं हिजो अस्ति के थियो । अहिले पनि देख्नुभयो नि, पूर्वसभामुख बित्नुभयो । विदासम्म अन्यौल भयो किन भन्दा त छोरो कहिले आउँछ भन्दाखेरी, छोरो आएपछि सरकारले दुईचोटी विदाको निर्णय गर्नुपर्‍यो । भनेपछि हाम्रो आजको डेटमा लिडरसीप मान्छेहरूको सन्तान पनि कहाँ बसिरहेका छन् त ? कहाँ छन् को ? यसको भूमिकामा हेरिरहेको छ त भन्दा तपाईं आफ्नो सन्तान पनि रोक्न सक्नुभएको छैन । देशमा तपाईं देशको नागरिक कसरी बनाउने, तपाईंको भोटर बनाउन रोक्न कोशिश गर्नुहुन्छ भनेदेखि त तपाईं कहीं न कहीं त गलत हुनुहुन्छ । कहीं न कहीं त तपाईं फेक हुनुहुन्छ नि त । तपाईंलाई विश्वास मान्छेले यसै नगरेको त होइनन् । के यो चीजहरूमा धेरै ठूलो आशा जगाउने गरी सरकारको एउटा इण्डिकेटरमात्र ठीक भएर हुँदैन, इण्डिकेशन पनि ठीक हुनुपर्छ । अबचाहिं देशमा समृद्धि हुन्छ भन्ने हल्का आशामात्रै पलाउने गरी सरकारका केही निर्णयहरू हुनसक्यो, केही काम हुन सक्यो, पोलिटिकल अलाइनमेन्ट हुनसक्यो, पोलिटिकल स्ट्याबिलिटी हुनसक्यो भने पाँच वर्षभित्र देशले कायापलट गर्छ । गजब गर्छ । धेरै चीज बिग्रेको छैन । बिग्रेको चीज त कति छिटो बन्छ । त्यो त बिग्रेकै छैन । नबनेको मात्रै हो । त्यसकारणले अहिलेको हाम्रो झोक देश बनेन भन्नेमा हो, बिग्रिसकेको छ्रैन । धेरै राम्रो क्यापासिटी भएको युवाहरू छन्, पढाइको गुणस्तरको कुरा गर्ने हो भने कलेजहरूमा राम्रो गुणस्तरको एजुकेशन दिन्छन् । डेडिकेशन पनि छन्, अपरचुनिटी पनि छन् । नेचुरलको हिसाब–किताब पनि भरिपूर्ण कन्ट्री छ । कुरा के भनेमात्र पोलिटिकल कमिटमेन्ट, स्ट्याबिलिटी हुने र यो चाहिं गजब हुन्छ भन्ने आशा पलाउने गरीकन काम शुरु हुन थाल्यो भने सबै ठीक हुन्छ ।

प्रकाशित समय १२:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु